ताजा समाचार:
Search

बेनी अस्पतालको मुहार फेरीँदै

Beni Hospital (1)सन्तोष गौतम/विकल्प न्यूज
चैत १५ गते । हर्नीयाको समस्या भएका रघुगंगा गाउँपालिका ३ पिप्लेका क्षेत्रबहादुर खत्रीले बेनी स्थित जिल्ला अस्पतालमा यसै हप्ता शल्यक्रिया गर्नुभयो । “बि” नेगेटिभ रगत र मुटुको समस्याले थलीएकी धौलागिरी–२ लुलाङकी ५१ वर्षिया मनकुमारी विकले बेनीमै शल्यक्रिया गरेर स्वास्थ्य लाभ गर्नुभयो ।

पोखराको गण्डकी अस्पतालका चिकित्सकले तत्कालै शल्यक्रिया गर्न नसकिने बताएपछि निराश हुँदै घर फर्कने क्रममा विकलाई आफन्तले अन्तिम अवस्थामा बेनी अस्पताल पु¥याएका थिए । चिकित्सकका अनुसार बि नेगेटिभ रगतको कमि र उनको मुटुको चाल प्रतिमिनेट ७५ भन्दा माथि हुनुपर्नेमा ४६ मा झरेको थियो ।

दाहिने खुट्टा र कम्मरलाई जोड्ने ठाउँमा भएको सङक्रमणका कारण एउटा खुट्टा चलाउनै नसक्ने गरी कुजीएपछि गत माघमा बेनी अस्पताल ल्याइएकी लुलाङकै पानु विक एक वर्षदेखिको स्वास्थ्य समस्याबाट मुक्त भई आफै हिडेर घर फर्कीइन ।

क्षयरोग र कुपोषणको शिकार भएकी विकको शल्यक्रियाका साथै दुई महिनासम्म चिकित्सकको निगरानीमा उपचार गरिएको थियो । अस्पतालमा ल्याउँदा २३ किलोग्राम तौल भएकी उनि फर्कदा ४३ केजीकी भएकी थिइन ।During the operation(1) पिप्लेका खत्री, लुलाङका मनकुमारी र पानु जस्ता संयौ बिरामीहरुले जिल्लाकै सरकारी अस्पतालमा सर्भसुलभ र सहज रुपमा शल्यक्रिया सहितको सुबिधा पाएपछि राहत महशुस गरेका छन् ।

अस्पतालले जटिल प्रसूति, हाडजोर्नी, हाईड्रोशील, हर्नीया, पत्थरी, एपेन्डीसाईट्स, पाठेघर खस्ने, छालाको प्रत्यारोपण गर्नुपर्ने लगायत समस्या भएका बिरामीलाई शल्यक्रिया सहितको सेवा प्रदान गरेको छ । बेनीमा शल्यक्रिया सेवा पाएपछि धेरै रकम र समय खर्च गरेर उपचारका लागि जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने समस्यामा कमी आएको छ ।

गरिब तथा विपन्न सर्वसाधारणको उपचार सेवामा पहुँच बढ्नुका साथै समय र आर्थिकको बचत भएको हर्नीयाको शल्यक्रिया गर्नुभएका खत्रीले बताउनुभयो । “काठमाडौ, पोखरा, चितवन जाँदा धेरै खर्च र समय लाग्दथ्यो” खत्रीले भन्नुभयो “बेनीमै सुबिधा पाएपछि सजिलो भयो । राहत मिलेको छ ।”IMG_3172अस्पतालमा हालसम्म ८४ वटा जटिल र साउन देखि यता १४९ वटा मध्यम किसीमका शल्यक्रिया भएको छ । वि.स २०७१ देखि शल्यक्रिया मार्फत जटिल किसीमको प्रसूति गराउने सेवा सुरु गरेको अस्पतालले गत वर्षदेखि अन्य शल्यक्रिया समेत सुरु गरेको थियो ।

