म्याग्दीका स्थानीय तहमा एक अर्ब ६७ करोड विनियोजन

विकल्प न्यूज/बेनी
साउन ४ गते ।
म्याग्दीका स्थानीय तहमा आर्थिक वर्ष २०७४/७५ का लागि डेढ अर्ब रुपैयाँ भन्दा बढीको बजेट विनियोजन भएको छ ।

अधिकार सम्पन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पहिलो पटक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् । बेनी नगरपालिका र पाँच वटा गाउँपालिकाले कुल एक अर्ब ६७ करोड ३५ लाख ५८ हजार रुपैयाँ बजेट बिनियोजन गरेका छन् । स्थानीय सरकारको रुपमा हेरिएको स्थानीय तहले असार मसान्त सम्म नगर तथा गाउँसभा मार्फत नीति,कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । स्थानीय तहको आवश्यकता र नागरिकहरुको अपेक्षा अनुसार नीति,कार्यक्रम र बजेट निर्माण गरिएको जनप्रनिधिहरुले बताएका छन् ।old vdc new wardsकेन्द्रिय अनुदानमा आश्रीत बजेटमा आन्तरिक आम्दानीको हिस्सा न्युन छ । केन्द्र सरकारले उपलब्ध गराउने समानिकरण र सर्शत अनुदान एक अर्ब ५५ करोड रुपैयाँ छ । स्थानीय तहले पूर्वाधार निर्माणका योजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेका छन् । चालु बजेट शिक्षक कर्मचारीको तलबभत्ता र प्रशासनीक काममा खर्च हुनेछ भने पूँजीगत बजेट विकास आयोजना तथा कार्यक्रम सञ्चालनमा परिचालन हुन्छ ।

अर्थ मन्त्रालयले सिधै स्थानीय तहको खातामा बजेट पठाउने व्यवस्था छ । गाउँ नगर सभाले बजेट, नीति तथा कार्यक्रम पारीत गरेपछी खर्च गर्ने बाटो खुलेको छ । मंगला, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाले आफ्नै स्वामीत्वमा रहने गरी डोजर खरिद गर्न बजेट विनियोजन गरेका छन् । धौलागिरी गाउँपालिकाले दुर्गम र बिकट गुर्जालाई यातायात सञ्जालसंग जोड्न लुलाङ गुर्जा सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि बजेट बिनियोजन गरेको छ ।

बेनी नगरपालिकाल ३७ करोड ७८ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । चालुतर्फ २२ करोड ३० लाख ८६ हजार र पँुजीगततर्फ १५ करोड ४८ लाख रुपैयाँ रहेको छ । कुल बजेट मध्य एक करोड पाँच लाख ४७ हजार रुपैयाँ आन्तरिक आम्दानी रहेको छ । नगरपालिकाको समग्र पूर्वाधार विकास, नगरबासीको आयस्तर वृद्धि र सुशासनलाई प्राथमिकता दिइएको प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । beni nagarpalikaबेनी देखि सबै वडासम्म पक्की सडक, आधारभुत खानेपानी सुबिधा, डम्पीङ साईट निर्माण, विपद् व्यवस्थापन, कृषि, पर्यटन, ब्यापार प्रर्वद्धन, कला, संस्कृती र ऐतिहाँसीक स्थलहरुको संरक्षणमा जोड दिइएको छ ।

एकिकृत सम्पत्ती कर लागु गर्ने नीतिगत निर्णय गरेको नगरपालिकाले व्यवसाय, घरभाडा र सवारी करको लागि लगत संकलन गर्ने भएको छ । एक वडा एक उत्पादन, रावण पार्क निर्माण, एक घर एक बिरुवा जस्ता कार्यक्रम सार्वजनिक गरेको छ ।

बेनी–पात्लेखेत सडक कालोपत्रे गर्ने योजनालाई प्राथमिकता दिएको नगरपालिकाले खेलमैदान, सिँचाई कुलो निर्माण, मर्मत, तरकारी र सुन्तला खेती प्रर्वद्धनका लागि सहयोग पुग्ने कार्यक्रम तय गरेको छ । नगरपालिका मार्फत सञ्चालन हुने पूर्वाधार योजनामा १५ प्रतिशत नगद र १५ प्रतिशत श्रमदान सहभागीता अनीवार्य हुनुपर्ने व्यवस्था गरेको छ । बैङकीङ पहुँच विस्तारका लागि वित्तिय साक्षरता र सहकारी प्रर्वद्धनका लागि कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

