सन्तोष गौतम /विकल्प न्यूज
फागुन २९ गते ।
म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेतमा एक युवाले चौबिस लाख रुपैयाँ लगानी गरेर कृषि फार्म स्थापना गरेका छन् । ३६ वर्षिय भवीन्द्र पाईजाले आर्सीवाद कृषी फार्म स्थापना गरेर व्यवसायिक रुपमा बाख्रा पालन र च्याउ खेती सुरु गर्नुभएको हो । फार्म सञ्चालनका लागि बाख्रा खरिद र पूर्वाधार निर्माण गर्न चौबिस लाख रुपैयाँ लगानी भएको पाईजाले बताउनुभयो ।
उमेर समूह अनुसारका बाख्रा राख्नका लागि छुट्टाछुट्टै कोठा भएको खोर बनाइएको उक्त फार्ममा हाल ६० वटा जमुनापारी, खरी, अजमेरी र बोयर जातका बाख्रा छन् । गत साउनमा स्थापना भएको फार्मबाट हालसम्म ८५ हजार रुपैयाँ बराबरको पाठापाठी बिक्री गरीसकेको पाईजाले बताउनुभयो ।
फार्ममा पाईजा सहित परिवारका ४ जनाले पूर्ण र अन्य दुई जनाले आंशीक रोजगारी पाएका छन् । बाख्राको नश्ल सुधारका लागि बोयर जातको एउटै बोकालाई पचास हजार रुपैयाँमा किनेर पाल्नुभएको छ । बाख्रापालनसंगै उहाँले ५५० मुडामा सिताके जातको च्याउ खेती सुरु गर्नुभएको छ ।
बाख्राको आहराका लागि पाखोबारीमा तिन हजार ५०० डालेघाँसका बिरुवा खेती गर्नुभएको छ । तिन रोपनी खेतमा जैघाँस लगाउनुभएको छ । पाईजाले ११ वर्षसम्म दक्षिण कोरियामा काम गर्नुभएको थियो ।
कोरियामा आधुनिक र व्यवसायिक कृषि मार्फत राम्रो आम्दानी गरेको देखेर प्रभावित भएपछि घर फर्कीएर कृषि फार्म सञ्चालन गरेको पाईजाले बताउनुभयो । कोरियामा आम्दानी राम्रो भएपनि दःूख धेरै भएको अनुभव सुनाउनुभयो । आफ्नै ठाउँमा स्वरोजगार बन्ने र अरुलाई पनि स्वदेशमै उद्यम व्यवसाय गर्न सन्देश दिने उद्देश्यले कृषि पेशा अगाँलेको पाईजाको भनाई छ ।
“कोरियाको भिसा पनि बाँकी थियो तर यही केही गर्नुपर्छ भन्ने लागेर बाख्रापालन सुरु गरेको हो” पाईजाले भन्नुभयो “बाख्राको संख्या बढाएर न्युनतम १५० वटा पु¥याउने लक्ष्य छ ।” डेढ सय बाख्रा पाल्दा वार्षिक दश लाख रुपैयाँ सम्म आम्दानी गर्न सकिने उहाँको योजना छ । मासु र पुजाआजाका लागि गाउँ र सदरमुकाम बेनी बजारमा खसीबोका खपत हुने गरेको छ ।