चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज
असार १४ गते ।
किशोरवय भन्न मिल्ने उमेरमा पाइलो नराख्दैदेखि घरबाट पर बस्ने वानी लागेको हो । दशवर्षको कलिलो उमेरदेखि नै पठनपाठनको निहुँमा डेरा बस्न थालिएको हो । स्वअभ्यास र अनुभव मानिसको सबभन्दा ठूलो गुरु मानिन्छ । डेराको बसाई कहिल्यै पनि सुविधाजनक हुदैन भन्ने कुरा मेरो अनुभवले भन्छ । डेरामा बस्नेहरुले मनफुकाएर बोल्ने र धकफुकाएर हाँस्ने वानी बिर्सन सिक्नुपर्छ ।
भ¥याङमा तलमाथि गर्दा पनि आवाज घरपतिको कानमा पर्छ कि भनेर विरालोको चाल पछयाउने अभ्यास गर्नुपर्छ । डेरा भनेजस्तो र रोजीछाँटी मिल्दैन । डेराको अभ्यास स्वभावतः शहरबजारतिरै हुने भएकोले नेवारका गाइगोठ पनि कुरियो, ज्यापुको छिडी पनि ढुकियो ।
उमेरले छैटों दशकको नेटो काट्न लागिसक्दा पनि बालपनदेखि सुरु भएको त्यो अभ्यासले साथ छोडेको छैन । बिरालोले ्बच्चा ठाम सारेझैं एक ठाउँबाट अर्को ठाउँमा, एक घरबाट अर्को घरमा र एउटा कोठाबाट अर्को चोटामा झिटीगुन्टा सार्ने नियतिले निरन्तरता पाएकै छ । त्यही निरन्तर सिलसिलाले तीनवर्ष अगाडि पोखरा ल्याइपु¥याएको हो ।
“प्राकृतिक सुन्दरताको धनी” भनेर चिनिने पोखराको मनमोहक आकर्षणसँग मेरा आँखा, मन र गोडाहरु भने उतिसारो लोभिदैनन् । सायद, मेरो जिन्दगीको निरसपनको प्रतिच्छाँया होला त्यो ! तीनवर्ष लामो अवधिमा जम्मा जम्मी एक÷एक पटक वेगनास तालको डुङ्गा शयर र अल्ट्रलाइटमार्फत माछापुच्छ«ेको फन्को मार्नु बाहेक दृश्यावलोकनकै लागि भनेर कुनै शारीरिक कष्ट उठाइएको छैन ।
त्यस्तो रहरको अनुभूति नै हुदैन । नब्बे प्रतिशत समय घरकोठा भित्रै बितेको छ । हो, घरभित्र बसे पनि गालीखाने विज्याई गर्न भने छोडिएको छैन । अधिकांश समय पुस्तकहरुसँग खेलेरै बित्छ । स्वभावतः पुस्तकले नयाँ नयाँ ज्ञानगुनसँग परिचय बढाइदिन्छ । देखे, जानेर बुझेको कुरा सम्प्रेषण विनिमय गर्ने हुटहुटी स्वाभाविक मानव प्रवृत्ति हो ।
त्यसले लेख्न कुतकुत्याउँछ । उसो त म आफू अल्छीको अब्बल पर्याय नै हुँ । लेख्नुपर्छ भनेर लेखिहाल्ने वानी भैदिएका भए पोखराको मेरो एकान्तबासको अवधि २/४ वटा पुराणहरु लेखिभ्याउन पुग्ने समय हो ।
मेरो स्वभावानुकूल मेरो कलम पनि सुस्त र जुम्सो छ । कुनै विषयले कुतकुत्यायो भन्दैमा कलम उज्याइहाल्ने गरिदैन । उकुसमुकुसको स्थिति सिर्जना नभएसम्म ओकल्ने जाँगर चल्दैन । अर्थात मैले जे लेखिटोपल्छु त्यो अजीर्णबाट मुक्तिको प्रयत्न मात्र हो । पछिल्लो दुई महिनादेखि “पितृ” सम्वन्धी शास्त्रीय मान्यता वरीपरी मेरो अध्ययन चिन्तन केन्द्रित छ । तर मेरो कलमले कागज रङ्ग्याउने जमर्को भने गरेको छैन । सायद, ओकल्नैपर्ने गरी त्यो पुरातन/सनातन परम्परा मेरो ज्ञानभण्डारमा थुप्रिसकेको छैन ! डम्पिङ्साइट“ओभरल्फो” हुन बाँकी छ !