पाठेघर बाहीर बच्चा बसेको, छालाको प्रत्यारोपण, अण्डकोष तल नझरेको, चक्कु प्रहारबाट फोक्सोमा रगत र हावा जमेर अचेत भएका, नसा चुडिएका, हड्डीले ठाउँ छाडेर जटिल अवस्थामा पुगेका बिरामीको सफल शल्यक्रिया गरिएको चिकित्सक धिरेन मल्लले बताउनुभयो ।

“सिमीत उपकरणको बावजुद पनि जटिल किसीमका शल्यक्रिया सफल भएका छन्” मल्लले भन्नुभयो “सम्भव भएसम्म बिरामीलाई अन्त जान र मृत्युवरण गर्न नपरोस भनेर प्रयास गरिरहेका छौ ।” अस्पतालले दुई सय देखि सात हजार रुपैयाँ शूल्कमा दिने शल्यक्रिया सेवा लिन जिल्ला बाहीर जाँदा कम्तीमा पचास हजार खर्च हुन्छ ।

सुबिधा विस्तारसंगै चिकित्सक, कर्मचारीको सक्रियता, व्यवस्थापन समितिको समन्वयात्मक भुमिका र समुदायको सहयोगबाट जिल्ला अस्पतालको सेवा प्रवाहमा सुधार आएको हो । पछिल्लो समय बेनी अस्पतालप्रति सर्वसाधारणको विश्वास बढेको अस्पतालमा बुवालाई उपचार गराउन आएका अन्नपूर्ण ८– राम्चेका भक्तबहादुर पुर्जाले बताउनुभयो ।Jilla Aaspatal Ra DHO Parisar“पहिले सिधै पोखरा, काठमाडौ जाने बिरामी अहिले जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गराएपछि सम्भव नहुने सेवाका लागि बाहीर जाने गरेका छन्” उहाँले भन्नुभयो । शल्यक्रिया सेवाका लागि बागलुङ, पर्वत र मुस्ताङबाट समेत बिरामीहरु आउन थालेका छन् । उपचारमा चौबीसै घण्टा सेवामा तल्लीन रहने युवा चिकित्सकहरुको सक्रियता र जाँगर देखेर म्याग्दीका बासिन्दा खुसी भएका छन् ।

समयमै र सही उपचार नपाएर अकालमा ज्यान गुमाउन बाध्य यस जिल्लाका बासिन्दाको स्वास्थ्य स्थिति सुधार्न उनीहरु लागि परेका छन् । देशका कतिपय सरकारी अस्पतालले दरबन्दी अनुसारको चिकित्सक अभावको समस्या झेलीरहेको बेला बेनी अस्पतालमा १३ र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना चिकित्सक कार्यरत छन् ।

जनशक्ति पर्याप्त भएपछि विस्तार गरेको सेवालाई निरन्तरता र दिगो बनाउन अस्पतालमा पूर्वाधार र उपकरण थप गर्न लागिएको अस्पतालका प्रमुख बरिष्ठ चिकित्सक रोशन न्यौपानेले बताउनुभयो । “जनशक्ति भएपछि सेवा विस्तार गरेका हौ” न्यौपानेले भन्नुभयो “यसलाई निरन्तरता दिन पूर्वाधार निर्माण र उपकरण थप गर्न पहल गरेका छौ ।”

शल्यक्रिया सेवाका लागि निक साईमन ईन्टिच्युटले अध्याधुनीक उपकरणहरु सहयोग गरेको छ । यसअघि बिरामीको ढाडमा सुई लगाएर बेहोस बनाई शल्यक्रिया गरिदै आएको अस्पतालमा स्वासप्रस्वासको माध्यमबाट बेहोस बनाउने अत्याधुनीक एनएसथेसीया उपकरण प्रयोगमा आएको छ । उपचारमा प्रयोग हुने थप सहयोगी सामाग्रीहरु खरिद प्रक्रिया अघि बढाईएको चिकित्सक न्यौपानेले बताउनभुयो ।

