कर्णबहादुर बानियाँ /विकल्प न्यूज
चैत १४ गते ।
विषय प्रवेश
मानिस चेतनशील प्राणी भएकोले उसले आफ्नो जैविक आवश्यकता पूरा गर्नका लागि बेलाबखतमा विभिन्न किसिमका पेशा व्यवसाय गर्दै आएको छ । जमिनमा आधारित अर्थ व्यवस्थाबाट पूँजीमा आधारित अर्थ व्यवस्थामा रूपान्तरित हुँदै गएको समाजमा हरेक मानिसले आफ्ना जैविक आवश्यकता पूरा गर्नका लागि मात्र भएपनि कुनै न कुनै प्रकारको पेशा व्यवसाय गर्नु पर्दछ । यस क्रममा म्याग्दीका बासिन्दाहरूले कृषिलाई जीविकोपार्जनको मुख्य व्यवसाय मानिआएको भएतापनि उनीहरूले केही मात्रामा व्यापार व्यवसाय पनि सञ्चालन गर्दैआएका थिए । यो क्षेत्रमा प्राचीनकालदेखि नै वस्तु विनिमय वा नगदमा किनबेच चल्दथ्यो । मध्यकालमा म्याग्दीमा मुख्य रूपमा नेवार र मुस्लिम जातिका मानिसहरूले व्यापार गर्ने गरेकोमा आजकाल भने सबै जात र जातिका मानिसहरूले विविध प्रकारका व्यापार व्यवसाय गरेको देखिएकोले म्याग्दीबासीमा व्यापार व्यवसायप्रति आकर्षण बढ्दै गएको देखिन्छ । अतः यस विषयमा चर्चा चलाउने उद्देश्यले यो लेख तयार गरिएको छ ।
ऐतिहासिक पृष्ठभूमि
म्याग्दीका बासिन्दाहरूको मुख्य पेशा कृषि भएतापनि उनीहरूले केही मात्रामा व्यापार व्यवसाय पनि गर्दैआएका छन् । यो क्षेत्रमा प्राचीनकालदेखि नै आफूलाई आवश्यक पर्ने सामानहरूको वस्तु विनिमय वा नगदमा किनबेच चल्दथ्यो । मध्यकालमा म्याग्दीमा नेवार जातिका मानिसहरूले व्यापार गर्ने गरेको पाइन्छ । व्यापारमा संलग्न नेवारहरूका गाउँ गाउँमा हटिया हुन्थे ।
ती हटियाहरूमा दैनिक उपभोग्य बस्तुहरू विक्रि गरिन्थ्यो । त्यतिखेर व्यापारको माध्यम बस्तु विनिमय थियो । मानिसहरू अनाजसँग आफूलाई आवश्यक पर्ने लत्ता कपडा र अन्य माल सामानहरू साट्ने गर्दथे । यो क्षेत्रमा व्यापार गर्ने जातिहरूमा मुसलमानहरू पनि पर्दथे जसलाई स्थानीय स्तरमा ‘चुरेटा’ भनिन्थ्यो । उनीहरूले चुरा, पोते धागो र अन्य श्रृंगारका सामानहरू विक्री गर्ने हुनाले त्यसो भनिएको हो । म्याग्दीको उत्तरी भेगमा पर्ने थाकखोलाका थकालीहरूले नून, उन र भेडा च्यांग्राको व्यापार गर्दथे । राणा शासनकालमा तिब्बततिरबाट आयात गरिने नूनको व्यापारमा उनीहरूले एकाधिकार समेत पाएका थिए । व्यापारमा लेनदेन गर्दा जोख्नु पर्नेमा तुलो, ढक प्रयोग गरी धार्नी, शेर आदिको हिसाव गरिन्थ्यो भने भरेर बेचविखन गर्नु पर्नेमा माना, पाथी प्रयोग गरिन्थ्यो । आजकाल सबै चिज तुलो, ढक प्रयोग गरी वा डिजिटल मेसिन प्रयोग गरी मेट्रिक सिस्टम अनुसार जोखेर बिक्रि गरिन्छ ।
आधुनिककालको प्रारम्भसम्म नेपालका सबै हाटबजारहरू खरको झुपडीका थिए । खरका झुपडी भएको बजारमा बारम्बार आगलागी भई व्यापारीहरूको धन–सम्पत्ति नष्ट भइरहनुका साथै स्थानीय अमालीले ती झुपडी पनि मनपरी तवरले पजनी गर्ने हुँदा अस्थिरताका कारण व्यापारीहरूको मनोबल गिरेको थियो । वि.सं. १८८६ सालमा तानसेनको हाटबजारमा ठूलो आगलागी भएपछि सारा बजार सखाप भयो ।
