भुरुङ तातोपानीमा निशूल्क मुटु स्वास्थ्य शिवीर सम्पन्न

सन्तोष गौतम /विकल्प न्यूज
भुतातोपानी ८ पुष ।

IMG_2504म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीमा शनिबार निशूल्क मुटु स्वास्थ्य शिवीर सम्पन्न भएको छ । शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्राबिधिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी भुरुङ तातोपानी उपशाखाले स्थानीय स्वास्थ्य चौकीमा एक दिने शिवीर सञ्चालन गरेको हो ।

अन्नपूर्ण, रघुगंगा गाउँपालीका र बेनी नगरपालीका ४०३ जना सर्वसाधारणले सेवा लिएका शिवीरका संयोजक आत्मा तुलाचनले जानकारी दिनुभयो । शिवीरमा जटिल समस्या देखिएका ११ जना बिरामी पहिचान भएका छन् ।

उनिहरुलाई जयन्ती मेमोरीयल कोषले आवत आवतको खर्च सहित शल्यक्रियाको व्यवस्था मिलाएको संयोजक तुलाचनले जानकारी दिनुभयो । शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका मुटुरोग बिशेषज्ञ डाक्टर रवी मल्ल नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिएको थियो ।

मुटु परिक्षण, परामर्श र निशूल्क औषधी वितरणका साथै अत्याधुनीक उपकरणद्धारा मुटुको ईसीजी र ईको गरिएको थियो । सो शिवीर सञ्चालन गर्न अन्नपूर्ण गाउँपालीकाले एक लाख रुपैया सहयोग गरेको थियो ।

प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको नसर्ने रोग मध्यमा पर्ने मुटुरोगीको पहिचान गरि उनिहरुको उपचार सेवामा पहुँच बढाउने उद्देश्यले ग्रामिण क्षेत्रमा शिवीर सञ्चालन गरेर सेवा दिएको बरिष्ठ बिशेषक्ष डाक्टर रवी मल्लले बताउनुभयो ।