जनप्रतिनिधिको नेतृत्व तथा क्षमता विकासका लागि तालीम, प्रशिक्षण र भ्रमणको कार्यक्रम बनाएको छ । कटानको जोखिममा रहेका बस्तीको संरक्षण र क्याम्पसचोकको बाढी नियन्त्रण योजनालाई प्राथमिकता दिइएको छ ।
धौलागिरीको गाउँपालिकाले कुल २६ करोड ९३ लाख २७ हजार रुपैयाँ बजेट बिनियोजन भएको सार्वजनिक गरेको छ । सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतीकरण, पर्यटकीय स्थलमा पूर्वाधार निर्माण लगायतका योजनालाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।dhaulagiri gaupalika

नीति तथा कार्यक्रममा गाउँपालिकाको सात वटा वडाको सम्भावनाको आधारमा एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । लुलाङ–गुर्जा सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि आठ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

छिमेकी गाउँ लुलाङदेखि आठ घण्टा जंगल र पहाडको बाटो हिडेपछि पुगीने अल्पसंख्यक छन्त्याल समुदायको बसोबास रहेको गुर्जा गाउँलाई यातायात सञ्जालसंग जोड्न वडा अध्यक्ष झकबहादुर छन्त्यालले सुरुङमार्ग र केबलकार निर्माण सम्भाव्यता अध्ययन गर्न प्रस्ताव गर्नुभएको थियो ।

यसैगरी मंगला गाउँपालिकाले २८ करोड ९१ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

mangala gaupalikaआम्दानीतर्फ वित्तिय समानीकरण अनुदान १३ करोड ६ लाख १८ हजार, सर्शत अनुदान ९ करोड ११ लाख ६५ हजार र आन्तरिक आम्दानी १५ लाख ५० हजार रुपैयाँ रहेको छ । धौलागिरी र मंगला गाउँपालिकाले भौतिक पूर्वाधारका योजनामा उपभोक्ताले कुल लागतका दश प्रतिशत रकम बराबरको श्रमदान अनिवार्य गर्नुपर्ने नीतिगत व्यवस्था गरेका छन् ।

विकास निर्माणमा जनसहभागीता जुटाउने र समुदायमा विकासप्रति अपनत्वको भावना जगाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा रहेका खनीज सम्पदाको अन्वेषण, मंगला चक्रिय पर्यापर्यटन मार्ग, लघुव्यवसायको सम्भाव्यता अध्ययनका साथै एकिकृत सामाजिक परिवर्तनका लागि प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रबिधिको प्रयोग र प्रत्येक टोलमा स्वास्थ्य परिक्षण केन्द्र स्थापना गरेर महिनाको एक पटक गाउँमै सेवा दिने र आयआर्जनका लागि टिम्मुर, चिराईतो र सतुवाको व्यवसायिक खेती विस्तार गर्ने योजना रहेको छ ।
गाउँपालिका क्षेत्रको सडक निर्माण कार्य तथा स्तरवृद्धि योजनालाई सस्तो र व्यवस्थित बनाउन र स्तरवृद्धि कार्यका लागि आफ्नै डोजर खरिद गर्न एक करोड एक लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन भएको छ । गाउँपालिका भित्र वातावरणमैत्री चार वडा नमुना हरित सडक योजना निर्माणका लागि ९७ लाख रुपैयाँ बिनियोजन भएको गाउँ कार्यपालिकाका प्रबत्ता कबिन्द्र रोकाले बताउनुभयो ।malika gaupalikaमालिका गाउँपालिकाले २५ करोड ५७ लाख ८३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सरकारको समानीकरण र ससर्त अनुदान २४ करोड ८० लाख ४१ हजार, आन्तरिक स्रोतबाट २९ लाख ४२ हजार र संघिय पूर्वाधार निर्माण कार्यक्रम अन्तरगत ४८ लाख रुपैयाँ बजेट सार्वजनिक भएको छ ।

