बेनी–जोमसोम सडक रातको समयमा बन्द हुने

विकल्प न्यूज/बेनी
साउन ३ गते ।
पहिरोको जोखिमका कारण बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ ।

पहिरोको जोखिम रहेको सडकमा भौतिक र मानवीय क्षति हुन सक्ने खतरालाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक शिवप्रसाद पाठक र यातायात व्यवसायी समितिका प्रतिनिधिको बैठकले रातको समयमा सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो ।sadak problem 1यातायात व्यवसायी संगको छलफलपछि साउन ५ देखि भदौ १५ गतेसम्म बेनी नगरपालिका ९ गलेश्वर देखि अन्नपूर्ण गाउँपालिका ३ दाना खण्डको सडकमा रातमा सवारी सञ्चालन नगर्ने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बेनीबाट जोमसोम जाने सवारी साधनलाई बेलुकी ५.३० बजेपछि गलेश्वरमा र मुस्ताङबाट बेनी आउने सवारी साधनलाई ६ बजे भुरुङ तातोपानीमा रोकीने जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुईतर्फबाट बिहान ५ बजेपछि मात्र सवारी साधन छुट्नेछन् । मुस्ताङ जाने सवारी साधन ५.३० बजेभित्र गलेश्वरबाट अगाडी र मुस्ताङबाट बेनी आउने सवारी साधन बेलुकी ६ बजे भन्दा अघिनै भुरुङतातोपानीबाट छुट्नुपर्नेछ ।

गलेश्वरदेखि भुरुङ तातोपानी खण्डको सडकमा पहिरो र ढुङ्गाहरु खसिरहने हुँदा दुर्घटनाको जोखिम भएकाले रातको समयमा सवारी सञ्चालन नगर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभयो । आपतकालीन अवस्था बाहेकको समयमा निर्णय लागु हुने प्रशासनले जनाएको छ ।

केही दिन अघि गुडीरहेको गाडीमा सडक माथिबाट ढुङ्गा खसेर चालकलाई चोट लागेको थियो । कालीगण्डकी नदीको किनारै किनार रहेको यो सडकको अधिकांश भाग अक्करे भिरको फेदीमा पर्छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने यो सडक भएर स्थानीय बासीका साथै ठूलो संख्यामा तिर्थयात्री र पर्यटक ओहोरदोहोर गर्छन् ।