मुक्तिमार्ग माविको ५९ औ वार्षिक उत्सव

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ११ पुष ।26135261_1249143071852288_1821073231_nम्याग्दीको अन्नपूर्ण गाउँपालीका ६ घारमा रहेको मुक्तिमार्ग माविको ५९ औ स्थापना दिवस मंगलबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

स्थापना तथा अभिभावक दिवसको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालीकाका अध्यक्ष डमबहादुर पुनले सामाजिक परिवर्तनका लागि शिक्षाको विकास अपरीहार्य रहेको बताउनुभयो ।

उहाँले गाउँपालीकाको शिक्षा, स्वास्थ्य, सञ्चारसंगै, पूर्वाधार, पर्यटन, आर्थिक, जलस्रोतको विकासका लागि सबै पक्षबिच सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने बिचार व्यक्त गर्नुभयो । वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले घारलाई शैक्षिक हिसाबले जिल्लाकै नमुना बनाउने लक्ष्य रहेको बताउनुभयो ।

सो कार्यक्रममा विद्यालयको नयाँ भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने र नगद सहयोग गर्नुहुने टिकाबहादुर खड्का लगायतका दाता र सहयोगीहरुलाई सम्मान गरिएको थियो ।
यसैगरी प्रवासमा रहेर भवन निर्माणका लागि १६ लाख ७७ हजार ५०० रुपैया जुटाउनुका साथै व्यक्तिगत रुपमा २५ हजार रुपैया सहयोग गर्नुहुने पुर्व विद्यार्थी प्रशान्तमोहन रेग्मीलाई पनी सम्मान गरिएको थियो ।

विद्युतीय पुस्तकालयका दाताहरुलाई समेत सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुलप्रसाद बरुवालको अध्यक्षता, शिक्षक बिमल बरुवालको सञ्चालन र ठकराज बरुवालले स्वागत गर्नुभएको कार्यक्रममा स्रोत व्यक्ति भरत कुमार पुनले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रअ मेखबहादुर खड्काले शैक्षिक र शिक्षक रामकृष्ण खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वि.स २०१५ मा स्थापना भएको विद्यालयमा हाल कक्षा १२ सम्मको पठनपाठन हुन्छ । तिन सय जना विद्यार्थी अध्ययनरत छन् ।