भीमसेन क्याम्पस विहुँ बागलुङमा महायज्ञको तयारी

खिमानन्द कँडेल/विकल्प न्यूज
फागुन ४ गते ।
khimanandha kadelयही मिति २०७३ साल फाल्गुण १३ गते देखि २१ गते बागलुङ जिल्लाको विहुँकोट गाविस वडा नं १ मा रहेको भीमसेन क्याम्पसमा धौलागिरी बागलुङ भीमसेन शैक्षिक तथा धार्मिक महोत्सव एवं श्रीमदभागवत धनधाञ्याचल ज्ञान महायज्ञ हुने भएको छ । भीमपोखरा, पाला, विहुँ, सिगाना, रेश,लेखानी, तंग्राम र धम्जा गाविसहरुको केन्द्रको रुपमा विहुँ गाविसको सुल्डाँडामा रहेको भीमसेन क्याम्पस अहिले महायज्ञमय भएको छ ।

भीमसेन मावि, भीमसेन उच्च मावि हुँदै भीमसेन क्याम्पस बनाउने अभियानमा यस क्षेत्रका ७ वटा गाविसहरुको सँधै नै महत्वपूर्ण भूमिका रहँदै आएको छ । भीमसेन क्याम्पस र कक्षा ९ देखि १२ सम्म हाल संचालनमा रहेको सिभिल इन्जिनियरिङ विषयका विद्यार्थीहरुको लागि भवन निर्माण एवं संचालनार्थ गर्न लागिएको यस महायज्ञको सफलताको कामना गर्दै यस महायज्ञको आवश्यकता र महत्वको सन्दर्भमा केही सन्दर्भहरु यस लेखमा उठान गर्ने जमर्को गरिएको छ ।
(१) सुल्डाँडा ७ गाविसको केन्द्रविन्दु ः

प्रस्तावित गाउँपालिका अन्र्तगत माथि उल्लेखित ५ गाविस र २ वटा गाविसका वडाहरुको केन्द्रविन्दुको रुपमा अछेते ÷सुल्डाँडा प्रस्तावित भएको छ । सडक संरचनाहरुको विकास हुनुपूर्व सुल्डाँडा यस क्षेत्रको मात्र नभएर पहाडी भेगको पूर्व पश्चिम हुलाकी सडकको महत्वपूर्ण केन्द्र समेत रहेको थियो ।
(२) भावनात्मक सम्बन्धको आधार ः

यस क्षेत्रमा रहेका विभिन्न गाविसहरुका जनताहरुलाई स्थानीय स्तरमा नै उच्च शिक्षा उपलब्ध गराउने केन्द्रको रुपमा तत्कालीन भीमसेन माविको महत्वपूर्ण भूमिका रहेको छ । विहुँबाट मात्रै नभएर विशेष गरी भीमपोखरा, पाला, रेश, तंग्राम र सिगानाबाट सयौंको संख्यामा विद्यार्थीहरु यहाँ पढ्न आउने केन्द्रको रुपमा यसको अलग्गै परिचय छ । यस विद्यालयबाट शिक्षा प्राप्त गर्ने विद्यार्थीहरु अहिले देश तथा विदेशका विभिन्न पेशा तथा व्यवसायमा समेत स्थापित भैसकेका छन् । त्यसैले देश तथा विदेशमा रहेका यस क्षेत्रका जनताहरुको भावनात्मक एकताको आधारको रुपमा भीमसेन क्याम्पस रहेको छ ।
(३) सांस्कृतिक सम्बन्धको महत्व बोकेको महायज्ञ ः

पछिल्लो समयमा पेशा तथा रोजगारीको सन्दर्भमा गाउँबाट विस्तारै मानिसहरुको बसोबास स्थानीय बजार, शहर वा विदेशमा बढ्दै गएको छ । पहिलो पुस्ता स्थानीय स्तरमा नै घुलमिल भएको सन्दर्भले आफ्नो गाउँ ठाउँ प्रतिको मायाँ सँधै रहिरहने र दोस्रो पुस्ताको स्थानीय क्षेत्रसँगको सम्पर्क अत्यन्त कमजोर हुँदै गईरहेको सन्दर्भले विशेष गरी ग्रामीण क्षेत्रको दीर्घकालीन विकासमा नकरात्मक प्रभाव पारिरहेको छ । यस सन्दर्भमा यसरी आयोजना हुने महोत्सव र महायज्ञहरुबाट दोस्रो र तेस्रो पुस्तालाई समेत भावनात्मक एवं सास्कृतिक एकताको मालामा जोड्नको लागि महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले देश तथा विदेशमा रहेका सम्पूर्ण यस क्षेत्रका जनताहरुसँग प्रत्यक्ष सम्पर्क, समन्वय र सांस्कृतिक एकताको मालाको रुपमा जोड्ने पर्वको रुपमा समेत यस महायज्ञलाई लिईएको छ ।
(४) भविष्यको इन्जिनियरिङ कलेज ः