मेरो लेखनचेष्टा गाली उत्पादक उद्यम बनेको छ भनेर स्वीकारगर्न रत्तिभर संकोच मान्नु पर्दैन । नियमित लेखनको शिलान्यास विशेष राजनीतिक मिसन अन्तर्गत भएको थियो । त्यसमा सहभागीहरुमध्ये केही उत्साही युवाहरुले आ–आफ्नो क्षेत्रमा लोभलाग्दो प्रगति गरेका पनि छन् ।
उनीहरुको जीवनले फराकिलो फड्को मारेको छ । तर आफूभने भूईको भूईमै लत्रदैओर्दै घस्रँदै छु । आरम्भस्थान छोड्न नसकेको हुनाले मेरो लेखनप्रवृत्ति पनि उस्तै छ । जहाँको तही थचारिएको छ ।
मूलतः असहमति लेखनको परिचय बनेको छ । कसैसँग आफू असहत भएपछि उः पनि आफूसँग सहमत हुनुपर्छ भन्ने के छ र ? असहमतिले सिर्जिना गर्ने परिणति अन्तर्विरोध नै त हो । विचार फरक हुँदा बहस मात्रै हुदैन, विवाद पनि हुन्छ । विवाद हम्मेसी सुमधुर हुदैन । स्वभावतः क्रिया प्रतिक्रियाहरुले गालीको रुप पनि लिन्छन् । गाली शिष्ट रहोस भनेर अपेक्षा गर्नु अव्यवहारिवादी चिन्तन हो ।
गाली खाने कर्म गरिन्छ भने गाली पचाउने क्षमताको विकास पनि गर्नै पर्छ । पुलाचौरका यादव दाजुले बेलामौकामा “एक मोहर दिए, दिनभर गाली सुन्न तयार हुने” स्थानीय साहुको प्रसङ्ग सुनाउने गर्नुहुन्छ । अर्थात गालीको मूल्य असुल भएको अनुभव अनुभूति गर्न सकियो भने गाली पनि गालीजस्तो लाग्दैन । तिक्त प्रतिक्तियाबाट कुस्त मनोरञ्जन लिने वानी लागेपछि गाली पनि श्रुतिमधुर संगीतजस्तो रुचिकर लाग्ने हुँदो रहेछ ।
पोखरामा बिताएको दिव्य तीनवर्षको अवधि आफ्नो समाज, आफ्नो धर्मसंस्कृति, परम्परा र मान्यताहरुको ईतिवृतान्त उरलझिरल पारेर हेर्ने बुझ्ने प्रयत्नमै खर्च हुने गरेको छ । सिमित र संकुचित नै भए पनि त्यो व्यसनबाट प्राप्त जानकारी र तथ्यहरुलाई वाणी दिने र निवन्धको रुपमा पोख्ने जमर्को पनि गरिएको छ ।
तीन दर्जनको संख्यामा रहेका ती छोटा निवन्धहरु वास्तवमा मैले उदरस्त गरेका सामग्रीबाट उत्पन्न अजीर्णको डकार नै भए पनि त्यसलाई पुस्तकाकार दिने रहर जागेको छ ।
अल्ट्रासाउण्डको सुविधा उपलब्ध भएको यो विज्ञानको जमानामा गर्भमै भू्रणको लिङ्ग पहिचान गरिसकेपछि “नाम जुराउने” चेष्टा गरिन्छ भने त्यसलाई “बच्चा नजन्मदै गरिएको कन्दानी बाँट्ने रहर” भनेर उडकिन मिल्छजस्तो लाग्दैन । मेरो सिर्जनाको प्रकृतिसँग मेरो परिचय छैन भन्न मिलेन । त्यसैले पुस्तकको नाम “जेठो
पुस्ता” जुराएको छु भन्नु विज्ञापन हो भनिहाल्न मिल्दैन !
