चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज
बैशाख २३ गते ।
“आफ्नो पार्टीभित्र खेल्न खोजेको र फुटाउने प्रयत्न गरेको” भनेर अप्रत्यक्षरुपमा भूतपूर्व राजामाथि राप्रपाका अध्यक्ष कमल थापाले आरोप लगाएको कुरा सार्वजनिक भएको छ । हुनत थापा उती विश्वसनीय नेता होइनन ।
उनले भने भन्दैमा वर्तमान सत्तासमीकरण भत्काउने प्रयत्न पूर्वराजाबाट भयो होला भनेर पत्याउन सकिदैन । किनकि “उसै त मुसुरी त्यसमाथि हिङ राखेको” भनेजस्तो राप्रपाको पुच्छर समातेर वैतरणी पारलाग्छ भन्ने विश्वास गर्ने मुर्खता कसले गर्ला र ? त्यसमाथि आशाको त्यान्द्रोको रुपमा रहेको राप्रपालाई पनि टुक्रा पारेर झन कमजोर बनाउँदा थप नोक्सान हुने अनुमान जोसुकैले पनि गर्न सक्तछ । वर्तमान सत्तासमीकरणमा सामेल हुने विषयमा राप्रपाभित्र सुरुदेखि नै मतभिन्नता थियो । एजेण्डाका हिसाबले एमालेनिकट रहनुपर्ने मान्यता राप्रपाभित्र बलियै थियो ।अध्यक्ष थापाले बलपूर्वक पार्टीलाई लतारेका हुन । यसपटक देखिएको असन्तुष्टिको आधारभूमि उही पुरानै मान्यता हो । सरकारमै सामेल भएर पनि थापाले सिंगो पार्टीलाई संविधान संशोधनको पक्षमा एकढिक्का बनाएर डो¥याउन सफल भएनन । संशोधनकै मुद्दाले राप्रपालाई पून विभाजित गर्ने खतरा समेत देखियो ।
पार्टी विभाजनको खतरा टार्नका निमित्त सत्तासाझेदारीको लोभ परित्याग गर्नुपर्ने वाध्यात्मक स्थितिमा उनलाई पु¥याएको हो । संसदमा दर्ता भएको प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावलाई त निह्ुँ मात्र बनाइएको हो । त्यही कारणले मात्र राप्रपाले सत्ताबाट बाहिरिने निर्णय लिएको हो भनेर पत्याउने आधार छैन ।
किनकि अख्तित्यारप्रमुख विरुद्धको महाभियोग प्रस्तावको विपक्षमै राप्रपा थियो । तर त्यसैको नाममा सत्ताबाट बाहिरनुपर्ने आवश्यकता त्यतिबेला देखेको थिएन । त्यसैले सत्तामा रहिरहँदा पार्टीमाथि विशेष संकट आइलाग्ने अनुमानले थापालाई सत्ताविमुख हुन वाध्य बनाएको हो । सत्तामोह परित्याग नगर्ने हो भने पार्टीमा निकै ठूलो संकट आउनसक्ने र निर्वाचनको मुखैमा पार्टी विखण्डन समेत हुनसक्ने खतराको पूर्वाभासले थापालाई खुम्चनुपर्ने बनाएको हो ।राप्रपा भित्र विकसित भएको पछिल्लो विषयगत मतभिन्नताले राष्ट्रिय राजनीतिलाई भने सकारात्मक मार्गतिर डो¥याउन सहयोग पु¥यायो भनिदिँदा फरक पर्दैन । राप्रपासम्बद्ध झण्डै दर्जनभर सांसदहरुले संविधान संशोधनको पक्षमा मतदान गर्न इन्कार गरिदिएपछि मधेसीमोर्चालाई निर्वाचप्रति सकारात्मक बन्न प्रेरित गरेजस्तो देखिएको छ ।
कमसेकम पहिलो चरणको निर्वाचन निर्विघ्नतापूर्वक सम्पन्न हुने लक्षण देखिएको छ । मधेसकेन्द्रित राजनीतिक दल राजपा नेपालले आफूले भाग नलिए पनि विरोध नगर्ने निर्णय गरेको छ । संघीय समाजवादी फोरमले त नयाँ शक्तिसँग मिलेर निर्वाचनमा सहभागिता जनाउने भएको छ ।
