ताजा समाचार:
Search

पहिरोको उच्च जोखिममा म्याग्दी

दिवाकर पौडेल /विकल्प न्यूज
साउन २३ गते ।
Diwakar ppबिषय प्रवेश
भिरालो भूबनोट, छोटो समयमा हुने अधिक मनसुनी बर्षा, बढ्दो जनसंख्याको चाप, वन जंगलको विनास र अव्यवस्थित एंव अवैज्ञानिक विकासे क्रियाकलापहरुले गर्दा म्याग्दी जिल्लाका माथिल्लो जलाधार तथा तटीय क्षेत्रका वस्ती एंव वासिन्दा तथा तल्लो जलाधारीय क्षेत्र तथा तटीय क्षेत्रका वासिन्दा समेत खासगरी पहिरोको कारण उच्च जोखिममा परेका छन् । यस लेखमा म्याग्दी जिल्लाको अवस्थिति र भूबनोट, जलाधारीय अवस्था, भूक्षय, पहिरोको अवस्था र अन्तर्निहित कारणहरु, विगतका त्रासदी एवं भूकम्पले गर्दा बढोत्तरी भएको पहिरोजन्य समस्याहरु र अबको बाटो अर्थात् सुरक्षाका लागि गर्नुपर्ने मुख्य कार्यहरुका बिषयमा उल्लेख गर्ने प्रयास गरिएको छ ।
जिल्लाको अवस्थिती र भूबनोट

नेपालको मानचित्रमा म्याग्दी जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अंचलमा पर्ने विकट पहाडी जिल्ला हो । यस जिल्लाको भूगोलको भिरालोपनालाई आँकलन गर्दा ६१% भूभाग ६० डिग्री भन्दा बढी भिरालोपनायुक्त र केवल ३६ % भूभाग १–६० डिग्री भिरालोपना भएको र केवल ३ % समथर भूभाग रहेको छ । क्षेत्रफलका हिसाबले २२९७.०६ वर्ग कि.मीं ओगटेको छ । माथि उल्लेख गरिएझैं यहाँको भूबनोट धेरै भिरालो छ र महाभारत पर्वत श्रृंखलामा पर्ने भएको हुनाले र समग्र नेपालको भूस्वरुप नयाँ हुनाले म्याग्दी जिल्लाको जमिन अझ धेरै अस्थिर प्रकृतिको छ ।
म्याग्दी जिल्लाको जलाधारीय अवस्थाpatlekhet pahero म्याग्दी जिल्लाको नदीप्रणाली वा जलाधार क्षेत्रको रुपमा म्याग्दी खोला, कालीगण्डकी र रघुगंगा गरी ३ वटा मुख्य रहेका छन् जसले जिल्लाको क्रमशः ५५ %, ३० % र १३ % जलाधार क्षेत्र ओगटेका छन् र २% अन्य जलाधार क्षेत्रले ओगटेको छ । यिनै भिराला पहाडका जलाधार क्षेत्रमा नै ‘पाँच ज” जन्य श्रोतहरुको रुपमा, खेतीपाती गर्ने जमिन, जंगल, जल, यहाँका गाउँ बस्ती अर्थात् जनता र जनावर रहेका छन् ।

एकआपसमा अन्तर्निहित र अन्योन्याश्रित संबन्ध भएका यी श्रोतहरुको सही व्यवस्थापन र संरक्षण नै जलाधार व्यवस्थापन हो । यी श्रोतहरुको समुचित संरक्षण र व्यवस्थापन भएन भने जलाधारीय अवस्था कमजोर हुन जान्छ जसबाट प्राकृतिक विपत्ती बाढी, पहिरो, भूक्षय जस्ता समस्याहरुले जनधन र भौतिक सम्पत्ती तथा विकासका पूर्वाधारहरुमा करोडौंको अपुरणीय क्षति पुग्न जान्छ । जलाधारीय अवस्थाका दृष्टिले यो जिल्ला सिमान्तको वर्गिकरणमा पर्दछ अर्थात् यहाँका जलाधारीय श्रोतहरु जमिन, जल, जंगल, जनावर आदिको सही र बुद्धिमत्तापूर्ण उपयोग नगरेको खण्डमा जलाधारीय अवस्था धेरै बिग्रेर जाने तर विवेकशील भएर संरक्षणमैत्री दिगो विकासको अवधारणालाई अप्नाउन सकेमा राम्रो अवस्था हासिल गर्न सकिन्छ ।

