“हुलाकी दाई” को अधुरो सपना !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज
असार ६ गते ।
chandraहामी दूई भाईबीच प्रत्यक्ष भेटघाट र अन्तरङ्ग भलाकुसारी भएको ठीक महिनादिनपछि अर्थात २०७४ सालको जेष्ठ २६ गते “हुलाकी दाई” फेरि फर्केर आउन नमिल्ने अनन्तयात्राको बाटो लाग्नु भएछ ! उहाँको निधनले हरेक तीन तीन वर्षमा (एकवर्ष बिराएर) आयोजना गरिने पुलामी बानियाँहरुको कुलपूजा स्थगित भएछ ।

दाईको महाप्रस्थानको बेला राजधानीतिर बरालिँदै गरेको मलाई मलामीमा सामेल हुन नपाउँदा थकथकी लाग्नु स्वाभाविक भयो । असली नामभन्दा बढी गाउँघरतिर “हुलाकी” भनेर चिनिने सकबहादुर बानियाँ नाताले दाजु भए पनि हितैषी मित्र हुनुहुन्थ्यो, स्नेही अभिभावक हुनुहुनथ्यो र त्यो भन्दा पनि महत्वको कुरा विद्यारम्भ कालतिरको मेरो एकजना अन्तरङ्ग सहपाठी हुनुहुन्थ्यो ।

दिवंगत हुनुभन्दा एक महिना अगाडि वेनीबजारस्थित घरप्राङ्गणमा आसनी जोडेर निकै लामो समयसम्म हामी दुई भाइले भलाकुसारी गरेका थियौं । वार्तालापकै सन्दर्भमा दाईले आत्मकथा लेख्ने आफ्नो रहरको बारेमा जानकारी गराउनु भएको थियो ।

आफ्नो त त्यस्तो कुनै इच्छा नरहेको मेरो भनाईको प्रत्युत्तरमा दाईले निकै तर्कसंगत कुरा राख्नु भएको थियो । “तिमिले त लेख्नै पर्दैन नी ! आफूले नलेखे अरु कसैले लेखिदिन सक्छ । कसैले नलेखे पनि कमसेकम आफ्नो कुलवंशमा अलगै परिचय बनाएका मानिसको इतिहास दशकौंसम्म जीवित रहन्छ । रणबहादुर रिफल, भीमबहादुर सुवेदार, डेकबहादुर, लालबहादुर जस्तै चन्द्रप्रकाशलाई अरुले बिर्से पनि पुलामी बानियाँसमाजले कालान्तरसम्म बिर्सन सक्दैन ।

त्यसमाथि तिमीले लेखेका आत्मपरक छोटा लेखोटहरु संकलित गर्ने र तिनलाई प्रकाशित गर्ने हो भने आत्मकथाको खानापूर्ति हुन्छ । मेरो व्यथा अलि फरक छ । आफूले नलेख्ने हो भने मृत्युसंग मेरो कथा पनि समाप्त हुनेछ । समस्याको गाँठी कुरो के हो भने आफै लेखौँ भने आफ्नो हातमा कलम चल्दैन । अर्को लेखिदिने कोही छैन । खेतालो हाल्ने क्षमता पनि मसँग छैन । त्यसैले मेरो रहर त्यसै तुहिने भो ! मेरो जीवन संघर्षको कथा मसंगै सती जाने भयो” !

बटुवाले सितलबस्न ठूलो रुखको छहारी खोजेजस्तै जीवनको आदर्श बाटो पहिल्याउने कार्यमा ठुलाबडाहरुकै जीवनी सहयोगी सिद्ध हुन्छ भन्ने मान्यता समाजले राख्दछ । एकजना निम्नस्तरको कर्मचारीको रुपमा जीवन विताएको मानिसको जीवनी पढीदिने कृपा कसले पो गरिदिन्थ्यो र ? तैपनि “गर्नु हुदैन” भनेर हतोत्साहित गर्नुपर्ने आवश्यकता थिएन । “जीवनमा भोगिएका व्यहोरिएका स्मरणीय घटनाहरुको टिपोट बनाउनेहोला, त्यसलाई भाषा दिने काम म गरिदिउँला” भनेर उत्साह थपिदिएिँ । मेरो आश्वासनले उहाँलाई चोपट्टै पुलकित र उत्साहित बनाएको थियो सायद ! “एउटा आँखाले राम्रोसँग काम गर्दैन । कलम पनि गतिलोसँग चल्दैन ।

मेरो पढाईलेखाईको इतिहासबाट भाइ अनविज्ञ छैनौं । तैपनि भाइको आश्वासनले मलाई असीम उर्जा र प्रेरणा दिएको छ । जीन्दगीका तीता मीठा भोगाईहरुको टिपोट उतार्ने कोशिसमा आजैका दिनदेखि लाग्छु” भनेर विदा लिनु भएको हुलाकी दाइले साँचै आत्मकथा लेखिभ्याउने त कुरै भएन, लेखनको सुरुवात पनि गर्नु भयो कि भएन कुन्नी ? काल निर्दयी मात्र होइन छली पनि हुन्छ । उसको अप्रत्यासित हमलाको कारणले त्यसबारेमा जानकारी लिने, छलफल र विचारविमर्श आदानप्रदान गर्ने अवसरै दिएन ।
हुलाकीजस्तो जागीरको सबभन्दा तल्लो खुडकिलोमा जीवन समर्पित गर्ने मानिसको जीवनगाथा लोकको रुचिको विषय कसरी हुनसक्छ र ? सायद, सबैले स्वाभाविकरुपमा यस्तै धारणा बनाउँछन होला । तर मानिसको जीवनको अर्को नाम संघर्ष हो ।

जीवनसंघर्षमा विजयलाभ गर्नुलाई सफलताको मानक मानिन्छ । यहीनेर विचार पु¥याउनुपर्ने कुरा के रहन्छ भने स्यालको शिकार गर्ने उद्देश्य लिएको मानिसले सिंह मारेन भन्दैमा उसलाई शिकारी नै होइन भन्न मिल्दैन । साँचै स्याल पनि मारेन भने उसलाई बल्ल असफल भन्न मिल्छ । अर्थात “लोटा लिएर समुद्रमा जाने मानसिले गाग्रीभरी पानी उबाउन सक्तैन” भन्ने गणेशमानको भनाई जीवनमा सतप्रतिशत लागु हुन्छ । सफलता र असफलताको मापन सापेक्षतामा गर्नुपर्ने हुन्छ, गरिन्छ ।
बाग्लुङ्ग बजारस्थित विद्यामन्दिर हाईस्कुलमा पढ्दैगर्दा अकलबहादुर श्रेष्ठ नामका एकजना गुरुले नेपाली विषय पढाउँथे । उनी समाजका एउटा अब्बल उदाहरण मानिन्थे । उनले जुन स्कुलमा पियनको जागिर गर्थे त्यही स्कुलको प्रधानअध्यापकको रुपमा अवकाश लिएका थिए ।

अकलबहहादुरलाई जस्तो अध्ययनको अवसर सबैलाई नमिल्न पनि सक्छ । अवसर पाएका भए हाम्रो दाइमा पनि अकलबहादुर बन्ने क्षमता थियोजस्तो लाग्छ । त्यस्तो अवसर जुरेन, हुलाकीको हुलाकी नै रहेर अवकाश लिन विवश हुुनुप¥यो विचरा ! अर्थात वृत्ति विकासको त्यस पक्षमा सकबहादुर दाइलाई सफलता मिलेन । तर त्यो दाइको जीवनका अनेक मध्येको एउटा पाटो मात्र थियो । जीवनको महत्वपूर्ण पाटो त अर्कै थियो र त्यो अपेक्षाकृत सफल पनि थियो ।

हाम्रो समाजले मानिसको सामाजिक हैसियत उसको आर्थिक हैसियतका आधारमा निर्धारण गर्दछ । दोश्रो बाटो हिँडे्रै किन नहोस, छलछाम गरेरै किन नहोस्, कसैले आफ्नो आर्थिक हैसियत उकास्न सफल भयो भने हाम्रो समाजले त्यसलाई आदर्श मान्दछ ।

