ताजा समाचार:
Search

रुद्राक्षको एउटै रुख २५ लाखमा बैना

योगेन्द्रकुमार जोगी

संखुवासभा, २७ साउन : सदरमुकाम खाँदबारीका किसान लक्ष्मीकुमार श्रेष्ठले हुर्काएको रुद्राक्षको रुख २५ लाख रुपैयाँमा बैना गरिएको छ । व्यापारीले २५ लाखमा रुद्राक्षको बोटै किन्न खोजेपछि श्रेष्ठले २ लाख रुपैयाँ बैना रकम लिएका छन् ।

भोजपुरका रुद्राक्ष व्यवसायी शेरबहादुर बस्नेतले बोटै बैना गरेका हुन् । २५ लाख मूल्य भनिए पनि दाना धेरै फल्यो भने त्यसबेलाको बजार मूल्य अनुसार रकम बढाउने सर्तमा बैना लिएको श्रेष्ठको भनाई छ ।

तीन वर्ष अघि देखि फल्न थालेको यो बोटको सबै रुद्राक्ष एकनाशको र बोक्रा नखोलि कनै उनले राम्रो आम्दानी लिने गरेका छन् । “रुद्राक्ष खेती गरेर राम्रो आम्दानी लिनका लागि एकमुखे रुद्राक्ष नै हुनुपर्छ भन्ने छैन,” श्रेष्ठले भने, “ठूला खालका ५ मुखे रुद्राक्ष भए पनि त्यसको मूल्य राम्रै पाइन्छ ।” रुद्राक्ष व्यापारीले फूल फुल्नु अघि नै बगान एक वर्षका लागि किन्ने गरेको अर्का रुद्राक्ष व्यापारी श्याम पोखरेलले बताए । ३ वर्ष अघि सम्म ५ मुखे रुद्राक्षका दाना प्रतिकिलो ३० रुपैयाँसम्ममा बिक्री हुँदै आएको थियो ।

पछिलो समयमा प्रतिकिलो ५ सयदेखि एक हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको पोखरेलले बताए । चीनमा रुद्राक्षको माग बढ्न थालेपछि अरूको भन्दा ५ मुखेको मूल्य बढेको उनले बताए । प्रत्येक वर्ष भदौदेखि सुरु हुने रुद्राक्षको कारोबार फागुन–चैतसम्म बढी व्यापार हुने व्यापारी सुमन योगीले बताए ।

संखुवासभा र भोजपुरमा उत्पादित रुद्राक्षको मुख्य बजार खाँदबारी, तुम्लिङटार र भोजपुरको दिङ्ला बजार हो । रुद्राक्षको मुख, तौल र आकार हेरेर किनबेच हुने गरेको छ । मुख र आकारले रुद्राक्षको मूल्य निर्धारण गर्ने हुँदा यसको मूल्य मुख र आकारका आधारमा कम र बढी हुने गरेको व्यापारी दिलीप श्रेष्ठले बताए ।

दुई मुखेलाई २० देखि ३० हजार, तीनमुखे ३ सयदेखि ५ सयसम्म, ६ मुखेलाई ४० रुपैयाँदेखि सयसम्म ७ मुखेलाई ५ सयदेखि हजारसम्ममा किनबेच हुने गरेको व्यापारीहरूको भनाई छ । व्यापारीका अनुसार ८ मुखेलाई १५ सयदेखि ३ हजारसम्म, ९, १० र ११ मुखेलाई ५ हजारदेखि १० हजारसम्म र १२ मुखेलाई ७ हजारदेखि १२ हजारसम्म, १३ मुखे १० देखि १५ हजार, १४ मुखे २५ हजारभन्दा बढीमा बिक्री हुने गरेको छ । २० मुखे ५ देखि १५ लाखसम्म, २१ मुखे २५ लाखभन्दा माथि २७ र २८ मुखेलाई ४० लाखभन्दा माथि किनबेच हुने गरेको छ ।