ताजा समाचार:
Search

आइतबारभित्रै स्थानीय तहमा कर्मचारी खटाउने सरकारको गृहकार्य

२६ फागुन, काठमाडौं ।

ministry-of-local-development-Sthaniya-Bikasसंघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आगामी आइतबारसम्म स्थानीय तहमा कर्मचारी खटाउने गृहकार्य गरेकोे छ ।

मन्त्रालयले आफूसँग भएको कर्मचारीलाई आइतबारसम्म खटाइसक्ने र बाँकी नपुग कर्मचारी सामान्य प्रशासन मन्त्रालयसँग माग्ने तयारी गरेको छ । गाउँपालिका कार्यकारी प्रमुखका लागि मन्त्रालयलाई करिब ४ सय अधिकृत तहका कर्मचारी अभाव हुने अनुमान गरेको छ ।

नगरपालिका/उपमहानगरपालिकामा उपसचिव

मन्त्रालयले नगरपालिका र उपमहानगरपालिकामा उपसचिव तहको कर्मचारी खटाउने तयारी गरेको छ । मन्त्रालयले सबै नगरपालिकामा कम्तिमा उपसचिव नै खटाउने गरी गृहकार्य गरेको हो । मन्त्रालयले प्रस्ताव गरेको स्थानीय तह कार्यसञ्चालन विधेयकमा पनि नगरपालिकाको नेतृत्व उपससचिवले गर्ने प्रस्ताव छ ।

गाउँपालिकामा अधिकृत

यस्तै मन्त्रालयले गाउँपालिकाको कार्यकारी प्रमुखको रुपमा अधिकृत तहको कर्मचारी खटाउने तयारी थालेको छ । तर मन्त्रालयसँग अहिलेसम्म प्रयाप्त अधिकृतको संख्या नभएको मन्त्रालयले जनाएको छ । सबै गाउँपालिकामा अधिकृत खटाउन करिब चार सय अधिकृत अपुग हुनसक्ने स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिएका छन् । उनले अपुग कर्मचारीका लागि सामान्य प्रशासन मन्त्रालयसँग छलफल गरिरहेको समेत बताएका छन् ।

यस्तै मन्त्रलायले देशभरका जिल्ला विकास समितिमा रहेका योजना अधिकृतहरुलाई समेत कार्यकारी प्रमुख बनाएर गाउँपालिकामा खटाउने गृहकार्य गरेको छ ।

अधिकृत नपाए सुब्बा पनि कार्यकारी प्रमुख

मन्त्रालयले तत्काल आवश्यक संख्यामा गाउँपालिकामा प्रमुखको रुपमा खटाउन अधिकृत तहको कर्मचारी अभाव भए सुब्बा तहका वरिष्ठ कर्मचारीहरुलाई पनि खटाउने गृहकार्य गरेको छ । मन्त्रालयले विभिन्न गाविस मिलेर बनेको गाउँपालिकामा यसअघिको गाविसको सचिवमा रहेका वरिष्ठ सुब्बा तहको कर्मचारीलाई निमित्त कार्यकारी प्रमुख तोक्ने गृहकार्य अघि बढाएको हो ।

निर्वाचनमा कर्मचारी अभाव हुन नदिन र स्थानीय तहलाई गतिशिल राख्न मन्त्रालयले एउटा स्थानीय तह बराबर कम्तिमा ५ जनासम्म रहने गरी सबै स्थानीय तहमा कर्मचारी परिचालन गर्न लागेको हो । onlinekhabar