गर्त वर्ष हङकङमा रहेका म्याग्देलीहरुले विद्युतीय एक्सरे उपकरण उपलब्ध गराउनुका साथै त्यसको नियमीतताका लागि अक्षयकोष समेत स्थापना गरेका थिए । दक्षिण कोरिया, बेल्जीयम, बहराईनमा रहेका म्याग्देलीहरुले आकस्मिक कक्ष, रक्तसञ्चार र बिरामी कुरुवा भवन बनाएका छन् । निर्माण व्यवसायी नारायण जिसीले शल्यक्रिया गरेका बिरामीहरु राख्नका लागि व्यक्तिगत लगानीमा तिन कोठे भवन बनाउनुभएको छ ।

दैनिक १०० देखि १५० जनाले सेवा लिने बेनी अस्पतालमा आकस्मीक, अन्तरंग र बहिरंगका अतिरिक्त दन्त, एक्सरे, ल्याब, सुरक्षित प्रसूति, बालस्वास्थ्य, क्षयकुष्ठ, एचआईभी परिक्षण, एआरभी औषधि वितरण, सुरक्षित गर्भपतन, निशूल्क औषधि वितरण कक्ष रहेका छन् । नेपाल रेडक्रस सोसाईटीको सहयोगमा अस्पताल परिसरमा रक्तसञ्चार गृह र आखाँ उपचार केन्द्र सञ्चालन भएको छ ।

हाल ४ शैयाको आकस्मीक कक्षमा २ वटा कक्ष थप गर्ने, प्रत्येक कक्षको कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने तयारी भएको अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार सेवामा गुणस्तर ल्याउनका लागि अस्पतालको सरसफाई, चिकित्सक, कर्मचारीको व्यवस्थापन, बिशेषज्ञ जनशक्तिको व्यवस्था, पुर्वाधार निर्माण र उपकरण जुटाउन मन्त्रालयसंग पहल गरीएको छ । चिकित्सक सहितको टोली गाउँमा पुगेर घुम्ती शिवीर मार्फत सेवा दिने गरेको अस्पतालले बरिरंग कक्षबाट अतिरित्त विस्तारीत सेवा समेत सुरु गरेको छ ।

२०७२ असोजमा १५ बाट बढाएर ५० शैयाको बनाइएको बेनी अस्पतालमा १० जना बिशेषज्ञ चिकित्सक सहित ६९ जना विभिन्न तहका प्राबिधिक जनशक्तिको दरबन्दी छ । यसअघि दुई जना मात्रै चिकित्सकको दरबन्दी रहेको अस्पतालमा बिशेष कक्ष बाहेक अरु सबै दरबन्दीमा पदपुर्ति भएको छ । जनशक्ति, उपकरण र पुर्वाधारसंगै जिल्ला अस्पतालको सेवा बिशिष्टीकरण तर्फ अघि बढेको हो ।

सहरी आवास तथा भवन डिभिजन कार्यालय बागलुङले पहिलो चरणमा ५० शैया क्षमताको अस्पताल भवन निर्माणका लागि १८ करोड ९० लाख रुपैयाँमा ठेक्का सम्झौता गरीसकेको छ । गत कात्तिकमा सम्झौता गरेको रफीना– गल्वा–महादेव खिम्ती जेभीले भवन निर्माणको तयारी गरेका डिभिजन प्रमुख इन्जिनियर प्रकाश अर्यालले जानकारी दिनुभयो । २०७६ सम्ममा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

हाल अस्पतालले प्रयोग गरीरहेको भवन रहेको ठाउँमा नयाँ भवन बनाउने तयारी भएको हो । अस्पताल परिसरको खाली जग्गामा अस्थाई भवन र जनस्वास्थ्य कार्यालयको नयाँ भवनबाट सेवा सञ्चालन गर्ने अस्पताल विकास समितिको योजना छ । अस्थाई भवन तयार पारेपछि पुरानो भवन भत्काएर नयाँ निर्माणको काम सुरु हुने जनाइएको छ ।

अस्थाई संरचना निर्माणका लागि स्वास्थ्य मन्त्रालयमा ६० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । “स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध नगराएपनी अस्पतालको स्रोतबाट बैकल्पिक पूर्वाधार तयार पारेर अहिले प्रवाह भैरहेको सेवा, सुबिधामा कटौती हुन नदिने प्रयास गरेका छौ” अध्यक्ष रेग्मीले भन्नुभयो ।