“काली म्याग्दी दोविल्लामा पुलस्त्यको ढुङ्गो
त्यही ढुङ्गो पल्टी गयो, संसार भयो– बुङ्गो” ।।
स्वर्गीय “कोटघरे काहिंला” रचित सवाईको अंश हो यो । ऋषि पुलस्त्यले तपस्या गर्ने गरेको चप्लेटो ढुङ्गो वेनीको दोविल्लामा अवस्थित थियो रे ! २००८ सालको बाढीले ढुङ्गो बगायो । ढुङ्गो बगे पनि पुलस्त्यको नाम बगेको छैन ।
लोकोक्ति मरेको छैन । कृष्णा गण्डकी र गोमती नदीको सङ्गममा “पुलस्त्य–पुलह” आश्रम रहेको थियो भन्ने कुरा हिन्दू धर्मधुरन्धर डा. पाण्डुरङ्ग वामनकाँडेले आफ्नो पुस्तक “धर्मका इतिहास” मा उल्लेख गरेका छन् । श्रीमद्भागवत, महाभारत लगायतका पौराणिक ग्रन्थहरुमा पनि कालीगण्डकीको किनारातिर कतै पुलस्त्यआश्रम रहेको थियो भन्ने कुरा उल्लेख छ ।
वेनी नगरपालिका वडा न.ं ५ पुलाडाँडास्थित “पछै” नै पुलस्त्याश्रम हो भन्ने मान्यता स्थानीय समाजमा रहेको छ । पौराणिक ऋषि पुलस्त्य र उनको आश्रमको बारेमा दावी गर्दैगर्दा पुलस्त्य साँच्चै थिए कि थिएनन् ? थिए भने उनी को थिए र उनको जीवनकाल कुन हो भनेर खोजीपाँसुली गर्नु अप्राशाङ्गिक हुने कुरा भएन । हो, त्यही जिज्ञासाले “जेठो पुस्ता” नामको निवन्धलाई जन्म दिएको हो ।
चराचर जगतको सिर्जना इश्वरले गरेको हो भने पनि दावाका साथ भन्न सकिने एउटा तथ्य के हो भने देवता, भगवान वा इश्वरको न्वारान गर्ने मानिस नै हो । समीक्षात्मक दृष्टिले धर्मशास्त्रका कथनहरुको अध्ययन अवलोकन गर्ने हो भने हिन्दू धर्मसंस्कृतिले सृष्टिकर्ता भनेर मानेको देवता ब्रह्माजीको भौतिक अस्तित्वमा प्रश्न उठाउने प्रशस्त गाउँ फेला पर्छ ।
स्वयम ब्रह्माको बारेमा संशय उत्पन्न भएपछि उनका मानसपुत्र भनिएका पुलस्त्य पनि काल्पनिक पात्र हुन्की भन्ने जिज्ञासा उत्पन्न हुने नै भो । उनको बारेमा खोजीपाँसुली गर्ने जिज्ञासा उत्पन्न हुनुको कारण त्यही हो ।
शताब्दीयौंदेखि आफूलाई पवित्र पुलस्त्यपुलहाश्रमको भाग्यमानी बासिन्दा भनेर दावी गर्दै आएको परम्परामा प्रश्न उठ्ने कुराले जिज्ञासु मनहरुलाई चिमोट्नु स्वाभाविक थियो । हो, त्यही साझा मर्काले उनको ईतिवृतान्त खोज्नुपर्ने बनाएको हो । निवन्धमा परेको मूल कुरा त्यही हो ।
ब्रह्माजी काल्पनिक भए पनि पुलस्त्य यथार्थ सत्य हुन् । “बृद्धयाज्ञवल्क्य” भन्ने पुस्तकले पुलस्त्यलाई एकजना “धर्मवक्ता” मानेको छ । श्राद्धभोजन सम्बन्धमा पुलस्त्यस्मृतिको एउटा श्लोक “मिताक्षरा”मा उद्धृत गरिएको छ । सन्ध्या, श्राद्ध, आशौच र प्रायश्चित्तको सम्बन्धमा “अपरार्क”मा थुप्रै उद्धरणहरु पुलस्त्यस्मृतिबाट लिइएका छन । “स्मृतिचन्द्रिका”ले पनि पुलस्त्यको उल्लेख गरेको छ । मृगचर्म दान सम्बन्धमा “दानरत्नाकर” भन्ने पुस्तकमा पनि पुलस्त्यको उद्धरण परेको छ ।