संविधान संशोधन तत्कालका लागि टरेजस्तो देखिएको भए पनि मधेसी मोर्चाले पूरै आशा मारिसकेको छैन । राप्रपाको तर्फबाट पछिल्लोपटक सार्वजनिक भएको मधेसको माग सम्बोधन गर्ने आफ्नो पूर्व मान्यता यथावत रहेको अर्थात संविधानको पक्षमा उभिने दृढोक्तिले पनि आशावादी बनाएको होला ।
सत्तासाझेदारीबाट अलग भए पनि संविधान संशोधनको पक्षमा पार्टीलाई एकढिक्का बनाएर उभ्याउन सफल भएभने कमल थापाको विश्वसनीयताको ग्रेड थपिने छ भन्न सकिन्छ ।
राप्रपाले निर्वाचनको मुखैमा सत्तासाझेदारीबाट बाहिर बस्ने निर्णय गर्नुको अर्को एउटा कारणको पनि अनुमान गर्न सकिन्छ । कमल थापा नेपालको सत्ता राजनीतिका एकजना चतुर खेलाडी मानिन्छन । सम्भवतः सत्तामा रहेर निर्वाचनमा जाँदा अपेक्षित उपलब्धी प्राप्त नहुने अनुमानले सत्ता छोड्नुपर्ने वाध्यता आइलागेको हुन सक्तैन भन्न मिल्दैन ।
पहिलो चरणमा हुन लागेको निर्वाचनमा दलहरुबीच अनौठो मनोविज्ञान विकसित भएको देखिएको छ । आसन्न स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा दलहरुले जहाँ जहाँ आफ्नो अवस्था कमजोर भएको अनुमान मूल्याङ्कन गरेका छन ती ठाउँहरुमा जोसँग पनि तालमेल गर्नसक्ने लक्षण देखाएका छन । मूलत एमाले, काँग्रेस र माओवादीबीच त्यस्तो तालमेल भएको देखिन्छ ।
केन्द्रमा रहेको सत्ता समीकरणको छायाँ स्थानीय निर्वाचनको सन्दर्भमा कहीँकतै दृष्टिगोचर हुदैन । चुनावी तालमेलको सन्दन्र्भमा राप्रापा सत्ता पक्ष र प्रतिपक्ष दुबैको रोजाईमा नपरेको देखिन्छ । जहाँ काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ त्यहाँ सत्तासाझेदार भनेर राप्रपालाई समेटिएको देखिदैन ।
काँग्रेस र माओेवादीबीच तालमेल हुन नसकेका ठाउँहरुमा एमाले माओवादीको तालमेल भएको देखिन्छ । एमाले माओवादीबीच तालमेल भएको ठाउँमा काँग्रेसले राप्रपालाई साथलिने इच्छा देखाएको छैन ।
देशका दुईठूला पार्टीहरुका निमित्त माओवादी केन्द्र नै प्रिय बनेको छ र खोसाखोसको विषय बनेकोजस्तो देखिएको छ । राप्रपा भने तिनवटै दलबाट उपेक्षित हुने लक्षण देखिएको छ । त्यसकारणले पनि सत्तामा साझेदारी गर्नुको लाभ राप्रपाले पाउन नसक्ने देखिएको छ । बरु सत्ताबाट बाहिरिदा माओवादीसँग वा काँग्रेसँग तालमेल हुन नसकेको ठाउँमा एमालेले आफ्नो पार्टीलाई साथलिन्छ कि भन्ने आशा राप्रपाले राखेको हुनुपर्छ ।
किनकि राप्रापाको एउटा हिस्साले एमालेसँग आफ्नो एजेण्डाको निकटता रहेको मान्यता राखेको देखिन्छ । त्यही एजेण्डा चुनावी तालमेलको कडी बन्छ कि भन्ने आशाले पनि वर्तमान सत्तासमीकरणबाट अलग हुने निर्णय लिइएको होइन होला भन्न सकिन्न ।
दोश्रो चरणमा निर्वाचन हुने भए पनि सात नम्बर प्रदेशले बेलैमा चुनावी तालमेलको हल्ला चलाई दियो । काँग्रेस र माओवादी केन्द्रबीच तालमेल “हुने भयो रे” भन्ने हल्लाले चार नम्बर प्रदेश सर्वाधिक प्रभावित बनेको जस्तो देखिन्छ । म्याग्दी र मुस्ताङमा नेका–माके र बाग्लुङ्गमा एमाले–राजमो–माकेबीच चुनावी तालमेल भैसकेको हल्ला छ ।
