बेनी नगरपालिका भित्रकाे बेथिति राेकौ (सम्पादकीय )

विकल्प न्युज ।

असार १४ गते । beni nagarpalika

म्याग्दीको सदरमुकाममा अवस्थित बेनी नगरपालिकाका जनप्रतिनिधिहरुको कार्यशैलीका कारण नगरमा बेथिति मौलाएको छ । जनप्रतिनिधिहरुले प्रचलित नियम र कानुनको उल्ङ्घन गरेका छन् । नगर क्षेत्रमा सञ्चालन हुने विकास योजनाहरुको अनुगमन र नियमन गर्नुपर्नेमा नीतिगत व्यवस्थाकै धज्जी उडाउँदै उपभोक्ता समितिको सम्पूर्ण अधिकार आफ्नो हातमा लिएका छन् । उपभोक्ता समिति मार्फत हुने विकास योजनामा बेनपाका केही वडाहरुले नीतिगत व्यवस्था र कानुन विपरित उपभोक्ता समितिमा आफ्नो नातेदार र नजिकका व्यक्ती राखी समितिको सम्पूर्ण अधिकार आफ्नो हातमा लिने गरेका छन् । योजनामा कति बजेट छ ? कसरी काम भइरहेको छ ? उपभोक्ता समितिका पदाधिकारीहरुलाई कुनै जानकारी हुँदैन् । योजनाको निर्माण र खर्च गर्ने अधिकार जनप्रतिनिधिले आफ्नै हातमा लिदै उपभोक्ता समितिलाई निस्कृय बनाइदिएका छन् । निर्माण पनि आफै अनुगमन र नियमन पनि आफै गर्ने परिपाटीले शुसासन र आर्थिक पारदर्शीतामा शंका उब्जीइदिएको छ ।

  बजेट बिनियोजन, नीति निर्माण, अनुगमन र नियमन गर्ने ठाउँमा पुगेका केही जनप्रतिनिधिहरु आफ्नो जिम्मेवारी र दायित्वलाई कुल्चीदै ठेकेदार जस्तो भूमिकामा देखिन थालेका छन् । उपभोक्ता समितिले आफूले गर्नुपर्ने काम दोस्रो, तेस्रो पक्षलाई लगाउने, प्रतिस्पर्धा बिना हेभी ईक्युभमेन्ट भाडामा लगाउने, जनप्रतिनिधिले आमभेला नगराई आफन्त, नातागोता र आफू अनुकुलका व्यक्तिलाई समेटेर उपभोक्ता समिति बनाउने जस्ता बेनीनगरपालिकाका विकृतिहरु हुन । विकासमा जनसहभागिता जुटाएर अपनत्वको भावना विकास, रोजगारीको सिर्जना, दिगोपनाका लागि एककरोड भन्दा कमका योजना निर्माण गर्दा उपभोक्ता समिति मार्फत गर्नुपर्ने अवधारणा ल्याइएको हो । जनप्रतिनिधिहरु नै ठेकदार बनेपछि विकास योजनाहरुमा गुणस्तरता छैन । हालै मात्र उपभोक्ता समिति मार्फत गरिएको भनिएको बेनी बजार कालोपत्रे योजना कालोपत्रे गरेको केही दिनमा उप्किन थालेको थियो । यो बेथितिको एउटा उदाहरण हो । जनप्रतिनिधिनै अघि सरेको योजनामा किन गुणस्तर कायम हुन सकेन ? नगरपालिकाले छानविन गर्न जरुरी छ । प्राबिधिकलाई दवाव र प्रभावमा पारेर वास्तविकता भन्दा बढीको लागत तयार पार्न लगाउने, व्यवसायी तथा दोस्रो, तेस्रो ब्यक्तिलाई जनसहभागिता बराबरको रकम ब्यहोर्न लगाई ठेक्कपट्टा लगाउने गरेका छन् ।

विकास निर्माण उपभोक्ता समिति मार्फत गर्नु भनेको नेतृत्वको विकास गर्नुपनि हो । स्थानीयस्तरमा जनशहभागीता जुटाई विकास निर्माण गर्दा विकासप्रति नागरिकको अपनत्व हुने र सामाजिक नेतत्ृवको विकास हुन्छ । जनताको मतद्धारा निर्वाचित जनप्रतिनिधिहरुले समाजमा नयाँ नेतृत्वको विकास गर्न मूख्य दायित्व पनि हो । उपभोक्ता समितिलाई सक्रिय बनाएर विकास निर्माण गर्नुपर्दछ । विभिन्न वहानामा उपभोक्ता समितिलाई निस्कृय बनाउने वातावरण सिर्जना जनप्रतिनिधिहरुले गर्नुहुँदैन । आगमी दिनमा बेनपा भित्रका ७,८ का वडाअध्यक्ष र कार्यपालिका सदस्यले नीतिगत व्यवस्थाको परिपालन गर्न कुनै कसर बाँकी राख्नुहुने छैन भन्ने आम विश्वास छ । जनताको मतद्धारा चुनिनुभएका उहाँहरु पक्कै पनि समाजिक सेवामा उत्कृष्टता प्रदर्शन गर्नुहुने छ । आशा छ आगमी दिनमा नगरपालिकाको विकास र समृद्धिमा जनताको साथ लिएर अघि वढ्नुहुनेछ ।