वौद्ध कपको सेमी फाईनलमा प्रहरी र कालीपुल, वौद्ध र एभरग्रिन भिड्ने

विकल्प न्यूज/बेनी
असोज ४ गते ।

budhha copबेनीमा जारी धौलागिरीमै सर्वाधीक बढी पुरस्कार राशीको फुटबल प्रतियोगिता तेस्रो वौद्ध कप २०७४ को सेमीफाईनलमा चार टिम प्रवेश गरेका छन् ।

बिहीबार जिल्ला प्रहरी कार्यालय र कालीपुल युनाईटेड तथा आयोजक वौद्ध युवा क्लब एल्लो र एभरग्रिन युवा क्लब बल्याकबीच सेमीफाईनल हुने भएको हो । बुधबार भएको क्वाटर फाईनलमा जिल्ला प्रहरी कार्यालयले जलजला तरुण पर्वत बेनीलाई पेनाल्टी सुटआउटमा ८ का विरुद्ध ९ गोल गर्दै सेमीफाईनलमा पुगेको हो ।

निर्धारीत समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा दकेलीएको थियो । यसैगरी कालीपुल युनाईटेडले रिभरसाईडलाई शून्यका विरुद्ध एक, वौद्ध एल्लोले न्यु दोभानलाई शुन्यका विरुद्ध ५ र एभरग्रिनले बागलुङ फुटबल संघलाई शुन्यका विरुद्ध २ गोलले पराजीत गरेर सेमी फाईनलमा प्रवेश गरेको खेल संयोजक कृष्ण श्रेष्ठले बताउनुभयो ।

दसै पर्वको अवसरमा वौद्ध युवा कल्वको आयोजना र मंगला आमा समूहको सहआयोजनामा असोज १ गतेदेखि सुरु भएको प्रतियोगितामा २४ टिमले सहभागीता जनाएका थिए । बिहीबारनै फाईनल हुने प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित एक लाख २५ हजार र सत्तरी हजार रुपैया पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

सेमिफाईनलबाट बाहिरीने टिमलाई पन्ध्र हजार र अनुशाशित टिमलाई दश हजार रुपैयाको व्यवस्था गरिएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डरलाई छछ हजार नगद सहित प्रदानपत्र प्रदान गरिने कल्वका अध्यक्ष बिजय किसानले बताउनुभयो ।

सो प्रतियोगिताको पुरस्कार राशी धौलागिरी क्षेत्रमा हालसम्म आयोजित प्रतियोगिता मध्यको सबैभन्दा बढी रहेको आयोजकले दावी गरेका छन् । वौद्ध युवा कल्वले प्रत्येक तिन वर्षमा प्रतियोगिता आयोजना गर्दै आएको छ । स्थानीय कल्वमा सहभागी भएर खेल्नका लागि राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरु पनी आएका छन् ।