पर्वतमा पनि प्रारम्भमा माके–काँग्रेस गठबन्धन हुने हल्ला थियो तर पछिल्लो समयमा एमाले–माकेबीच तालमेलको हल्ला आएको छ । तालमेलको हल्ला गोर्खामा पनि चलेको छ । मानिसहरुले नयाँ शक्तिसँग भिडिनका लागि एमाले र माओवादी केन्द्रबीच तालमेल हुने सम्भावना छ भन्छन । कास्की पनि तालमेलको हल्लाबाट मुक्त छैन ।
कास्कीमा काँग्रेस र एमाले बलिया पार्टी मानिन्छन । नयाँ शक्ति र अखण्डले लिने मतले कसलाई बढी क्षति पु¥याउँछ भन्ने अनुमान गर्न गाह्रो परेको हुनाले दुबै ठूला दलहरु अन्य साना दलहरुसँग तालमेल गर्न इच्छुक भएर पनि मुखफोर्न लाजमानेको देखिन्छ । कतै अर्कोले कसैसँग तालमेल गरेर बाजीमार्ने हो कि भन्ने हाउगुजीले एमाले काँग्रेस दुबैलाई त्रसित बनाएको छ ।
निर्वाचनमा भागलिने पार्टीहरुको संख्याको आधिक्यताले एक्लै निर्वाचन परिणाम आफ्नो पक्षमा पार्नु पार्टीहरुका लागि फलामको च्यूरा चपाउनु जस्तो गाह्रो भएको छ । नेपाली समाजलाई राजनीतिक एजेण्डाभन्दा अरु कुराले बढी प्रभावित र आकर्षित गर्ने परम्परा रेहेका हुनाले पनि राजनीतिदलहरु चुनावी परिणामको बारेमा ढुक्क हुनसक्ने स्थिति छैन ।
यस्तो अवस्थामा राजनीतिक दलहरुबीच चुनावी मोर्चा बन्नु वा एकभन्दा बढी दलहरुबीच तालमेल हुनु स्वाभाविक हो । निर्वाचनमा सत्तासमीकरणको सहयात्रीहरुबीच तालमेल गरिन्छ । कि भने विचार, सिद्धान्त र एजेण्डाको निकटता हेरिन्छ । तर यतिबेला देखिएको लक्षणले भने तीे दुबै कुराको वास्ता गरिएको छैन भन्ने प्रमाणित गर्दछ ।
“वेथितिको कटक” भनेजस्तो जहाँ जोसँग तालमेल गर्दा नाफा हुन्छ त्यसैसँग आँखा चिम्लेर मिल्ने प्रवृत्ति देखिएको छ । पुरानो धवलागिरि अञ्चलका चारवटा जिल्ला मुस्ताङ, म्याग्दी, बाग्लुङ्ग र पर्वतमा हुन लागेको सम्भावित समीकरण वेथितिको नमुना बनेको छ ।
एकापसमा सिमा जोडिएका मात्र होइन, कतै त एउटै बजारबस्ती समेत दुई जिल्लामा विभाजित भएको वस्तीगत संरचना छ । गाउँहरुबस्तीहरु पनि एकापसमा अनेक खालका सामाजिक सम्बन्धहरुबाट जेलिएका छन । तर निर्वाचनको समीकरण भने अनौठो लाग्ने र मतदाताहरुलाई कन्फ्युज गराउने खालका छन ।
उदाहरणका निमित्त वेनीबजारलाई लिन सकिन्छ । वेनीबजार दुईजिल्लामा बाँडिएको छ । म्याग्दीको सदरमुकाम वेनी र पर्वतको जलजला गाउँपालिका (पारीवेनी) काली गण्डकीको वारीपारी अवस्थित छन । तर बस्तीको बनोट यसरी जेलिएको छ कि मान्छेको बसाई एकापट्टि छ उसको मतदाता नामावली अर्कोपट्टि छ । अर्थात वारीको वासिन्दाले पारी र पारीको वासिन्दाले वारीपट्टि मतदान गर्नुपर्ने अवस्था छ ।
दुईतिर राजनीतिक समकिरणभने बेग्लै प्रकृतिको छ । जहाँ बसोबास छ, व्यवशाय छ, संगत छ त्यहाँ अर्को समीकरण छ, जहाँ मतदान गर्नुपर्ने हो त्यहाँ अर्कै समीकरण छ । छिमेकमै कतै काँग्रेस–माओवादी, कतै एमाले–माओवादी, कतै एमाले–राजमो–माओवादी केन्द्रबीच गठबन्धन भए पछि मतदातको दिमाग रिगाउने परिस्थिति उत्पन्न हुनु स्वाभाविक नै हुने भो ।