बहस ः जलजला गाँउपालिका केन्द्र विवाद र बिकल्प

सुरेश हमाल /विकल्प न्यूज
चैत ८ गते ।
suresh-hamalपर्वत जिल्लाको उत्तरी क्षेत्र अर्थात जलजला गाँउपालिकाको केन्द्र सरकारले साविकको माझफाँट गाविस कार्यलय तोकेपछि बनौँ, नाग्लिवाङ, धाईरिङ, सालिजा र माझफाँटका केही क्षेत्रका जनताहरु केन्द्र पायक नभएको र सबैलाई पायक पर्ने ठाउँ मिलनचोकलाई केन्द्र तोक्नुपर्छ भन्दै केही दिनदेखि आन्दोलित छन भने उता माझफाँट, बाँसखर्क र लेकफाँटका केही क्षेत्रका जनताहरुले खुसियाली मनाईरहेका छन ।Mallaj (4)यसरी जनताहरु एकआपसमा विवादित र आन्दोलित भईरहेको अवस्थामा यी विषयलाई अल्लि नजिकबाट बिष्लेषण गर्ने प्रयास गरेको छु

सबैभन्दा पहिला माझफाँट गाविस कार्यलय र मिलनचोकको तुलनात्मक अवस्था साथै कुन ठाउँ र किन उपयुक्त छ त यस बिषयमा चर्चा गरौ ।

मिलनचोक तत्कालिन धाईरिङ गाविस र हालको जलजला गाँउपालिका वडा नं ७ मा अवस्थित बजारिकरण तर्फ उन्मुख झट्ट हेर्दा पनि सात गाविसको साझा बजार जस्तो देखिने ठाउँ हो।

यस मिलनचोक तथा माझफाँटको लुङ्दि, मोहनचोक समेत समेटेर केन्द्र बनाएमा बनौँ र नाग्लिबाङको माथिल्लो क्षेत्र त्यस्तै लेकफाँट, सालिजा र यता बाँसखर्कबाट समेत करिब दुई घण्टामा केन्द्र सम्म आईपुग्न सकिन्छ भने माझफाँटबाट एक घण्टामा आईपुग्न सकिन्छ।

यस क्षेत्र यातायातको हिसावले मुख्य राजमार्गसँग जोडिएको र हाल लेकफाँट, सालिजा हुँदै नाँगि, राम्चे, काफलडाँडा तथा उपल्लो धाईरिङसम्म नियमित जिप सञ्चालित छन भने बनौ, माथिल्लो नाग्लिबाङ तथा उता माझफाँट, बाँसखर्कसम्म सिधा यातायात सञ्चालन गर्न सकिने अवस्था छ। यसरी यातायातको हिसावले समेत सबै ठाँउहरुबाट मिलनचोक पुग्न झण्डै उस्तैउस्तै समय लाग्ने देखिन्छ।milanchookत्यस्तै माझफाँट जलजला गाँउपालिकाको उत्तरी भेगमा अवस्थित ठूलो र जनघनत्व भएको फराकिलो गाँउ हो। समथर फाँट, घनावस्ति आफैमा यो एउटा सुन्दर र रमणिय ठाउँ हो । ०५३/५४ साल तिरै यातायात पुगे पनि घुमाउरो बाटो ब्यवस्थित नगर्नु र छोटो बेनि भुर्तुलाको बाटो भौगोलिक कठिनाईले गर्दा लामो समय देखि सफल नहुदाँ यातायातको सहज सुविधाबाट पछि परेको छ ।

सामान्यत यो ठाँउमा केन्द्र भएमा बनौ र नाग्लिबाङका माथिल्लो भेगबाट आईपुग्न ३ घण्टा देखि बढि नै लाग्दछ । त्यस्तै लेकफाँट, सालिजाबाट करिब दुई घण्टा यता मिलनचोक क्षेत्रबाट करिब १ घण्टा लाग्छ भने उता बाँसखर्क बाट ३० मिनेट पनि नलाग्ने देखिन्छ ।