त्यसकारण मनीराज समेतका व्यापारी महाजनहरूले सरकार समक्ष आफ्नो धन सम्पत्तिको सुरक्षाको माग गरे । त्यसपछि सरकारले तानसेनको बजारमा व्यापारीहरूले इटा र झिंगटीको पक्की घर बनाउन पाउने; अमाली, चौधरीले कसैको घर पनि मनपरी पजनी गर्न नपाउने र कुनै व्यापारीले तानसेन छाडी अन्यत्र जान चाहेमा आफूले बनाएको घर विक्री गर्न पाउने नियम बनाइ दियो । त्यसको फलस्वरूप तानसेन, रिडी, बेनी, बाग्लुङ र अन्यत्रका हाटबजारहरू पनि पक्की तरिकाले बन्न थाले जसको फलस्वरूप ती बजारहरूले विस्तारै आधुनिक रूप लिन थाले ।
मध्यकालमा नेपालबाट भोेटतिर जाने व्यापारिक मार्गहरू मध्ये भारतको गोरखपुरबाट बुटवल, पाल्पा, बेनी, मुस्ताङ हुँदै भोटतिर जाने बाटो निकै चल्तीको थियो । राणा शासनकालको पूर्वाद्र्धसम्म बाटो–घाटहरू राम्रा थिएनन् । कतिपय नदीहरूमा पुल वा साँघु समेत पनि थिएनन् जसले गर्दा व्यापारीहरूलाई निकै कठिनाई भोग्नु पर्दथ्यो । राणा शासनकालको उत्तराद्र्धतिरबाट मात्र नेपालका शासकहरूले यातायातको विकासतिर ध्यान दिन थालेको पाइन्छ । वाग्लुङबाट टुकुचेतिर जाने बाटोमा पर्ने तिप्ल्याङमा वि.सं.१९८७ मा र तातोपानीमा वि.सं. १९९९ मा कालीगण्डकी माथि बनेका झोलुंगे पुलले सरकारी तवरबाट बाटो–घाटहरूको सुधारमा ध्यान पु¥याएको कुरा सावित गर्दछन् । आन्तरिक व्यापारिक मार्ग सुगम बनाउनका लागि बाटो–घाट र पुल निर्माण गर्ने कार्य गरिएको भएतापनि यातायातका साधन भने थिएनन् । मानिसहरू पैदल यात्रा गर्नु पर्दथ्यो । धनीमनी मानिसहरू घोडा चढ्ने गर्दथे । व्यापारिक माल सामानहरू भरियाद्वारा वा गधा, खच्चड, घोडा, भेडा आदि जनावरहरूको माध्यमद्वारा ढुवानी गरिन्थ्यो ।
नेपालको एकीकरणपछि राणा शासनकालसम्म नेपाल र तिब्बतबीच व्यापार सञ्चालन गरिने मुख्य व्यापारिक नाकाहरू ताक्लाखार, मुस्ताङ, कुती, केरुङ, नाम्चेबजार (हटिया) र ओलाङचुङ थिए । यी नाकाहरू मध्ये मुस्ताङ नाका गोरखपुरबाट बुटवलहुँदै काली गण्डकीको तीरैतीर तिब्बतमा प्रवेश गर्ने निकै नै चल्तीको मार्ग थियो । त्यतिखेर वर्तमान बाग्लुङ, मुस्ताङ र म्याग्दी जिल्लाको भू–भागलाई पर्वत जिल्ला भनिन्थ्यो । तिब्बतबाट नून, उन, सुन, चवर, उनी बस्त्र, भेडा, च्याङ्ग्रा, गधा, चौंरी आदि वस्तु र जनावरहरू आयात गरिन्थ्यो भने त्यस क्षेत्रबाट तिब्बततिर अनाज, तामाका भाँडा, कागज, भारतीय सुती कपडा र अन्य विलासिताका सामानहरू निर्यात गर्ने गरिन्थ्यो ।
तिब्बतबाट आयात गरिने सामानहरू मध्ये नून मुस्ताङ क्षेत्रका थाक सातसय, पाँच गाउँ र बाह्र गाउँ तथा डोल्पा क्षेत्रका बासिन्दाहरूले तिब्बतमा गई उवा, जौ आदि अन्नसँग साटेर ल्याई मुस्ताङदेखि तलको पहाडी इलाकामा बस्ने मानिसहरूसँग चामल, मकै, कोदो आदि अन्नसँग साट्ने गर्दथे । तिब्बततिरबाट आउने नूनको व्यापारमा वि.सं.१९११–१२ को नेपाल–तिब्बत युद्धका बेला गडवडी उत्पन्न भएको थियो जसको फलस्वरूप वि.सं.१९१२ देखि नेपालमा भारतीय नून पनि आउन थाल्यो । वि.