पर्यटन, कृषि, ग्रामिण सडक, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा, शिक्षा स्वास्थ्य र गाउँपालिकाको केन्द्रको पूर्वाधार निर्माणका लागि बजेटमा प्राथमिकता दिइएको अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।
बस्ती, वडा स्तमा जनसहभागिता र छलफल गरि प्राप्त भएका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिइएको रोकाले बताउनुभयो । गाउँपालिकाको स्रोत साधनलाई प्रभावकारी परिचालन गरी विकासको उचाईमा पु¥याउने परिकल्पना गरिएको छ ।raghuganga gaupalikaरघुंगा गाउँपालिकाले आर्थिक वर्ष २०७४७५ का लागि २४ करोड ८५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटले सडक, शिक्षा, पूर्वाधार विकास र खानेपानीलाई प्राथामिकता दिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।

विनीयोजित बजेटमध्ये केन्द्र सरकारबाट वित्तीय समानीकरणमा १५ करोड ८ लाख, सर्शत अनुदानतर्फ ९ करोड ६७ लाख ९३ हजार प्राप्त हुनेछ । गाउँपालिकाको आन्तरिक आय १० लाख रुपैयाँ अनुमान गरिएको गाउँ कार्यपालिकाका प्रवक्ता जीवन मल्लले जानकारी दिनुभयो ।
बजेटमा आ.ब २०७३÷०७४ को अन्त्यमा फ्रिज नहुने गर प्राप्त भएको ४८ लाख रुपैयाँ पुंँजीगत अनुदानलाई पनि बजेटमा समावेश गरिएको छ । गाउँपालिका अध्यक्ष भण्डारीले पाँच बर्षभित्र समृद्ध रघुगंगाग गाउँपालिका निर्माणको अभियान सुरु भएको भन्दै रोजगारीमुलक कार्यक्रमलाई बढी प्राथामिकता दिईएको बताउनुभयो ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधीहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । झिँ दग्नाम सडक निर्माण, कुईनेखानी, दर्मीजा लगायतका बस्तीलाई सडक सञ्जालसंग जोड्ने र निर्माण भएका सडकको स्तरवृद्धी गर्ने योजनालाई प्राथमिकता दिएको रघुगंगा गाउपालिकाले आफ्नै डोजर खरिद गर्ने भएको छ । गाउँपालिकाको मातहत रहनेगरी डोजर खरिद गर्न एक करोड बिस लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।annapurna gaupalikaअन्नपूर्ण गाउँपालिकाले जलविद्युतमैत्री वातावरण निर्माण गर्ने संकल्प सहित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँसभामा प्रस्तुत गरिएको नीति, कार्यक्रम तथा बजेटमा समृद्ध र नमुना गाउँपालिका निर्माणका लागि जलविद्युत, पर्यटन र कृषिलाई प्राथामिकता दिईएको छ । २३ करोड, २९ लाख ६२ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै उपाध्यक्ष केशमाया मगरले जलविद्युतमैत्री वातावरणमा जोड दिईएको बताउनुभयो । विनीयोजित बजेटमध्ये केन्द्र सरकारबाट वित्तीय समानीकरणमा १४ करोड ४ लाख, सशर्त अनुदानतर्फ ८ करोड २१ लख ९३ हजार प्राप्त हुनेछ ।

गाउँपालिकाको आन्तरिक आयबाट ४४ लाख ६५ हजार र जनसहभागिता १० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । बजेटमा आ.ब २०७३÷०७४ को अन्त्यमा फ्रिज नहुने गर प्राप्त भएको ४८ लाख रुपैयाँ पुजीगत अनुदानलाई पनि बजेटमा समावेश गरिएको छ ।
गाउँपालिका अध्यक्ष डमबहादुर पुनले नमुना गाउँपालिका बनाउनका लागि जलविद्युतमा ‘उज्यालो घर, अन्नपूर्णको भर’ कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । गाउँपालिकाका दलित विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि ५० प्रतिशत सहयोग, हरेक वडामा सुत्केरी तथा गर्भवति महिलाका लागि ५० हजार रुपैयाँ आकस्मिक कोष स्थापना भएको छ ।
सुकुम्बासीलाई उचित वासको व्यवस्था र ८० बर्ष भन्दा माथिका बृद्धबृद्धाहरुलाई चाडपर्व मनाउन एकबर्षमा एकपटक ५ हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रम पनि गाउँपालिकाले अघि सारेको छ । हेभी ईक्युभमेन्ट प्रयोग गर्न गाउँपालिकाबाट अनुमती लिनुपर्ने र आफ्नै डोजर खरिद गर्ने निर्णय गरेको छ ।