निरज थकाली/मुस्ताङ
बैशाख २० गते । मुस्ताङ स्थित विश्व प्रसिद्ध तिर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने भ्रमणको तयारीलाई तिब्र बनाइएको छ । मोदीको धार्मीक भ्रमणलाई सफल बनाउन सुरक्षा, स्वागत र अन्य व्यवस्थापकीय तयारी तिब्र पारिएको हो । भ्रमणको तयारीका लागि बुधबार आएको भारतीय सेना र सुरक्षा अधिकारीहरुको टोलीले मुक्तिनाथको स्थलगत अवलोकन गर्नुका साथै सुरक्षा बस्तुअवस्थाको बारेमा जानकारी लिएर फर्कीएको छ ।
नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाली सेनाका साथै राष्ट्रिय अनुसन्धान बिभागका कर्मचारी परिचालन गरेर सुरक्षा तयारी तिब्र बनाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशीर पौडेलले बताउनुभयो । उहाँले हाल मुस्ताङको सुरक्षा अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।
बैशाख २८ गते मोदी धार्मीक भ्रमणका लागि जनकपुर देखि हेलीकप्टर मार्फत मुक्तिनाथ आउने कार्यक्रम तय भएको छ । मुक्तिनाथ मन्दिर देखि केही तल दुई वटा हेलीप्याड रहेका छन् । थप एक वटा हेलीप्याड निर्माण गरिने प्रजिअ पौडेलले बताउनुभयो । सिमा नाका र मुक्तिनाथ क्षेत्रमा सुरक्षा सर्तकताका साथ चेकजाँच तथा गस्ती गरिएको छ ।
आकस्मीक उपचारको समेत तयारी गरीएको छ । मुक्तिनाथ समुन्द्रि सतहदेखि तिन हजार ८०० सय मिटरको उचाईमा अवस्थित छ । भ्रमणलाई लक्षित गरेर बेनी जोमसोम सडक तिन दिनका लागि खुल्ला गरिने भएको छ । ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडक स्तारोन्नतीका लागि दैनिक आठ घण्टा बन्द गरिदै आएको छ ।
भारतीय प्रधानमन्त्रीको मुक्तिनाथ भ्रमणले नेपाल भारत सम्बन्ध जनस्तरमा अझै बलीयो हुने र मुक्तिनाथको महत्वको बारेमा उजागर भई धार्मीक पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको मुस्ताङका नागरीक अगुवा चन्द्रबहादुर थकालीले बताउनुभयो । मुक्तिनाथमा मोदीको स्वागतका लागि बाह् गाउँमुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष छेम्चोक छेक्तेन गुरुङको संयोजकत्वमा एक समिति गठन भएको छ ।