सार्वजनिक सम्पत्ति हरणगर्नेहरु, सरकारी धनको दुरुपयोग गर्नेहरु र भ्रष्टाचारमा आजीवन लिप्त रहेर आर्थिक हैयित उकास्नेहरु हाम्रो समाजमा सम्मानित हुन्छन । आदरणीय मानिन्छन । ती सबै अनाचारबाट जोगिएर पनि हुलाकी दाईले समाजमा “एकमाना” खानपुग्ने हैसियत आर्जन गर्नु भएको थियो । ६/६ जना भन्टाङभुन्टुङहरुलाई हुर्काई बढाई आफ्नो खुट्टामा उभिनसक्ने बनाउनु औसत नेपालीहरुका लागि महाभारतयुद्ध जित्नु जत्तिकै मुस्किल कार्य मानिन्छ ।

सकबहादुर दाइले कुशलतापूर्वक आफ्नो उत्तरदायित्व पूरा गर्नु भएकै हो । छोरा छोरीहरुले स्वरुचि र गच्छेअनुसार आ–आफ्नो धुनीखानी गरेकै थिए । त्यसैले अवकाशपछिको दाईको जीन्दगीमा अभाव र असन्तोषको कुनै स्थान थिएन ।
“गर्नुपर्ने कार्य भोलीको लागि साँच्नु पश्चातापको कारण बन्छ” भनेर मृत्युशैयामा सुतेको रावणले लक्ष्मणलाई दिएको उपदेश मानिसको जीवनमा सधै गलालाग्न आइपुग्दो रहेछ । सकबहादुर दाइसँग स्वभोगाईका सुन्न सुनाउनलायक सयौैं कथाहरु हुँदा हुन् । तिनको टिपोट हुन सकेन । मृत्युले झुक्क्यायो । सहपाठी नै भए पनि उमेरका हिसाबले दाइ मभन्दा ७/८ वर्ष पाको हुनुहुन्थ्यो । त्यसमाथि दाइको व्यवहारिक जीन्दगीको डुङ्गा मेरोभन्दा एकदशक अघि नै सांसारिक व्यवहारको भवसागरमा तैरन सुरु गरेको थियो ।

बच्चैमा आमाबाबुको काख एकैचोटि गुमाएर काका र हजुरआमाको अभिभावकत्वमा हुर्केका दाइले एउटा सामान्य नागरिकले प्राप्त गर्ने अवसरहरुबाट समेत वञ्चित हुनु परे होला ! जीवनको गोरेटोमा हात समातेर टुकु टुकु हिड्न सिकाउने मायालु र वरद हातहरुको सधै अभाव खट्के होला ! सायद, अभावै अभावको बीचमा पनि आफूले गरेको संघर्ष र पाएको दुःख कष्टका कथाहरु समाजसंग विनीमय गर्ने धोको हुँदो हो । आँसुको मसीले लेखिएका आफ्ना दुख कष्टका कथाहरु समाजसमक्ष पस्कने इच्छा हुँदो हो । विचरा ती सबै कथाहरु हुलाकी दाइको भौतिक देहसँग चितामै एकैसाथ खरानी भए । प्राणपखेरुसँगै सून्य आकाशमा विलीन भए ।

समवयी नभए पनि दाईलाई मेरा दामलछिमल भने भन्न मिल्थ्यो । परिस्थितिले किशोर वयमै पाको बन्नुपर्ने वाध्यता सिर्जना गरिदिएको थियो । त्यसैले औसतभन्दा ५÷७ वर्ष अगाडिनै दाइको औपचारिक जीन्दगी प्रारम्भ भएको थियो । जीन्दगीको वास्तविकता देख्ने र भोग्नेहरुको दृष्टिकोण एउटै हुन सक्दैन । “अचानोको मर्म खुकरीले बुझ्न सक्तैन” ! सकबहादुरको जीन्दगीको अन्तर्यमा जोकोही सजिलै पुग्न सक्दैन ।