म्याग्दी जिल्लाका खोला तथा नदीहरुको बहाव क्षेत्रमा कमजोर र कमलो भूबनोटयुक्त जमिन भएको कारणले यि नदीहरु अत्यधिक गहिरिएर बगेका छन् । यिनै गहिरिएर बगेका नदीहरुको जलाधार र तटीय क्षेत्रमा अवस्थित गाउँबस्ती, बजार र खेतीयोग्य जमिन सुरक्षित छैनन् । यिनै बस्तुगत तथ्यका आधारमा प्राकृतिक एवं भौगर्भिक हिसाबले यो जिल्लामा भूक्षय, पहिरो तथा नदी कटानी र बाढीका समस्याहरु स्वभाविक रुपमा आईरहन्छन् ।

lampataभूक्षय, पहिरोको अवस्था, पहिरोग्रस्त स्थानहरु तथा पारेको प्रभाव ः
भूक्षयको राष्ट्रिय आँकडालाई आधार मानेर हिसाब गर्दा मात्रै पनि म्याग्दी जिल्लाबाट बर्षेनी ३७,४५,६९० घनमीटर माटो भूक्षय भई यहाँका नदीखोलाहरु हुँदै बगेर खेर गइरहेको छ । ३० डिग्री भन्दा बढी भिरालो जमिनमा गह्रा नबनाई खेतीपाती गर्ने गरिएको हुँदा त्यस्ता ठाउंहरुमा भूक्षय, पहिरो जाने संभावना बढी देखिन्छ । यहांको कुल क्षेत्रफलको ७० % जमिनमा साना र बांकी ३० % जमिनमा ठुला भूक्षय र पहिरोका समस्याहरु आउनसक्ने देखिन्छ ।
जिल्ला भूसंरक्षण कार्यालय, म्याग्दीले आ.व. २०६८।६९ मा भौगोलिक सूचना प्रणाली प्रयोग गरी तयार गरिएको म्याग्दी जिल्लाको पहिरो संबन्धी अध्ययन रिपोर्ट अनुसार जिल्लाका साविकका ४१ गा.वि.स. मध्ये साबिकका ३८ गा.वि.स. पहिरोले प्रभावित छन् । उक्त प्रतिवेदन अनुसार जिल्लाको करीब १०३४.१ हेक्टर क्षेत्रफल र १, ५९,२९,०१५ घन मीटर आयतन पहिरोले ओगटेको छ ।

पहिरोको संख्याको हिसाबले मुदी, रुम, लुलाङ्ग क्रमशः पहिलो, दोश्रो र तेश्रो बढी प्रभावित मा पर्दछन् भने पहिरोको लम्बाई, क्षेत्रफल र आयतनका आधारमा पहिरोले प्रभावित साबिकका दश गा.वि.स. हरुमा क्रमशः गुर्जा, मुदी, लुलाङ्ग,वेगखोला, निस्कोट,पात्लेखेत,भूरुङ्ग तातोपानी, नारच्याङ्ग, कुइनेमंगले र पुलाचौर रहेका छन् । उक्त अध्ययन पछि पनि थप पहिरोहरु बग्ने क्रम बढेको छ जसअनुसार भकिम्ली, ओखरबोट, पाखापानी, दोवा, बरन्जा गा.वि.स.हरु पहिरोको चपेटामा परेका छन् । २ बर्ष अघि बैशाख १२ गते आएको विनासकारी भूकम्प पश्चात्को श्रावण महिनामा परेको सघन मनसुनी बर्षाका कारण मुना र मुदी गा.वि.स.मा पहिरो गई ६ जना स्थानिय जनताहरुको दुखद निधन र सयौ भेडाबाख्रा तथा चौपाया एवं करोडौंको भौतिक सम्पत्तीको क्षति भयो । यसरी हरेक बर्षजसो प्राकृतिक कारणबाट हुने पहिरोको क्षतिको अवस्था भयाबह छ ।