यस विद्यालयले विगत देखि नै शिक्षाको क्षेत्रमा गुणस्तरीय जनशक्तिहरु उत्पादन गर्दै आईरहेको छ । अहिले यस विद्यालयमा कक्षा ९ देखि कक्षा १२ सम्म सिभिल इन्जिनियरिङ विषयमा अध्ययन भैरहेको छ । स्थानीय स्तरमा नै सिभिल इन्जिनियरिङ बिषयमा विद्यार्थीहरुले अध्ययन गरिरहेको सन्दर्भमा निकट भविष्यमा नै भीमसेन क्याम्पसलाई इन्जिनियरिङ क्याम्पसको रुपमा विकास गर्न सकिने संभावना रहेको छ । विकास निर्माणको लागि चाहिने दक्ष जनशक्ति यस क्षेत्रबाट उत्पादन गर्नको लागि भीमसेन क्याम्पसको महत्वपूर्ण भूमिका रहने निश्चित प्रायः नै छ । यस क्षेत्रका जनताहरुको लागि यो एउटा महत्वपूर्ण अवसर हो ।
(५) अर्थतन्त्रका व्यापक संभावना बोकेको क्षेत्र ः

विहुँ, भीमपोखरा, लेखानी, रेश, सिगाना, पाला र तंग्राम लगायतका क्षेत्रहरुमा अहिले पनि सुन्तला एवं फलफूलको व्यवसायिक खेती समेत शुरु हुँदै गएको छ । पशुपालन, व्यवसायिक तरकारी खेती आदिको व्यापक संभावना रहेको यस क्षेत्रलाई कृषि पर्यटनको विकासको केन्द्रको रुपमा समेत विकास गर्न सकिने प्रशस्त संभावनाहरु छन् ।
(६) सडक पूर्वाधारको विकास र यसको प्रभाव ः

अछेते र सुल्डाँडा क्षेत्र प्रस्तावित गाउँपालिकाको केन्द्रविन्दुको रुपमा प्रस्तावित भएको सन्दर्भ र मध्यपहाडी लोकमार्ग समेत अछेते बजार हुँदै जाने भएकोले अछेते र सुल्डाँडा आसपासका क्षेत्रहरुमा भविष्यमा बस्ती विस्तार हुने व्यापक संभावना रहेको छ ।

हाल मध्यपहाडी लोकमार्ग पिच हुने प्रकृयामा रहेको, कालिगण्डकी कोरिडरको निर्माण समेत अत्यन्त द्रुततर गतिमा बनिरहेको सन्दर्भमा भविष्यमा चितवन, नवलपरासी, बुटवल र अत्य क्षेत्रमा स्थायी बसोवास गरिरहेका यस क्षेत्रका स्थानीय जनताहरु समेत विकासको सुगमताले गर्दा पुनः बसोबासको लागि यस क्षेत्रमा आउने संभावना रहेको छ ।

त्यसैले व्यापक संभावना बोकेको यस क्षेत्रमा यस क्षेत्रका सम्पूर्ण राजनीतिक दल, समाजसेवी, वुद्धिजिवी र स्थानीय जनताहरुले भीमसेन क्याम्पसमा आयोजना हुन लागेको महायज्ञमा आर्थिक एवं रचनात्मक सहयोग गर्नु महत्वपूर्ण सहयोग हुनेछ ।

यस क्षेत्रबाट देश भित्र बागलुङ बजार, पोखरा, काठमांडौ, चितवन, नवलपरासी र वुटवल क्षेत्रमा उल्लेख्य संख्यामा जनताहरुले स्थायी बसोवास गर्दै आएका छन् भने विदेशमा जापान, अमेरिका, अष्ट्रेलिया, युरोपका विभिन्न देशहरु, क्यानडा, भारत र खाडी देशहरुमा समेत उल्लेख्य स्थानीय जनताहरुले पेशा तथा व्यवसाय गर्दै आएका छन् ।

त्यसैले स्थानीय अगुवाहरु र जनताहरु स्थानीय शैक्षिक पूर्वाधारको विकासको लागि गर्न लागेको यस महायज्ञमा हामी सम्पूर्ण देश तथा विदेशमा रहेका स्थानीय अगुवा, समाजसेवी, वुद्धिजिवी र सफल उद्यमीहरुको आर्थिक रकम संकलन र सांस्कृतिक एकताको मालामा जोडिने सन्दर्भमा यो महायज्ञ महत्वपूर्ण सावित हुनेछ ।
यस महायज्ञको ऐतिहासिक सफलताको लागि विशेष गरी विहुँ, भीमपोखरा, पाला, सिगाना, लेखानी, तंग्राम धम्जाका अगुवाहरुको महत्वपूर्ण भूमिका रहने साथै यस महायज्ञमा यस क्षेत्रका जनताहरुले देश तथा विदेशमा रहेका अगुवाहरुको सकृय भूमिकाको अपेक्षा गरेका छन् । लेखक विहुँ काठमांडौ समाजका सचिव हुनुहुन्छ