यतिबेला पुस्तकाकारमा उपलब्ध नभए पनि पुलस्त्यस्मृतिको उल्लेख भएका अनेक ग्रन्थहरु अस्तित्वमा रहेका हुनाले कुनै जमानामा पुलस्त्य नाम गरेका विद्वान यो जगतमा थिए र उनले पुलस्त्यस्मृति नामको ग्रन्थको रचना गरेका थिए भन्ने कुरा प्रमाणित हुन आउँछ ।
अर्थात पुलस्त्य केवल पौराणिक पात्र मात्र होइनन, एकजना स्थापित ऐतिहासिक पुरुष हुन भन्नुपर्ने हुन्छ । तर हाम्रा धर्मग्रन्थहरुले भनेजस्तो पुलस्त्य पहिलो पुस्ताका मानिस हुन/होइनन भन्ने कुरा भने वीचारणीय हुन आउँछ । मानवविकासको इतिहासलाई हेर्दा मान्छेको पहिलो पुस्ता नै ज्ञानगुन, विद्याबुद्धि सम्पन्न थियो भनेर पत्याउन गाह्रो पर्छ । दोश्रो कुरा, पुलस्त्यस्मृतिले ऋषिको अस्तित्वको प्रमाण दिएजस्तै उनको जीवनकालको निक्र्योल गर्ने आधार पनि उनको त्यही पुस्तकले दिन्छ ।
संस्कृत साहित्यभण्डारमा दर्जनौं स्मृतिहरुको रचना भएको पाइन्छ । तिनीहरुमध्ये “गौतमस्मृति”लाई सबभन्दा जेठो मानिन्छ ।
गौतमस्मृतिले एक ठाउँमा मनुको उल्लेख गरेको भए पनि उद्धरण भने हाल उपलब्ध मनुस्मृतिमा भेटिदैन । पुरानै मानिए पनि भाषागत दृष्टिले मनुस्मृति गौतमस्मृतिभन्दा निकै कान्छो ठहर्छ । मिताक्षरा, अपरार्क, स्मृतिचन्द्रिका,
दानरत्नाकरजस्ता अपेक्षाकृत कान्छा पुस्तकहरुमा मात्र पुलस्त्यस्मृतिको उल्लेख भएको र उद्धरणहरु साभार गरिएको पाइने हुनाले पुलस्त्यस्मृतिको रचनाकाल इ.सं ४००–७०० भित्र कतै भएको हो भनेर मान्नुपर्ने कुरा विख्यात हिन्दू धर्मशास्त्रविज्ञ डा. पाण्डुरङ्ग वामनकाँडले आफ्नो पुस्तक “धर्मशास्त्रका इतिहास, पहिलो भाग”को पृष्ट नं.– ६१ मा उल्लेख गरेका छन ।
मथिका प्रमाणहरुले पुलस्त्य नामका ऋषि यथार्थमै थिए र उनी विद्वान थिए भन्ने कुरा प्रमाणित गर्छन । पुलस्त्यस्मृतिका रचनाकार उनै हुन भन्ने कुरा पनि सर्वमान्य छ । पुलस्त्य नामका दुई ऋषि भएको छनक कतै कहीँ पाइदैन ।
हाम्रा धर्मशास्त्रहरुले ब्रह्मापुत्र मानेका ऋषि र पुलस्त्यस्मृतिका रचनाकार एउटै हुन भन्नुपर्ने हुन्छ । त्यसैले उनको काल पुराणहरुले भनेजस्तो मानिसहरुको जेठोपुस्ता हो भनेर मान्न मिल्दैन । जसरी ब्रह्मा नामका देवताले चराचर जगतको सृष्टि गरे भन्ने कुरा अप्रमाणित कल्पना हो, त्यसैगरी पुलस्त्य पनि सृष्टिको पहिलो पुस्ताका मानिस हुन भन्ने कुरा पनि काल्पनिक ठहर्छ ।
तथ्यले उठाएको त्यही प्रश्न निवन्धको केन्द्रीय विषय हो । पुस्तकको नाम “जेठो पुस्ता” राखिनु र समाजमा स्थापित शास्त्रीय मान्यतामाथि प्रश्न उठाउने कुराले कट्टरपन्थी धर्मभिरु समाजको आलेचना खानुपर्ने विज्याई ठहर्ने निश्चित भए पनि “फतवा” जारी भइहाल्ने सम्भावना र परम्परा नभएको हुनाले गाली पचाउन मानसिकरुपमा तयार हुनु पर्याप्त होलाजस्तो लागेको छ ।