यसरी सरसर्ति हेर्दा माझफाँटको माथिल्लो भेग, बाँसखर्क र लेकफाँटको केही भेगलाई अत्याधिक नजिक पर्छ भने धाईरिङ,नाग्लिबाङ र बनौका जनतालाई अत्याधिक टाढा पर्छ। उता नाग्लिबाङ र बनौबाट सिधा यातायातमा एक/ डेढ घण्टामै सदरमुकाम कुश्मा पुग्न सकिन्छ भने माझफाँट आईपुग्न सिधा यातायातको कठिनाई र दुरिका हिसावले पनि टाढा हुदाँ झण्डै दुई/तीन गुणा समय बढि लाग्ने देखिन्छ । 17410084_1253305674717242_887741155_nअब जलजला गाँउपालिका भनेको एउटा स्थानिय सरकार हो अझ बुझ्ने गरि भन्दा सात गाविसको एउटा सानो देश हो जसको हामी राजधानि या सदरमुकाम बनाउन खोज्दैछौ । अझै बुझ्ने गरि भन्दा लगभग कुश्मा बजारमा भएका अधिकांस सरकारी कार्यलयहरु केन्द्रमा बनाउनुपर्छ जसको निम्ति आवश्यक धेरै जग्गा चाहिन्छ।

यसै सन्दर्भमा कतिपय साथिहरुको तर्क छ। मिलनचोकमा आवश्यक सार्वजनिक जग्गानै छैन। भएको जग्गा पनि महँगो छ। खोलाको डर छ । झट्ट सुन्दा एक किसिमले यी तर्कह केही हदसम्म जायज जस्तो देखिन्छन् तर यथार्थतामा जादाँ अलि फरक हुन्छ।17353241_1517601274979052_8137375248345699973_nकेही सार्वजनिक जग्गा तानतुन पार्न सकिने भएपनि धेरै कार्यलय बनाउन ब्यक्तिको जग्गा सरकारी नियमनुसार मुआब्जा दिई अधिकरण गर्नुपर्ने देखिन्छ। त्यसैले पनि व्यक्तिको जग्गा लिन महँगो त पर्न जान्छनै फेरि जग्गा महँगो पर्छ भन्दैमा एकातिरका जनतालाई अत्यधिक टाढा नै हुनेगरि अपायक पर्ने ठाउमा लैजानु पनि न्यायिक हुदैन।

सरकारले एउटा बिद्धुत सव– स्टेसन राख्न त्यत्रो जग्गा हडप्न सक्छ भने यत्रो जनताको सुविधाको निम्ति आवश्यक जग्गा लिन किन नसक्ने यो सरकारको पहिलो कर्तव्य हो भने स्थानिय जनताको पनि ठूलो जिम्मेवारी हो ।17264902_1517601294979050_4625996591038909432_nखोलाको डरको कुरा गर्दा त हामिले बेनि बजार नै देखिरहेका छौ जुन दुई ठुला नदिको किनारमा छ त्यो हिसाब मा मिलनचोक धेरै सुरक्षित छ भने माझफाँट तर्फ सुरक्षित, फराकिलो लुङ्दि क्षेत्र पनि छ।
अब लागौ माझफाँट तर्फ

अहिले माझफाँटमा तोकिएको केन्द्र गाविस भवन पनि तत्कालको लागि कामचलाउ मात्र हुने देखिन्छ जसको वरिपरि आवश्यक जग्गा देखिदैन ।

दिर्घकालिन रुपमा हेर्दा यताउता जग्गाको व्यवस्था गर्न आवश्यक छ। जसको निम्ती बाँसखर्क क्षेत्र तिरको जग्गा व्यवस्था गर्ने भन्ने चर्चा पनि चलिरहेको छ ।

त्यता हो भने अझै अत्याधिक अपायक पर्ने देखिन्छ तैपनि माझफाँटमा मिलनचोकको तुलनामा पक्कै जग्गा अधिकरण गर्नु परेपनि धेरै सहज र सस्तो चाहिँ छ तर प्रसस्त सार्वजनिक जग्गा छ भन्नुमा चाँहि तुक छैन।

सार्वजनिक जग्गाको कुरा गर्दा र नियमनै हेर्दा प्रतिजग्गा सबै सामुदायिक बनको नाममा हुने हुदाँ ब्यवहारिक रुपमा अलिअलि तानतुन पारेर काम चलाउनत सकिएला तर सबै हडपेर बनजंगल नै मासेर कुनैपनि सरकारि कार्यलय बनाउन पाईदैन।

कतिपयको तर्क छ माझफाँटमा मुल्यको हिसावमा जग्गा सस्तो छ। माझफाट गाउँ ठुलो छ त्यसैले केन्द्र यहि हुनुपर्छ तर यो तर्कमा कुनै दम देखिदैन।

मानौ माझफाँटमा जग्गा सस्तोमा उपलब्ध होला तर भोलि नाग्लिबाङले निशुल्क जग्गा उपलब्ध गराउछु भन्यो भने के केन्द्र नाग्लिबाङ पुर्याउन मिल्छ ! माझफाँटमा जनघनत्व बढि छ भन्दैमा अन्य क्षेत्रकालाई अन्याय नै हुने गरि पल्लो छेउमा केन्द्र नै राख्नु पर्ने हो ! के सानो गाँउमा बस्ने जनता नै होईनन ! ठूलो गाँउका जनतालाई दैलोमै चाहिने अनि सानो गाँउको जनता चाहिँ दिनभरि हिडेर पुगेपनि हुने हो ! जनतालाई सदरमुकाम टाढा भयो भनेर गाँउपालिका बनाउने फेरि बनौ र नाग्लिबाङका जनता कुश्मा भन्दा दुई गुणा समय लगाएर माझफाँटको गाँउ उक्लन पर्ने ! यो सरासर अन्याय हो ।

अझै पछिल्लो समय जनघनत्व कै कुरा गर्दा बगरफाँट, वारिबेनि, लामाखेत, लुङ्दि, मिलनचोक, लस्ति, खनियाँघाटमा बजारिकरणले माझफाँट गाँउको तुलनामा जनसंख्या अत्याधिक बढि छ र यी क्षेत्रको पनि दुरि, यातायात सबै हिसावले पायक मिलनचोक नै हो तसर्थ केन्द्र माझफाँटको तुलनामा मिलनचोक धेरै गुणा उपयुक्त छ।

सबैलाई थाहै छ माझफाँट ठूलो गाँउ हो। जनघनत्व छ,समथर फाँट छन । यस्तो ठाँउमा बाटोको राम्रो सुविधा पुर्याउ, अस्पताल बनाउँ, क्याम्पस खोलौ, खानेपनि, सिचाँईको सुविधा पुर्याउ बिकासको मुल फुटाउँन बरु त्यहाँका जनतालाई सहजताको निम्ति विशेष सुविधा सहित उपकेन्द्र बनाउँ।

बिकासको निम्ति निश्चित समय सम्म बिशेष बजेटको ब्यवस्था गर्ने गरि सहमति गरौ तर यसरी सात गाविसका जनताले पाउने प्रसासनिक सेवा सुविधाको निम्ति केन्द्र एक छेउमा पुर्याउने काम नगरौँ।

अब यसरि मिलनचोक या माझफाँट गाविस कार्यलय कतैपनि सहमति नहुने हो भने अन्य उपयुक्त विकल्प पनि देखिन्छन।

हुनत पछिल्ला घटनाक्रम हेर्दा अब बिकल्पको अर्थ छैन भन्ने लाग्न सक्छ तर यस्ता बिकल्प र बहसहरुले चुनावमा जनतालाई जागरुक बनाउन र चुनाव पछि पनि गाँउसभालाई सहमतिको निम्ति गोरेटो बन्न सक्छ तसर्थ केही बिकल्प बारे चर्चा गरौ।
वारि बेनि/लामाखेत

parbat-beni सबैभन्दा विकल्पको रुपमा सहमति हुनसक्ने चर्चामा देखिएको वारि बेनि हो । झट्ट हेर्दा र तत्कालको निम्ति यो बिकल्प ठिकै पनि देखिन्छ। बनौ, नाग्लिवाङ बाट पनि लस्ति, खनियाँघाट झरेर सिधै बसमा आउन सकिने र माझफाँट, बासखर्कबाट पनि आधा÷एक घण्टामै झर्न सकिने तरपनि दिर्घकालिन रुपमा हेर्दा अत्याधिक बजारिकरणले जग्गाको समस्या देखिन्छ।

जग्गा बाँकि भनेको माथिल्लो फाँटमा हो । जहाँ केन्द्रको निम्ति लगभग बाँकि पूरा जग्गानै आवश्यक पर्ने देखिन्छ। जुन असम्भव प्राय छ। साथै जग्गा हडपिने डरले पनि होला बेनि बासि प्रायः मौन नै देखिन्छन। रपनि लामाखेतलाई समेटेर बनाउन सके सम्भावना कायमै छ ।
फड्केढुगा
अर्को बिकल्पको रुपमा माझफाँटकै वल्लो भेग अर्थात फड्केढुगा उपयुक्त छ भनेर बहस पनि चलिरहेको छ।यश ठाँउमा केन्द्र तोक्दा अहिले तोकिएको केन्द्र भन्दा बढि पायक पर्ने देखिन्छ। जहाँ ठूलो फाँट रहेको हुदाँ आवश्यक जग्गा व्यवस्थापन गर्न पनि सहज अवस्था छ साथै मिलनचोकबाट छोटो हुने गरि लुङ्दि पचैया हुँदै मोटरबाटो छोटाएर निर्माण गरेमा मिलनचोकबाट १५ मिनेटमै सो ठाँउमा पुग्न सकिन्छ ।

फड्केढुगालाई नै जिरो किमि मानेर हम्पाल सम्म केन्द्रीय योजना अन्तरगत निर्माणधिन मोटररबाटोले लेकफाँट, सालिजालाई करिब ३० मिनेटमै जोड्न सक्ने साथै माथिल्लो धाईरिङ, बनौ, माथिल्लो नाग्लिबाङलाई समेत माथि – माथि हुँदै यतायातले जोड्न सक्ने र निकट भविष्यमा एअरपोर्टको आवश्यता परेमा पनि सो ठाँउमा निर्माण गर्न सकिने सम्भावना आदि कारणले फड्केढुगां पनि उपयुक्त बिकल्प हो। र यस क्षेत्रमा माझफाँटबासि सहमति हुनसके, केन्द्र बाँसखर्क तर्फ नलिगि यता सार्नसके आन्दोलनरत पक्षलाई पनि नैतिक दवाब परि सहमतिको सम्भावना पनि रहन्छ।
रात्माटा /भोटेडाँडा

झट्ट यो विकल्प सुन्दा धेरैलाई हाँसो लाग्न पनि सक्छ तर साच्चिकै स्थानिय तहको मर्म अनुसार अघि बढ्ने हो भने यो सबैभन्दा उत्तम बिकल्प हुन सक्छ। गुगल म्यापमा सर्च गरि हेर्दा, चारैतिरको दुरि नाप्दा होस या भौगोलिक हिसावले पनि यो ठाउँ विच भाागमा पर्छ ।

उता बनौ, नाग्लिवाङ होस या यता बाँसखर्क, माझफाँट होस या माथि बनवढे, तल मिलनचोकसम्म होस, सबैको विचमा पर्छ भने यहाँ जग्गा व्यवस्थापन पनि सहजै सँग सर्वसुलभ रुपमै पाउन सकिन्छ ।

यहाँ मुख्य समस्या भनेको तत्कालको निम्ति सबैलाई सहज यातायातको सुविधा नहुनु हो तर दिर्घकालिन रुपमा हेरि यसलाई केन्द्र तोक्दा धेरै फाईदा हुने देखिन्छ। यस ठाँउमा केन्द्र तोक्दै एकमुष्ट रुपमा बेनि/माझफाँट फड्केढगा/ रात्माटा सडक, मिलनचोक/ खोलाखेत रात्माटा/भोटेडाँडा सडक र माथिल्लो नाग्लिबाङ–बनौ –धाईरिङ–सालिजा सडक दुई लेनको बनाउदै पिच गर्ने सहमति गर्ने हो भने सबैभन्दा उत्तम विकल्प हुन सक्छ। यी बाटो सहज बनिसकेपछि चारैतिरका जनताको सहज पहुँच पुग्छ।

हामी साच्चिकै गाउँ–गाँउको विकास र सबैलाई पायक नै खोज्ने हो भने किन माझफाँटको छेउमा केन्द्र बनाउने या यत्तिकै पनि बजारिकरण तर्फ उन्मुख भएको मिलनचोकमा केन्द्र राखेर तिब्र बजारिकरण गरि किन उर्वर भुमिलाई सिध्याउने ! बरु सबैले फराकिलो मन बनाउँ , माथि उक्लिउँ । गाँउगाँउको बिकास गरौ ।

यतिमात्र होईन रातमाटा–भोटेडाँडा केन्द्र बनाउँदाका अन्य फाईदाहरु पनि छन मैले यश अघि मैले देखेको जलजला शिर्षकमा जलजला, हम्पाल, कालञ्जर पर्वत, सिर्पुक्षेत्र हुँदै धाईरिङको भुमेस्थानलाई समेटर धार्मिक पर्यटन र अन्नपुर्ण पदमार्ग सम्म जोड्ने गरि गर्न सकिने पर्यटकिय विकासको कुरा बारे लेखेको थिए। यसरी नै रात्माटा– भोटेडाँडा केन्द्र बनाउन सके यश केन्द्र हुँदै जलजला क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुईचोँ नै लाउन सक्ने देखिन्छ ।

साथै पहाडि क्षेत्रमा यातायातको उत्तम विकल्प मानिने केवलकार समेत सञ्चालन गर्न सकिने सम्भावना रहन्छ।

जसको निम्ति मिलनचोकबाट रात्माटा–भोटेडाँडा केन्द्रमा आवतजावत गर्न मिल्ने गरि जलजला सम्म नै केवलकार सञ्चालन गरि अन्नपुर्ण पदमार्ग तथा पोखरा सम्म आउने लाखौ पर्यटकलाई भित्राउन सकिनेछ। अझै यो ठाँउमा केन्द्र बनेमा म्याग्दिका पर्यटकिय गाउँ नाँगि, राम्चे, काफलडाँडा समेतलाई केन्द्र अपायक परिरहेको अवस्थामा ती क्षेत्र पनि यतै गाभिन सक्ने प्रवल सम्भावना रहन्छ ।

तसर्थ हामिले यश ठाँउमा केन्द्र तोकि कम्तिमा ५ वर्ष पैदल हिडेरै भएपनि दुख गरि अबको चुनवमा राम्रो नेतृत्व चयन गर्दै यातायातको बिकास गर्न सक्यौ भने पर्यटकिय हिसावले मात्र पनि अर्को ५ वर्षमा सम्पुर्ण गाँउनै कायलपट हुनसक्नेछ।

अब सरसर्ति पछिल्लो घटनाक्रम हेर्दा अहिले चलिरहेको आन्दनेलनले सिधै केन्द्र परिवर्तन गर्न सक्ने त होईन तर वार्ताको निम्ती नेताहरुमा दवाब पर्नुका साथै जनता जागरुक भई भोलिको चुनावमा नतिजा तलमाथि पर्न चाहिँ पक्कै सक्छ।

पछिल्लो समचार अनुसार पनि सरकारले अहिले तोकिएको केन्द्र अस्थाई हुन। अब चुनाव पछि गाउँसभाको समान्य बहुमतले केन्द्र तोक्न सक्ने भनेर आईसकेकोअवस्था भएतापनि स्थानिय नेताले वार्ताबाटै सहमति खोज्ने सम्भावना चाहिँ रहि नै रहन्छ तर स्थानिय नेताको गतिविधि हेर्दा र मुखैमा आएको चुनावले गर्दापनि तत्काल बार्ताबाट सहमति हुने सम्भावना क्षीण बन्दै गईरहेको छ तसर्थ अन्तिम विकल्प भनेको चुनाव नै हुने देखिन्छ।

