अन्नपूर्ण आधार शिवीर जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण

विकल्प न्यूज/बेनी
मंसिर २८ गते ।

annapurnaअन्नपूर्ण आधारशिविरको फाइल तस्विर
म्याग्दीको नारच्याङ देखि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिवीर जोड्ने पदमार्गमा पूर्वाधार निर्माणले तिब्रता पाएको छ ।

अन्नपूर्ण गाउँपालिका ४ मा पर्ने आधार शिवीर जोड्ने छोटो उक्त पदमार्गलाई व्यवस्थित बनाउन स्थानीय बासिन्दा र सरोकारवालाले सक्रियता देखाएका छन् । पदमार्गको स्तरवृद्धि, अस्थाई टहरा र झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिइएको गाउँ संरक्षण तथा पर्यटन प्रर्वद्धन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को दश लाख रुपैयाँ अनुदानमा हालै स्थानीय बासीन्दाले श्रमदान गरेर पदमार्ग अन्तरगतको निलगिरी खोलामा ३७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेका छन् ।

यस वर्ष निलगिरी खोलाकै अन्य दुई स्थानमा झोलुङ्गे पुल निर्माणका लागि पहल भैरहेको अध्यक्ष गुरुङले बताउनुभयो । पुल निर्माण भएपछि जंघार तरेर जोखिमपूर्ण र घुमाउरो बाटो हिड्नुपर्ने समस्या हटेको छ ।

पर्यटन बिभागको चालीस लाख रुपैयाँ अनुदानमा वि.स २०७२ मा नारच्याङ गाउँदेखि छेलुङ हुदै निलगिरी खोलाको किनारै किनार भएर आधार शिवीर पुग्ने पदमार्ग निर्माण भएको थियो । २०७३ मा दश लाख रुपैयाको लागतमा विभिन्न ठाउँमा पदमार्ग सुधार गरिएको छ ।

पदमार्ग निर्माण गरेपछि आरोही र पर्यटक हेलीकप्टरबाट जानुपर्ने समस्या हटेको छ । पदमार्गको स्तरवृद्धि र झोलुङ्गे पुल निर्माण गरेपछि नारच्याङदेखि २ दिनमै अन्नपूर्ण आधार शिवीरमा पुगीने भएको छ । यो अन्नपूर्ण आधार शिवीर पुग्ने सबैभन्दा छोटो पदमार्ग भएको अध्यक्ष गुरुङले बताउनुभयो ।

यसअघि सहज पदमार्ग नहुँदा हेलीकप्टर तथा मुस्ताङको कुञ्जो हुदै घुमाउरो बाटो भएर अन्नपूर्ण आधार शिवीर जाने गरेका थिए । एक्याप ईलाका कार्यालय घान्द्रुकका प्रमुख बिदुर बिक्रम कुईकेलले पुराना पदमार्ग सडकका कारण विस्थापीत भएको अवस्थामा नारच्याङ–अन्नपूर्ण बेसक्याम्प पदमार्ग बैकल्पीक गन्तब्य बन्न सक्ने सम्भावना रहेको बताउनुभयो ।

पदमार्गको स्तरवृद्धिसंगै त्यहा पुग्ने पर्यटकको आवास सुबिधाका लागि सामुदायिक लज सञ्चालन गर्नका लागि एक्यापले दिग्गदर्शन तयार पारेको छ । नारच्याङको लेकगाउँमा होमस्टे सञ्चालनको तयारी भएको छ । समथर फाँटा निलो तलाउ । तलाउ नजिकै उभिएका अग्ला हिमाल ।

सूर्योदयले चम्केका सेताम्मे हिमाललाई आँखाले चौफेरो लगाउन पाउनु अन्नपूर्ण आधार शिवीरको प्रमुख बिशेषता हो । अग्ला पहाड हुदै झर्ने झरना, जंगली जनावर, चराचुरुङ्गी, वनस्पती, जडीवुटी र मनमोहक हिमाल यो पदमार्गको थप आकर्षण हो ।