सं. २०१६ साल (सन् १९५९) मा तिब्बतमा चीनको प्रत्यक्ष शासन शुरू भएपछि तिब्बततिरबाट आउने नूनको व्यापार स्वात्तै घटेको थियो । वि.सं. २०२९ सालमा सिद्धार्थ राजमार्ग खुलेपछि भारतीय नून सस्तो मूल्यमा बुटवलबाट नागडाँडाहुँदै पोखरामा उपलब्ध हुन थालेपछि त तिब्बती नूनको व्यापार ठप्प हुन गएको हो । यस क्षेत्रमा तिब्बततिरबाट आयात गरिने माल सामानहरूमा नून पछि उनको महत्वपूर्ण स्थान थियो । थकाली व्यापारीहरूले तिब्बतको उन यो क्षेत्रको पर्वत, बाग्लुङ, बुटवल हुँदै भारतको दार्जिलिङ, कालिङपोङ र कानपुरसम्म पु¥याउने गरेको देखिन्छ । तिब्बततिरबाट यो क्षेत्रमा आयात गरिने बस्तुहरू मध्ये भेडा, च्यांग्रा, खसी आदि जनावरहरू दशैं पर्वका अवसरमा पर्वत जिल्लाका गाउँगाउँमा अत्यधिक परिमाणमा खपत हुन्थे ।
राणा शासनकालसम्म नेवार, थकाली र मुस्लिम समुदायका मानिसहरू मात्र व्यापारमा संलग्न हुन्थे । व्यापारको मुख्य आधार वस्तु विनिमय हुन्थ्यो । व्यापारीहरूले आफ्ना मालसामानका पोका बोकेर घरघरै पु¥याएर अन्नसँग साट्ने गर्दथे । मेला, जात्रा र हाट लागेपछि व्यापारीहरूलाई सजिलो हुन्थ्यो । मुस्लिम समुदायका व्यापारीले मुख्य रूपमा विसाता सामानको व्यापार गर्दथे । उनीहरूले कलकत्ता, दिल्ली, कानपुर र बनारस पुगेर चुरा, धागो, डोरी र श्रृङ्गारका समान ल्याउँदथे । थाकखोलातिर मुख्य रूपमा नूनको व्यापार हुन्थ्यो । व्यापारीहरूले म्याग्दीका विभिन्न गाउँका गाउँलेहरूलाई आवश्यक पर्ने नून दिएर चामल, मकै र कोदो लिने गर्दथे । त्यो अनाज मुस्ताङहुँदै तिब्बत पु¥याइन्थ्यो । त्यतिखेरसम्म म्याग्दीमा बेनीबजार, दाना र दरवाङ मात्र व्यापारिक केन्द्र थिए ।
व्यापार व्यवसायप्रति बढ्दै छ आकर्षण
राणा शासनको पतनपछि मानिसको रहनसहन र बसाईसराईमा पनि परिवर्तन भयो जसले मानिसहरूको पेशा व्यवसायमा पनि असर पा¥यो । शासन व्यवस्थामा आएको परिवर्तनले प्रशासनिक एकाईहरू पनि परिवर्तन भए । वि.सं. २०१८ सालमा नेपाललाई चौध अञ्चल र ७५ जिल्लामा विभाजन गर्दा म्याग्दी पनि एक जिल्लाको रूपमा रहन गयो । त्यतिखेर बेनीबजारदेखि पश्चिमका म्याग्दी खोलाको वारपारका गाउँहरू मात्र यो जिल्लामा थिए । त्यतिखेर यो क्षेत्रमा बेनी, बाबियाचौर र दरवाङ व्यापारिक केन्द्र बनेका थिए । नेपालमा वि.सं. २००२ सालमा नोठको चलन आएपछि व्यापार पनि नगदमा हुन थाल्यो । साथै नेपालको विश्वका विभिन्न मुलुकसँग सम्पर्क हुन थालेपछि विभिन्न किसिमका तयारी मालसामान आउन थाले जसका कारण फेन्सी माल सामानका पसलहरू खुल्न थाले । त्यसपछि व्यापार व्यवसायप्रति आकर्षण बढ्दै गएकोले म्याग्दीका गलेश्वर, तातोपानी, तिप्ल्याङ, दरवाङ, पाखापानी, बाबियाचौर, बेनीबजार र सिङ्गा तातोपानी व्यापारिक केन्द्रका रूपमा विकसित भएका छन् ।
