विकल्प न्यूज/बेनी
साउन ८ गते ।
गत असार १४ गते अन्नपूर्ण गाउँपालिका ७ घराम्दीबाट बेनी आउँदै गरेको जिप बेनी – जोमसोम सडकको तिप्ल्याङ खण्डमा दुर्घटना भएको थियो । उक्त जिपमा चालक सँगै अर्की एक युवती सवार थिइन । दुर्घटना सँगै दुवैजना कालिगण्डकीमा वेपत्ता भए । उनीहरुको खोजविन भयो । तर फेला पार्न सकिएन । तर दुर्घटनामा वेपत्ता भनिएका चालक झन्डै एकसाता पछि आश्र्यचकित पार्दै उनी प्रहरीको सम्पर्कमा आए । तर सँगै जिपमा सवार भएकी युवती अहिले सम्म वेपत्ता नै छिन् । दुर्घटना हो वा दुर्घटना गराइयो रहस्यमै छ । जिपको चालक सकुशल हुनु र युवती वेपत्ता हुनुले घटनालाई थप रहस्यमय बनाइदिएको छ । उक्त दिन घराम्दीमा भनिएको आमासमुहको भेलाले जिप चालक युवक सँग ति युवतीको सम्बन्ध भएको भन्दै चालकको जिम्मा लगाइएको कुरा पनि छ । घटना भएको तिनसाता वितिसक्दा पनि अझै सत्यतथ्य वाहिर अझै आउनसकेको छैन । एक युवतीको अनाहकमा ज्यान गुमेको छ ।
यदी त्यो दुर्घटना सुनियोजित रुपबाट घटाइएको हो भने यो महिला हिंसाको पराकाष्ठनै हो । उक्त घटनाबाट एक युवतीको बाच्न पाउने अधिकार लुटिएको छ । त्यसैले यो एउटा जघन्य अपराध हो। चरम महिला हिंसाको नियति भोगिरहेको यो ज्वलन्त उद्दाहरण हो । यो समग्र समाजका लागि एउटा प्रत्यक्ष सरोकारको विषयका रुपमा उठान हुनुपर्दछ । भर्खर प्लस टु अध्ययन गरिरहेको सविता नेपाली माथिको यो हिंसा समाजमा दोहोरीन नदिन घटनाको छानविन गरि दोषीलाई कारवाहीको दायरामा ल्यानुपर्दछ । आफ्नो भविष्य निर्माणको यात्रामा लम्कीरहेकी ति युवती एउटा चालकले मायाजालमा फसाएर ज्यानै सम्म लिने कर्तुत सत्य हो भने यो महिला माथिको ठूलो अपराध हो । चालक सकुशल हुनु, जिप नदीमा खस्नु र युवती वेपत्ता हुनु यो दुर्घटना नभएर ज्यान लिनका लागि घटाइएको षडयन्त्र हुनसक्छ । सम्बन्धित निकायले यसको स्वतन्त्ररुपबाट छानविन हुनुपर्दछ । सामाजिक संघसंस्थाहरुले घटनाको निस्पक्ष रुपमा छानविन गर्न र दोषीलाई कारवाहीको दायारामा ल्याउनका लागि दवाव सिर्जना गर्नुपर्दछ ।
यो रहस्यमय घटनाको स्वतन्त्र तरिकाले छानविन हुनुपर्दछ र पीडित परिवारलाई न्यायाको अनुभूति दिलाउनुपर्दछ भनेर आज अधिकारकर्मीहरुबाट आवज उठन् सकेको छैन । समाज चुपचाप छ । महिला हाम्रो समाजमा कति असुरक्षित छन् भन्ने कुराको पुष्टि यस घटनाले गरिहेको छ। जिल्लामा मानव अधिकारवादी छन्। राजनीतिक दल छन्। अनि समाजसेवी पनि छन्। तर चुपचाप छन यतिखेर । अन्नपूर्ण गाउँपालिकाले घटनाको छानविन गर्न माग गरेको भएपनि कतैबाट सुनुवाई भए जस्तो लाग्दैन । राजनीतिक दल र अधिकारकर्मीहरु कानमा तेल हालेर बसिरहेका छन् । चालक इन्द्रवहादुर खड्का प्रहरी कार्यालयमा छन् । प्रहरीले घटनाको छानविन सुरु गरिसकेको छ । प्रहरीलाई कहिकतैबाट प्रभावमा पार्ने काम हुनुहुदैन । प्रहरीले निष्पक्षरुपबाट छानविन गर्न पाउँनुपर्दछ । घटनाको सत्यतथ्य वाहिर आउनुपर्दछ र दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्दछ । नवविकल्प साप्ताहिक