त्यस्तै २०७३ भदौ र असोजमा आएको विनासकारी बाढीले साबिक बेग खोला गा.बि.स.को बांसबोट र बेगखोलामा १ जनाको मृत्यु र १२ घर पहिरो एवं खोलाले बगायो भने २० भन्दा बढी घरधुरी विस्थापित हुन पुगे । २०७४ श्रावण १७ गते देखि परेको अबिरल बर्षाले साबिक पात्लेखेत गा.बि.स.को वडा नं. ३ र ४ हाल बेनी न.पा. १० को बान्द्रेखाल्टी पहिरोले ३ वटा घर पहिरोले बगाइसकेको र करीब ६० घरधुरी पहिरोको जोखिममा रहेको अवस्था छ ।
म्याग्दीमा बाढी र पहिरो बढी हुनुका अन्तर्निहित कारणहरुः
छोटो समयमा हुने अधिक मनसुनी बर्षा, भूकम्पिय कम्पन तथा भौगर्भिक हलचलले गर्दा यहाँको जमिन तथा भिराला पहाडहरु चर्किने, भास्सिने र पहिरोको रुपमा खस्ने गर्दछ । कतिपय स्थानमा सुक्खा मौसममा समेत पहिरो जाने गरेको उदाहरणहरु (साबिक पाखापानी ९, रायखोरको पहिरो,पाखापानी २, औलको पहिरो, राम्चेको पहिरो आदि) भेटिन्छन् ।
यस जिल्लामा भूक्षय, पहिरो र बाढी जस्ता प्रकोपहरु बढ्नुमा जति यहाँको भिरालो भूबनोट, बलौटे, गेगर र चुनढुंगा एवं कमेरोयुक्त माटो, कमजोर जमिन, भूमिगत पानीका श्रोत तथा मुलहरु, गहिरिएर बगेका खोला तथा नदीहरु जिम्मेवार छन् लगभग त्यतिकै हाराहारीमा मानवजन्य क्रियाकलापहरु पनि बाढी र पहिरोका कारण बनेका छन् । यसमा खासगरी अनुपयुक्त भू उपयोग, वन जंगल, जलश्रोत लगायतका प्राकृतिक श्रोतहरुको विनास तथा कमजोर व्यवस्थापन, भूसंरक्षण एवं वातावरणीय पक्षलाई बेवास्ता गरी संचालन गरिने विकास निर्माण कार्यहरु र भलपानीको व्यवस्थापन नहुनु एवं जनचेतनाको कमीका कारण भएका अन्य मानवीय क्रियाकलापहरुका कारणले प्राकृतिक रुपमा हुने भू क्षयलाई बढाई भू क्षय, पहिरो र बाढीको समस्यालाई झनै बढाएकोे छ । भूक्षयको कारण बर्सेनी खेतवारीको मलिलो माटो बगाई कृषि जमिनको उत्पादकत्वमा ह्रास ल्याएको छ भने पहिरो र बाढीको कारण खेतीयोग्य जमिन र बिकासका पूर्वाधारको बिनाश तथा जनधनको क्षति गरी स्थानिय जनता आक्रान्त बनेकाछन् ।
परापुर्व कालदेखि यहाँका मानव गाउँ बस्ती, बजारहरु पनि प्रायः ठूला चट्टानयुक्त पहाड माथि वा कतै अग्लो पहराको मुनितिर, कतै कुनै संरक्षण र सुरक्षाको उपाय नअप्नाइएको नदी तथा खोलाका किनारहरुमा जोखिम मोलेरै बस्ने कारणले गर्दा जोखिमले बढेको देखिन्छ । त्यसै गरी विकासको गतिसंगै शुरु भएको डोजर, एकस्साभेटर प्रयोग गरी ईन्जिनियरिङ डिजाइन विना जथाभावी ग्रामिण सडक खन्ने अभियानले गर्दा पनि भूक्षय, पहिरो र बाढीका समस्याहरु अत्यधिक रुपमा बढेका छन् ।

यसले गर्दा म्याग्दीका माथिल्लो जलाधार क्षेत्रका गाउँबस्ती र जमिनहरुमा भूक्षय, पहिरो जाने र तल्लो तटिय क्षेत्रमा माथिबाट ठूलो मात्रामा बगेर आउने माटो, ढुंगा, गेगर, रुखबिरुवा आदिले गर्दा कालीगण्डकी, म्याग्दी र राहुघाट खोलामा पानीको आयतन अत्यधिक बढ्न जाने कारणबाट म्याग्दी जिल्लाका महत्वपूर्ण गाउँबस्ती, बजारहरु र जिल्ला सदरमुकाम बेनी बजार समेत जोखिममा छन् ।
विगतको त्रासदी र भूकम्पले गर्दा बढोत्तरी भएको पहिरोजन्य समस्याहरुः
म्याग्दी जिल्लामा विगत बर्षहरुमा पहिरोले पुर्याएको मानवीय तथा भौतिक क्षतिलाई हेर्ने हो भने पनि हाम्रो आँङ सिरिङ्ग हुन्छ । उदाहरणका लागि वि.सं. २०४५ सालमा निस्कोट गा.वि.स.को छरछरेको पहिरो खस्दा १०९जनाको दुखद निधन भएको र म्याग्दी नदी समेत थुनिएर माथिल्लो र तल्लो तटीय क्षेत्रमा करोडौंको भौतिक संरचनाहरुको विनास भएको थियो ।

