घार स्वास्थ्य चौकीको भवन निर्माण सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ८ माघ । Ghara Health Post Ko Building Nirman suru 1म्याग्दीको अन्नपूर्ण गाउँपालीका ६ घारमा स्वास्थ्य चौकीको सुबिधासम्पन्न भवन निर्माण कार्य सुरु भएको हो । श्रीपञ्चपी पर्वको अवसर पारेर वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल, जग्गादाता रुपा बरुवाल र गोविन्द खड्काले सोमबार भवनको संयुक्त रुपमा शिलन्यास गर्नुभयो । दुई तले भुकम्प प्रतिरोधी क्षमत्ताको अपाङ्गमैत्री भवन निर्माणका लागि एक करोड ५६ लाख रुपैया लागत अनुमान गरिएको छ ।

आचार्य र उत्तरगंगा निर्माण सेवाले सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसंग २०७५ असारमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य सहित ठेक्का सम्झौता गरेका छन् । उक्त भवनमा १५ वटा शैया, स्वास्थ्य परिक्षण, ल्याब, औषधी भण्डारी, एक्सरे लगायतका कक्षको सुबिधा हुनेछ ।

साँघुरो कोठाबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्य चौकीको नयाँ सुबिधा सम्पन्न भवन निर्माणका लागि स्थानीयबासीले दान र आर्थिक सहयोग जुटाएर घारको निमरुख भन्ने ठाउँमा चार रोपनी १ आना जग्गाको व्यवस्था गरेका थिए ।

स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष ठगराज बरुवालले बुवा अमरबहादुरको नाममा एक रोपनी र स्थानीय गोविन्द खड्काले आठ आना जग्गा निशूल्क उपलब्ध गराउनुभएको छ ।
हाल घार स्थित गाउँ संरक्षण व्यवस्थापन समितिले उपलब्ध गराएको एउटा कोठाबाट स्वास्थ्य चौकी सञ्चालन हुदै आएको छ । नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज र सेवाको गुणस्तर बढ्ने अध्यक्ष बरुवालले बताउनुभयो ।

हाल बिरामीको स्वास्थ्य परिक्षण गर्ने, औषधी भण्डारण गर्ने देखि प्रशासनीक काम एउटै कोठाबाट गर्नुपर्दा समस्या भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।