ताजा समाचार:
Search

मानसीक रोगीको पहिचान, संरक्षण र उपचारमा पहुँच बढाउनुपर्नेमा जोड

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २ बैशाख ।
सरोकारवालाहरुले मानसीक रोगीको उपचार सेवामा सहज पहुँचको व्यवस्था मिलाउन माग गरेका छन् ।Mental Healt (1)मानसीक रोगीको हेरचाहमा संलग्न संरक्षकहरु आवद्ध संरक्षक संस्थाले दोस्रो संरक्षक दिवसको अवसरमा शनिबार बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले यस्तो माग गरेका हुन् ।

जिल्ला स्तरको अस्पतालमा मानसीक रोग सम्बन्धि औषधी उपचारको व्यवस्था हुनुपर्ने, स्वास्थ्य नितीमा मानसीक रोगको विषयमा सम्बोधन हुनुपर्ने र मानसीक रोगीको संरक्षणका लागि अनुकुल पारिवारीक तथा सामाजिक वातावरणको आवश्यकता रहेको बताएका थिए ।

परामर्श, संरक्षण र नियमित औषधी सेवनले मानसीक रोग निको हुने भएपनि अझै रोगलाई लुकाउने समस्या रहेकाले मानसीक रोगीको पहिचान, संरक्षण र उपचारमा परिवार, समाज र राज्यका निकायले प्राथमिकता दिनुपर्ने सहभागीको भनाई थियो ।

संरक्षक संस्था म्याग्दीका अध्यक्ष निशा महत जिसीको अध्यक्षता र पत्रकार अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा सांसद नवराज शर्माले मानसीक स्वास्थ्यको विषयमा स्वास्थ्य नितीमा समावेश गराउन पहल गर्ने बताउदै समाजले यसलाई साझा समस्याको रुपमा लिनुपर्ने र ब्यवहार परिवर्तनका लागि चेतनाको विकास गर्नुपर्ने बताउनुभयो ।
म्याग्दी र बागलुङमा विगत ५ वर्षदेखि मानसीक रोगीको निशूल्क औषधी उपचार तथा संरक्षकहरुको आयआर्जनमा सुधार ल्याउनका लागि कार्यक्रम गरिरहेको जिविकोपार्जन शिक्षा तथा विकास समाज (लिड्स)का कार्यकारी निर्देशक पदमराज श्रेष्ठले मानसीक रोगीको औषधी उपचारमा सहज पहुँच भएमा यो समस्या धेरै समाधान हुने बताउनुभयो ।

अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसी, संरक्षक संस्था बागलुङका अध्यक्ष शर्मीला थापा, उपाध्यक्ष ईन्द्र शर्मा सापकोटा, म्याग्दीका उपाध्यक्ष शोभा नेपाली, र पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले मानसीक रोगको निशूल्क औषधी उपचारको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

म्याग्दी र बागलुङमा दुई हजार तिन सय जना मानसीक रोग सम्बन्धि औषधी सेवन गर्ने व्यक्तिहरु रहेको कार्यक्रममा जानकारी गराइएको थियो । बागलुङ र म्याग्दीका संरक्षकहरुको सहभागितामा विभिन्न सन्देशमुलक प्ले कार्ड सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो ।