म्याग्दीमा गत वर्षका ७ सय चेक साट्न बाँकी

घनश्याम खड्का /बेनी
साउन ७ गते । DSC_0427आर्थिक वर्षको अन्तिम मध्य रातसम्म काटिएका ७ सयभन्दा बढी चेक बैंकबाट साटिएका छैनन्।

चेक बनाउने अख्तियारी पाएको कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) ले भुक्तानी गर्न स्वीकृति दिएका र नेपाल बैंकले जारी गरेका चेकहरू ‘भुक्तानी पाउने’ ग्राहकसम्म पुगेको छैन।
विकासे कार्यालय र कोलेनिकाले विनियोजित बजेटअनुसारको रकम बराबरको चेक काटिए पनि सेवा प्रदायक कार्यालय र योजना निर्माणमा संलग्न समूहबीच बिल र कार्यसम्पादन प्रतिवेदनमा अल्झेकाले भुक्तानी रोकिएको हो।
नेपाल बैंक शाखाका अनुसार पुँजीगततर्फ २ सय ५२, चालुतर्फ ४ सय १७, विविध शीर्षकका ११ र धरौटीसम्बन्धी ३ वटा जारी भए पनि भुक्तानी लिन चेकबाहक आएका छैनन्।
‘कोलेनिकाबाट अघिल्लो आर्थिक वर्षका ३ सय चेक साउन २ मा मात्र प्राप्त भए पनि सेवाग्राही भुक्तानी माग्न अझै आएका छैनन्,’ बैंकका शाखा प्रबन्धक रमेश न्यौपानेले भने, ‘चेक साट्ने म्याद एक महिना हुन्छ तर वर्षको अन्तिममा ठूला पार्टीलाई मात्र चेक दिइनु र ब्याज नपाउने चल्ती खातामा रहने पैसा लिन नआउनु अनौठो नै मान्नुपर्छ।’
सबै सरकारी कार्यालयका चालु, पुँजीगत र विविध खाताहरू ट्रेजरी सिंगल एकाउन्ट (टीएसए) मार्फत एकद्वार प्रणालीअन्तर्गत महालेखा नियन्त्रण कार्यालय मातहतको कोलोनिका नियन्त्रणमा रहन्छ।
हरेक कार्यालयका चेक कोलेनिकाले मात्र काट्न सक्छ। ती सबै चेकहरू सरकारी कारोबार गर्ने बैंकको सिस्टममा प्रविष्ट गराउनुपर्छ।
त्यसैले आर्थिक वर्षको अन्तिम रात कोलेनिकाका र बैंकका कर्मचारीलाई बजेट सक्काउने लठारो परेको हो। पुँजीगततर्फको ६ करोड ४१ लाख रुपैयाँ बढी भुक्तानी दिनुपर्ने चेकहरू असार मसान्तमा कोलोनिका र बैंकका कर्मचारीले राति १ बजेसम्म चेक काट्ने र सिस्टममा प्रविष्ट गरेका हुन्।
कुनै आयोजनाको मुआब्जा रकम, दैवी प्रकोपको रकम, कुनै कामदार विदेशमा मृत्यु भएमा परिवारलाई दिने बिमा रकम आदि प्रशासन कार्यालयमा विविध शीर्षकमा आउँछ।
यस्तो रकम झिक्न आर्थिक वर्षको अन्तिम दिन कुर्नुपर्ने होइन तर यहाँ यस्ता विविध शीर्षकका ११ वटा चेक जारी भएका छन्। सबै कार्यालयका कर्मचारी विभिन्न कार्यक्रम सञ्चालन गर्न पेस्की झिक्छन् तर बिलभरपाई फुर्सदमा फस्र्योट गराउँदा ‘त्रुटि’ भेटिने डरले कोलेनिका व्यस्त रहेको मौका छोपी चेक स्वीकृत गराउन लाग्ने कोलेनिकाका सूचना अधिकृत नारायण सुवेदीले बताए। कान्तिपुर दैनिकबाट