त्यस्तै गरी भगवती गा.वि.स. वडा नं. २ बैसरीमा वि.सं. २०५२ सालमा राम्चेको पहाडबाट पहिरो खसेर ५ घरहरुमा क्षति पुगेको थियो भने २०५५ सालमा भुरुङ्गतातोपानीमा गएको पहिरोले कालीगण्डकी नदी ७ घण्टासम्म थुनिएर माथिल्लो र तल्लो तटीय क्षेत्रका बासिन्दाहरु त्रसित बन्नु परेको थियो । त्यसै गरी भकिम्ली वडा नं. ९ तोराखेतमा पहिरो गई १९ घरधुरी विस्थापित भएका थिए भने सोही गा.वि.स. वडा नं. ७ मा आ.व. २०६९।७० मा दुधे खोला मुसुङ डोले ग्रामिण सडक खन्दा फालिएको माटोबाट श्रृजित पहिरोले भकिम्ली ७ मा दुई जना बृद्धबृद्धाहरुको अकालमा ज्यान गएको थियो ।

अहिले पनि यस जिल्लाका साबिक पात्लेखेत गा.वि.स.को वडा नं. ३ र ४ मा रहेको बान्द्रेखाल्टी पहिरो, ओखरबोट ९को जुकेपानीको पहिरो, पाखापानी वडा नं. ९ रायखोरको पहिरो, पाखापानी २, औलको पहिरो, बरन्जा ३,४,५ को खर्सुपानीको पहिरो, अर्मन नेटाको पहिरो, कुइनेमंगले ५, चौरखानीको पहिरो, पुलाचौर चिप्लेटीको पहिरो, शिख वडा नं. १ घट्टे खोलाको पहिरो, झीं वडा नं. १—७ को घ्याङग्री खोलाको पहिरो, २०६९ साल श्रावण महिनामा गएको दोवा, भुरुङ्गतातोपानी, घार गा.वि.स.हरुमा गएको पहिरोहरु र २०७२को विनासकारी भूकम्पका कारण पहाड चर्केर मिति २०७२ जेष्ठ १० गते गएको राम्चे वडा नं. ९ को काफल डाँडाको बिशाल पहिरोले विस्थापित भएका २७ समेत सयौं घरधुरीहरु नराम्ररी प्रभावित भएका र भविष्यमा अरु थप प्रभावित र विस्थापित हुन सक्ने अवस्था विद्यमान छ ।

राम्चेको पहिरोग्रस्त स्थलमा बेलैमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र जिल्ला भूसंरक्षण कार्यालयको प्रमुखको हैसियतले यस पङिक्तकार तथा कार्यालयका सवइन्जिनियर अनि पत्राकार र स्थानिय समेतको टोलीले स्थलगत निरीक्षण गरी तुरुन्तै बस्तीलाई स्थानान्तरण गर्ने सुझबुझपूर्ण निर्णय गरी तत्काल कार्यान्वयन गरिएकोले पहिरोबाट कुनै मानवीय क्षति हुन पाएन र १६ घण्टा सम्म थुनिएको कालीगण्डकीको बहावले पनि बेलैमा अप्नाइएको सजगताका कारण कुनै प्रकारको मानवीय क्षति हुन पाएन । त्यस्तै ओखरबोट ८ र ९ मा विगत बर्षदेखि नै बढिरहेको पहिरो क्षेत्रमा २०७२ बैशाख १२ गतेको भूकम्प र पटक पटकका पराकम्पन पश्चात् त्यहाँको कमजोर जमिन हल्लिने, धाँजा फाट्ने तथा बस्ती नै जोखिममा परेको अवस्था छ भने सोही क्षेत्रको नूनथलाको पहाड धाँजा फाटेर पहिरोको रुपमा खस्दा नूनथलाको झोलुङ्गेपुल बगाई लग्नुका साथै ओखरबोट १ फूलबारीमा रहेको अर्को झोलुङ्गेपुल बगायो भने फूलबारीको बस्तीमा समेत बाढी र खोलाको कटानीले बर्षेनी जोखिम बढाएको छ । यसप्रकार पहिरोले प्रभावित स्थानहरुमा बढेको जोखिम र यसले म्याग्दीको जनमानसमा पारेका असरहरु बयान गरेर सकिने स्थिति छैन । समग्रमा भन्नु पर्दा म्याग्दी जिल्लाका विभिन्न ठूला पहिरोग्रस्त स्थानहरुको घरधुरीको आँकलन गर्दा करीब एक हजारभन्दा बढी घरधुरीका ६००० जनताहरु पहिरोको जोखिममा रहेका छन् ।