अब अन्तिम विकल्प बारेपनि चर्चा गरौ ।
सरकारले चुनाव पछि हुने गाँउसभाको सामन्य बहुमतले केन्द्र तोक्ने भनिसकेको अवस्थमा जलजला गाँउपालिकाको ९ वडा मध्येबाट प्रत्यक वडाबाट एकजना वडाध्यक्ष सहित ५ जनाको दरले ४५ सदस्य र गाँउपालिका अध्यक्ष र उपध्यक्ष गरि २ तथा दलित–अल्पसंख्यकबाट २ गरि ४९ सदस्यिय गाँउसभा बन्नेछ।

जसको सामन्य बहुमत भनेको २५ जना , यसरी हेर्दा यो अवस्थामा मिलनचोक र माझफाँट केन्द्रको पक्ष बिपक्षमा मतदान हुने अवस्था आएमा जसले २५ सदस्य पुर्याउन सक्छ उतै केन्द्र रहनेछ।

यो बिषयमा सामान्य बिष्लेसण गर्दा बनौ, नाग्लिबाङ, धाईरिङ, सालिजा मिलनचोकको पक्षमा देखिएका छन । उक्त ४ वडाबाट २० सदस्य र माझफाँट र लेकफाँटका केही क्षेत्रले पनि समर्थन गर्न सक्ने हुदाँ २५ सदस्य पुर्याउन सक्ने सम्भावना छ ।

माझफाँट केन्द्रको पक्षमा चाहिँ बाँसखर्क, माझफाँटका तीन वडा, लेकफाँटको केही क्षेत्रले समर्थन गरेमा र माझफाँटका केही क्षेत्र विभाजन नभएमा २५ सदस्य पुग्ने सम्भावन उत्तिकै बलियो छ साथै अझै बलियो बनाउन केन्द्र बाँसखर्क तिर नलगि फड्केढुगां तर्फ सहमति गर्न सके माझफाँटको ३ वटै वडा एक ढिक्का हुने साथै फड्केढुगा– पिडाल्ला–रातमाटा मोटरबाटोको कारणले पनि लेकफाँट , सालिजाले समेत समर्थन गर्न सक्ने सम्भावन पनि छ।

यस्तै गाँउपालिकाको अध्यक्ष, उपध्यक्ष साथै सदस्यमा कस्तो व्यक्तिहरु विजयि हुन्छन साथै पार्टि या जिल्ला तिरको नेताहरुको दवाब आदि कारणले पनि नतिजा तलमाथि पर्न सक्नेछ।

उता तेस्रो पक्ष अर्थात लेकफाँट, सालिजाका नेतृत्वले राम्रो लबिङ गर्न सके धाईरिङ, बनौ र नाग्लिवाङलाई मनाएको खण्डमा र आन्दोलनरत पक्षले पनि मनमुटाव र प्रतिष्ठाको बिषय बनाई जसरि पनि माथि उक्लनि नै हो भने रात्माट – भोटेडाँडा नै जाउँ भनि लेकफाँट, सालिजा तिर समर्थन गरेको खण्डमा ५ वडाको सजिलै सँग २५ सदस्य पुगि केन्द्र रातमाटा – भोटेडाँडा पुग्ने सम्भावन पनि उत्तिकै बलियो छ।

अब स्थानिय नेताहरुले आफ्नो तित्राको जत्रो छातिलाई अल्लि फराकिलो बनाई, घरमा बसि कता बढि छ भनी क्याल्कुलेटर हानि भोट गन्नुको सट्टा वार्ता गरि सहमति गर्न सके गाउँ विकासतर्फ अघि बढ्ने थियो अन्य चुनावमा बुथ कब्जा, धाँधलि साथै आफ्नो ठाँउमा केन्द्र पार्नको निम्ति राम्रालाई भन्दा हाम्रालाई भोट दिने आदि कारणले असल नेतृत्व नआउने साथै चुनाव पछि पनि गाँउसभाका सदस्यहरु मोटो रकममा खरिदविक्रि हुने सम्भावना उत्तिकै रहनेछ। जसले गर्दा गाउँपालिका सुरुवातमै विकासतर्फ भन्दा पनि भ्रष्टाचार तर्फ उन्मुख हुनेछ तसर्थ नेता मात्र होईन जनता पनि समयमै सचेत बन्दै सहि विकल्पको निम्ति पहल गरौँ।