निराजन थापा /विकल्प न्यूज
जेठ १० गते ।
साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो – ‘बेनी शान्त मुस्कुराईरहेछ ।’
‘न्यू धौलागिरि’ दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलाई सम्झिरहेछु जुनदिन जिल्ला विकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्नेगर्थे ।
५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलाई । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक ईबी, ईख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलाई त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन ।
तर आज ?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलाई लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलाई सूचना र तथ्यका मसिना पक्षहरूसँग साक्षात्कार गरी केहि सिक्ने अवसर दिएको छ भन्ने मेरो ठनाई थियो, तर मेरो बुझाई आंशिक पुष्टाई मात्र हुन सक्ने स्थितीमा रहेछ । हामीहरू धेरैलाई के लागेछ भने, हाम्रा लहैलहैहरू, हाम्रा एकपक्षीय बुझाईहरू मात्र ठीक र सहि छन ।
२० वर्षपछि, सात मध्ये तीनवटा नाम विहीन प्रदेशहरूमा पहिलो चरणको निर्वाचन सम्पन्न भई नतिजाहरू आउने क्रम रहँदै गर्दा, मैले पनि ब्यग्रताका साथ मेरो नगरपालिकाको निर्वाचन परिणामलाई कुरिरहेथेँ । विगत १४ बर्षदेखि राजनीतिमा सापेक्ष स्वतन्त्र परिचय बनाउन प्रयासरत मलाई यो निर्वाचनको नतिजापश्चात जिल्लाका तथाकथित बुद्दिजीवी, युवा र समाजसेवीहरूका तारन्तारका सामाजिक सम्प्रेषणले तटस्थ रूपमा रहनै दिएनन । म उनीहरूका सामु लाचार छायाँ बन्ने स्थिती आएपछि मैले अभिब्यक्त हुन बाध्य ठानेँ । भएँ । र, हुँदैछु पनि ।
अचेल सामाजिक सञ्जाल विशेषतः फेसबुक हाम्रा लागि शिघ्र प्रतिक्रिया या विचार सम्प्रेषणका लागि एउटा गतिलो मञ्च बनेको छ । परन्तु, निर्वाचन शुरू हुनूपूर्व र मतदान भैसकेर गणना हुँदै मत परिणाम आउने बेलासम्म हामीले फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोग भन्दा बढी दुरूपयोग गर्यौ ।
सचेत युवादेखि दुर्इिबस उमेर खाईसकेका सामाजिक पहिचान बनाएका ब्यक्तित्वहरू नै फेसबुकमा यति नांगो रूपमा प्रस्तुत भएकी फरक विचार र आस्थाका नेता, कार्यकर्ताहरूको उल्लिबिल्ली गर्ने मात्र नभै नानाथरीका ब्लगहरूमा प्रकाशित अत्यन्तै भ्रामक, आधारहिन अनलाईन समाचार, टिप्पणीहरू सम्प्रेषण गर्दै ‘बल्ल खाईस’को भावमा प्रस्तुत भयौं । आफूलाई सचेत, बौद्दिक र वस्तुनिष्ठ विश्लेषण गर्ने क्षमता राख्दछु भनेर विश्वास गर्ने साथै समाजले पनि असल चरित्रका रूपमा स्वीकार गरिसकेका उर्जाशिल, प्रेरक ब्यक्तित्वहरूबाट यो हदसम्म निकृष्टता मेरा लागि अकल्पनीय मात्र नभै अस्वीकार्य थियो, छ र रहनेछ ।
तटस्थ भएर आत्मसाक्षी राखी चुनावी नतिजाको विश्लेषण गर्ने हो भने, बेनी नगरको निर्वाचन परिणाम एक वा दुईपार्टीको विजयसँग गाँसिएको विषय होईन । हुँदै होईन । तर यसलाई यसरी नै परिभाषित गर्ने धृष्टता गरिदैछ ताकी १७ बर्ष पहिले मैले लेखेको कविताको शिर्षकमा जस्तो बेनी नरहोस् । मानौं, यसलाई शान्त रहने छुट नै छैन ।
निष्ठावान ब्यक्तित्वको छवि कायम गरेका ब्यक्तित्वलाई स्वंयको मात्र नभै अर्को एक राजनैतिक शक्तिको इमान्दार साथ र समर्थन प्राप्त भएर मात्र वहाँलाई आज प्रथम नगरपिताका रूपमा पदस्थापन हुने सौभाग्य जुरेको हो । जुन सौभाग्य उस्तै साथ र समर्थनको सम्झौता गरेर उपमेयरसहित चुनावी मैदानमा उत्रेको दललाई प्राप्त भएन ।
बिडम्बना त्यो भन्दा बढि यो रह्यो कि आफ्नो दलले एक्लै चुनावमा लडेर त्यो मुकाम हासिल गरेको झैं बिजयको उन्माद मनाउँदै गर्दा कतिपय होनहार युवाहरूलाई लाग्यो, अब नगरपालिकाको बागडोर हाम्रै हो । हामी नै सर्वेसर्वा हो । हामीले चाहेकै हिसाबले नगर चल्नेछ । मतगणनाका अधिकांश समय चुपचाप, उद्विग्न अनि पूरै सन्नाटमय भएको जमात मेयरको ताजसँगै जर्याकजुरूक भएर अकल्पनिय विजयको अस्वभाविक बिजयोत्सव मनाउनु पुग्दा अर्को पक्षलाई असैह्य हुनू स्वभाविक हुने नै भयो । तर …
तर के आफ्नो छटपहाटलाई अभिव्यक्त गर्दैगर्दा जनमतको बेईज्जत गर्ने छुट त्यो पक्षलाई छ त ? छैन । एकदम छैन ।
आफूलाई सजिलो पर्ने तथ्याङकको दावाले यहाँहरूको बहुमतको पुष्टि हुँदैन । जनताको अभिमत गणितिय तथ्याङकमा त्यति सजिलो तरिकाले ब्यक्त गर्न मिल्दैन । ख्याल गर्नुस् त, यहाँहरूले जितेका ८ वटै वार्डमा यहाँको विजेता उम्मेदवारले प्राप्त गरेको मत र अरू दलबाट पराजित निकटम प्रतिद्वन्द्वीसहित अन्यको मत जोड्नुस् कुन पक्षको ज्यादा हुन आउँछ ? सबैभन्दा धेरै मत ल्याउनुको मतलब सबैले उनलाई रोजे या धेरैले उनलाई रोजे भन्ने होईन ।
यो अभिमत त मैदानमा उत्रिएका बिकल्पहरू मध्य एक जना छानिए भन्ने होईन र ? यहाँहरूको विपक्षले जितेको मेयर पद जस्तै यहाँहरूले जितेको दुइ्ितहाई पदहरू जनताको प्रतिनिधि मत मात्र हुन । यसलाई दूर्बोध्य नबनाउनु मै सबैको हित छ ।
चुनावी अभियानमा भएका तिक्तताहरूलाई बिर्सेर तपाइँहरू किन जनताहरूलाई सामूहिक एकताको भावबाट हामीहरूले खोजेको विकास सम्भव छ भन्ने सन्देश दिने प्रयत्न गर्नुहुन्न ?
मेरा प्रिय कांग्रेसी मित्रहरू, बिपीले परिकल्पना गरेको नेपालको समाजबाद ब्यवस्थाको कुन अध्यायमा छ कि विपक्ष मतहरू व्हाइट वास गर्नुपर्छ ? नबिर्सिनु, राष्ट्रिय स्वाधिनता खतरामा परेको महशुस गरेपछि जिन्दगीभर जसको विरूद्द बिपी लड्नुभो उसँगै हातेमालो गरी राष्ट्र निर्माणका लागि बिपी त्यसै फर्किनुभएको थिएन । लहड र वंशका आधारमा कांग्रेसी हुनुभएको हो भने प्रबुद्द एवं आदरणीय प्रदिप गिरीसँग काँग्रेसका बारे बुझ्ने प्रयत्न गर्नुस ।
त्यस्तै प्रिय कम्युनिष्ट मित्रहरू, जनताको बहुदलीय जनबादको कुन परिच्छेदमा मदन भण्डारीले विपक्षीले धम्काए, ढुंगा हुत्याए भने तीनका छातिमा छुरी रोप्नुपर्छ भनेर उल्लेख गर्नुभएको छ ? अझ त्यो पनि प्रहरी प्रशासनकै अगाडि ।
खुलेआम । खुल्ला आकाशमुनि, हजारौं मान्छेहरूको भिडमा ? यहि हुँकार गर्दै एकताका गामवेशी, शहरबजार कुद्ने ‘क्रान्तिकारीहरू’ को हविगती जनमतले के गरार्इँिदयो ? हेक्का राख्नुस् कामरेडहरू , यो उन्नाइसौ शताब्दीको रक्तरंजित पूर्वाद्द हैन । हामी २१ औं शताब्दीमा प्रवेश गरिसक्यौं, जहाँ प्रतिशोध बन्दुक उठाएर हैन जनमत लिएर गरिन्छ ।
जसरी नगरवासीहरूले आफ्नो जनमत ब्यक्त गरेका छन, त्यसलाई शिरोपर गर्दै नगरविकासको खाका कोर्न एकजुट हुने समय शुरू भएको छ । जनताले ५ वर्षको समय दिएका छन् । समयको ख्याल गरौं । अनि नबिर्सौ, अबको ५ वर्षपछि धेरै जनताहरू अझ अरू जागरूक हुनेछन । र, सायदै कोही मासुभात खुवाएर, पेट्रोल राखिदिएर, एक बोरा चामल वा एउटा लुङगीमा आफ्नो अमूल्य मत बेच्नेछन् ।
जदौं