वास्तवमा सतहमा हिडेर त्यो गहिराई छिचोल्न सकिने विषय नै होइन । त्यसैले दाईको भोगाईका कथा व्यथाहरु जीन्दगीको समाप्ति सँगसँगै खरानी भए । अस्ताए, विलोप भए । त्यो अब उधिन्न नसिकने गरी सदाका लागि पत्तालियो । समयको अनन्त गर्तमा धसियो । विलायो । तैपनि सकबहादुरको जीवनसँग जोडिएको शिक्षाआर्जनको एउटा रोचक प्रसङ्गको प्रत्यक्ष साँक्षी आफू पनि भएकोले दाईको महाप्रस्थानको सन्दर्भमा शब्द श्राद्धञ्जलीको रुपमा सार्वजनिक गर्नु अनुपयुक्त नहोला कि जस्तो लागेको छ ।
उन्ताका गाउँमा स्कूल थिएन । गाउँका कन्दराका केटाकेटीहरुलाई सामान्य शिक्षादीक्षा दिने उद्देश्यले गाउँलेहरु मिलेर पटके शिक्षाको व्यवस्था गर्दथे । अर्थात त्यस्ता कक्षाहरु हिउँदका फुर्सदका दिनहरुमा मात्र चल्दथे । हाम्रो जमानामा शिवकुमार श्रेष्ठ नामका एकजना शिक्षक बाग्लुङ्गबाट सालिन्दै ल्याइन्थे । कक्षा सक्षा केही हुदैनथ्यो ।

साँवा अक्षर, अङ्क चिनेर चिठी तमसुक र सामान्य हरहिसाब गर्नंसक्ने भएपछि पढाई सकिन्थ्यो । अर्थात गुरुको ज्ञानको सिमा समाप्त भएपछि विद्यार्थीको स्वतः दीक्षान्त भएको मानिन्थ्यो । हो, त्यस्तै पाठशालाका हामी सहपाठी विद्यार्थी थियौ. । सकबहादुर दाइ हामीमध्येकै एकजना जेहेन्दार विद्यार्थी गनिनुहुन्थ्यो । हामी सबै सँगसँगै मनलगाएर पढदै थियोैं ।

हाम्रा गुरुले “मैले जानेको सबै सिकाइसकेँ” भनेर हात उठाउन नपाउँदै एउटा अनौठो र अप्रत्यासित घटना भयो । एकदिन अचानक विना पूर्वसूचना सकबहादुर दाइ कक्षामा अनुपस्थित हुनु भयो । बरु उहाँकै काकाको छोरा ओमबहादुर स्कुल आउन थाल्नु भयो । नयाँ विद्यार्थीको नाम भर्ना रजिष्टरमा अंकित गर्ने सन्दर्भमा ओमबहादुर दाइले दिएको वयान झन अनौठो थियो–“मेरो नाम लेख्न पर्दैन, म त दाईको सट्टा पढिदन आएको मात्र हुँ” ! त्यो वर्षभर ओमबहादुर दाइको नाम भर्ना रजिष्टरमा चढेन ।

अर्को वर्ष पनि न ओमबहादुरले स्कुल आउनु छोडनु भो न सकबहादुर दाइ नै स्कुल आउनु भयो । सट्टामा स्कुल आउन थालेको भाइ कक्षा चढदै गएर एस.एल.सी./ आइ.ए. सम्मको अध्ययन पूरागरीवरी भारतीय सेनामा ल्कर्कको जागीरबाट अवकाश प्राप्त गर्नु भयो । भाइलाई सट्टा हालेर घर गोठ र खेतीपातीको सुसे धन्दामा लागेका सकबहादुर दाइले फेरि कहिल्यै दोहो¥याएर स्कूल पाठशालको मुख देख्ने अवसर पाउनु भएन ।

उहाँको व्यवहारिक/व्यवशायिक शिक्षाको पाठशाला खरघाँस, मेलापात र गाईगोठ नै भैदियो । अक्षर अङ्कसम्म छिचोलेको हुनाले संयोगबस, हुलाक बोक्ने काम पाउनु भयो र त्यसैमा जीवन समर्पित गर्नुभयो ।
सकबहादुरको कथा केवल एकजना हुलाकीको कथा मात्रै होइन । शिक्षाको अवसरबाट वञ्चित हुन विवश हतभागी लाखौ नेपालीहरुको साझा कथा हो । सकबहादुर तय कथाका एउटा प्रतिनिधि पात्र हुन । हाम्रा धर्मशास्त्रहरुले भनेजस्तो परत्र र परलोकको व्यवस्था रहेछ भने उतै भेटौला र बाँकी कथाव्यथा र गुनासाहरु उतै सुनौला, होइनरहेछ, त्यो त सोझा मानिसहरुको आँखामा छारो हाल्ने र मनोवैज्ञानिक शोषण गर्ने कल्पित कथा मात्र रहेछ भने यो विछोड सदाको लागि हुनेछ । अलविदा दाई । अन्तिम प्रणाम !