अबको बाटो अर्थात् सुरक्षाका लागि गर्नुपर्ने मुख्य कार्यहरुः
अब संधै जोखिम मोलेर नदी, खोलाका किनाराहरु, पहाडका खोंच, पहराको मुनि र पहिरोग्रस्त क्षेत्रको तल र माथितिर बसोवास गरेका बस्तीहरुलाई नेपाल सरकारको तर्फबाट दीर्घकालिन योजना बनाएर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, जिल्लाको भूबनोट र पहिरो जाने अत्यधिक संभावना भएको हुनाले जिल्लाको संरक्षण गुरुयोजना बनाउने र तद्अनुरुपका संरक्षणका कार्य कार्यान्वयनका लागि आवश्यक बजेटको व्यवस्था, सामान्य संरक्षणका उपायहरु अप्नाएर बस्न सकिने स्थानहरुमा नियमित संरक्षणका कार्यहरु गर्ने गरी यथोचित बजेटको व्यवस्था गर्नुपर्ने, संरक्षण बिरोधी मानवीय क्रियाकलापहरु जस्तैः जथाभावी डोजर लगाएर सडक खन्ने नाउँमा भिराला पहाडहरु अस्थिर बनाउने कार्यहरु तत्काल रोक्नुपर्ने, अव्यवस्थित ढंगले बढेको शहरीकरणलाई व्यवस्थित गराउनुपर्ने, नदी र खोलाहरुको व्यवस्थित तटबन्धन गरी प्राप्त हुने जग्गामा व्यवस्थित बस्ती विकास गर्ने र सडक बनाउँदा हरियाली एवं संरक्षणमैत्री दिगो विकासको अवधारणालाई अनिवार्य रुपमा लागू गर्नुपर्दछ । विनाशकारी भूकम्पले भिराला पहाड र भीरहरु धाँजा फाटेको, चर्केको र विगतमा सक्रिय भएका ठूला पहिरोहरुमा समेत थप धाँजा फाट्ने र चर्कने भएको हुँदा बर्षात्को अवधिमा ति जोखिमयुक्त स्थानहरुमा पहिरोजन्य जोखिम र विपद् नआउला भन्न सकिंदैन । तसर्थ त्यस्ता जोखिमयुक्त स्थानका जनताहरुलाई खासगरी बर्षात्को समयमा बढी सजग हुन प्रेरित गर्ने र सुरक्षित हुन आवश्यक मिलाउन जरुरी देखिन्छ ।
देश संघीय संरचनामा अगाडि बढिसकेको र म्याग्दीमा स्थानिय तहको चुनाब भई जनप्रतिनिधि समेत आइसकेको अवस्थामा अबका नगर र गाउँ विकासका योजनाहरु संरक्षणमा आधारित हुनु पर्छ र बजेट विनियोजन गर्दा जिल्लाको भूगोलको संबेदनशिलतालाई ध्यान दिई बाढी, पहिरो न्यूनिकरण र रोकथाम गर्ने कार्यलाई उच्च प्राथमिकता दिई कार्यक्रम तथा बजेट विनियोजन गर्न जरुरी छ । तर २०७४।७५को कार्यक्रम तथा बजेट विनियोजनको विवरण हेर्दा म्याग्दीका स्थानिय तहको यसतर्फ उचित ध्यान पुगेको पाइएन ।
त्यसैले, पहिरोको पर्यायको रुपमा रहेको म्याग्दीमा भविष्यमा आउन सक्ने बाढी, पहिरोजन्य विपद्बाट बच्न “प्राकृतिक विपद् विगुल बजाएर आउँदैन, तसर्थ बेलैमा सचेत र सुरक्षित बनौं” भन्ने तथ्यलाई सबै म्याग्देली जनताहरुले मनन् गरी सुरक्षित जीवन बाँच्नका लागि उच्च सतर्कता अप्नाउन जरुरी छ । भविष्यमा हुन सक्ने विपदबाट बच्न जोखिमयुक्त स्थानमा बस्न बाध्य म्याग्देलीहरु, यहाँका सरकारी निकायहरु, स्थानिय तहका जनप्रतिनिधीहरु, राजनैतिक दलहरु, पत्राकार, शिक्षक, बुद्धिजिवी, उद्योगी, व्यापारी लगायत सबै वर्ग र समग्रमा नेपाल सरकार नै बढी सजग, सचेत र जनधनको क्षति नहुने उपायको खोजीमा लाग्न अपरिहार्य भैसकेको छ ।

-पौडेल जिल्ला भूसंरक्षण कार्यालय म्याग्दीका अधिकृत हुन् ।