जिल्ला विकास योजना २०७१÷०७२ र म्याग्दी उद्योग वाणिज्य संघको सदस्यता डाइरेक्टरी २०७१ अनुसार म्याग्दीमा सबैभन्दा बढी खाद्यान्न पसल (जनरल स्टोर्स) खुलेका छन् जसको सङ्ख्या १,१०० छ भने फेन्सी स्टोर्स ३१९, तरकारी पसल ८०, मासु पसल ६४, कस्मेटिक पसल ५२, भाँडावर्तन पसल ५२, पुस्तक तथा स्टेशनरी पसल ५२, इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स ७१, हार्डवेयर पसल २७, फ्रेस हाउस २२, औषधि पसल १२, भेहिकल्स बिक्रि केन्द्र ६, ग्यारेज वर्कसप ६, एग्रोभेट ५, जडिबुटी सङ्कलन केन्द्र ४, हेभिइक्वीप्मेन्ट ४ र हस्तकला बिक्रि केन्द्र २ छन् ।
व्यापार व्यवसायमा संलग्न जनसङ्र्ख्या
म्याग्दीका बासिन्दाहरूको मुख्य पेशा कृषि हो । अझै पनि यहाँका ५० प्रतिशत जनताहरू कृषि व्यवसायमा निर्भर छन् । कृषिपछि दोस्रो पेशा व्यापार व्यवसाय बनेको छ । म्याग्दीका बासिन्दाहरूले अपनाएको पेशा व्यवसाय सम्बन्धमा तल दिइएको तालिकाबाट स्पष्ट हुन्छ । माथि दिइएको तालिका अनुसार वि.सं.२०२८ सालसम्म म्याग्दीका ९९ प्रतिशत मानिसहरू कृषि पेशामा निर्भर रहेको पाइन्छ भने २०६८ मा सो सङख्या ह्वात्तै घटेर ५० प्रतिशतमा झरेको देखिन्छ । यो तथ्याङ्कले म्याग्दीका बासिन्दाहरूले विस्तारै पेशा परिवर्तन गर्न थालेको देखाउँदछ । किनभने वि.सं. २०२८ को जनगणनामा ०.२ प्रतिशत मानिसहरू मात्र व्यापारमा संलग्न भएकोमा सो सङ्ख्या विस्तारै बढ्दै गएर २०६८ मा १९.१ प्रतिशत पुगेको छ । यो तथ्याङ्कले म्याग्दीका बासिन्दाहरू विस्तारै व्यापार व्यवसायतिर आकर्षित भएको कुराको संकेत गर्दछ ।
निष्कर्ष
कुनैपनि प्राणी जीवित रहनका लागि आहाराको जरुरत पर्ने हुनाले मानिसको पहिलो जैविक आवश्यकता खाने कुराको जोहो गर्नु हो । प्रकृतिमा रहेका खाने कुराहरू सहज रूपमा उपलब्ध हुञ्जेल मानिस पनि यायावर प्राणी नै थियो । जमिन खनजोत गरेर खाने कुरा उब्जाउनु परेपछि मानिसले स्थायी बसोबास शुरु ग¥यो । जमिनबाट उत्पादित बस्तुलाई औद्योगिक बस्तुको रूपमा विकसित गर्न थालेपछि व्यापार व्यवसाय फस्टाउन थाल्यो । उद्योग र व्यापार व्यवसायको बृद्धिले पूँजीवादको विकास ग¥यो । समाज पूँजीवादमा रूपान्तरित हुँदै गएपछि मानिसहरू व्यापार व्यवसायमा बढी आकर्षित हुँदै गए ।
जमिनमा आधारित अर्थ व्यवस्थाबाट पूँजीमा आधारित अर्थ व्यवस्थामा रूपान्तरित हुँदै गएको समाजमा हरेक मानिसले आफ्ना जैविक आवश्यकता पूरा गर्नका लागि मात्र भएपनि कुनै न कुनै प्रकारको पेशा व्यवसाय गर्नु पर्दछ । यस क्रममा म्याग्दीका बासिन्दाहरूले कृषिलाई जीविकोपार्जनको मुख्य व्यवसाय मानिआएको भएतापनि उनीहरूले केही मात्रामा व्यापार व्यवसाय पनि सञ्चालन गर्दैआएको देखिन्छ । अट्ठाइस सालको जनगणनामा ९९ प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर रहेको र ०.२ प्रतिशत जनसङ्ख्या मात्र व्यापार व्यवसायमा संलग्न भएको पाइएकोमा अठसट्टी सालको जनगणनामा ५० प्रतिशत जनसङ्ख्या मात्र कृषिमा निर्भर रहेको पाइनु र १९.१ प्रतिशत जनसङ्ख्या व्यापार व्यवसायमा संलग्न रहेको देखिनुले म्याग्दीका बासिन्दा पनि जमिनमा आधारित अर्थ व्यवस्थाबाट पूँजीवादी अर्थव्यवस्थातिर रूपान्तरित हँदैछन् भन्ने कुराको पुष्टि हुन्छ । नवविकल्पमा प्रकाशित