उही लहरमा दुरुस्त त्यसरी नै उभिने अवसर मिलेको छ, जसरी झन्डै आठ दर्जन विद्वान् साहित्यकारहरू यसअघि उभिनुभएको थियो र आफ्ना पवित्र पाइलाहरूले यो भूमिलाई गौरवान्वित बनाउनुभएको थियो । तिनै आदरणीय अग्रजहरूका पवित्र पावन पदचिह्नमाथि उभिनु पर्दा मेरा गोडाहरू लगपकाएका छन् । तीव्र गतिमा मुटु स्पन्दित भैरहेको छ ।
नेपाली साहित्यका महारथीहरूको त्यही विराट उपस्थितिले निर्माण गरेको तेजस्वीे आभाको सगरमाथासमक्ष उभिएर सम्बोधनका दुई शब्द उच्चारण गर्न खोज्दा मेरा दृष्टिविन्दुहरू तिर्मिराइरहेका छन् र विस्तारै–विस्तारै आफ्नो भौतिक उचाइ खिइँदै, दुब्लाउँदै गएर ‘लिलिपुटे मानव’ मा रुपान्तरित भएजस्तो अनुभूति गरिरहेको छु ।
मेरो ठुटे कलमलाई मदन पुरस्कारले अकल्पनीय स्थान र मान दियो । साहित्यकर्र्मीहरूको लहरमा उभिने गौरवपूर्ण अवसर दियो । त्यसका लागि जतिपटक आभार व्यक्त गरे पनि कमै हुन्छ ।
मदन पुरस्कारले खुसी दिएको मात्र होइन, रुवाएको पनि छ । गत सितम्बर ४ को अपराह्न ३ : ४५ बजे मदन पुरस्कार गुठीका सम्माननीय अध्यक्षज्यूसँग भएको संक्षिप्त फोन संवादपछि मेरो भरिएको मनलाई मेरा आँसुहरूले निर्धक्क सघाएका थिए ।
एउटै बाँचेको सन्तान धेरै वर्ष देशविदेश घुमेर सकुशल घर फक्र्यो भने बूढीआमाका नयनसागरबाट आँसुका अजस्र स्रोतहरू निःसृत हुन्छन् । ती अनमोल आँसुहरू हर्षका मात्र हुँदैनन्, वर्षौंअघि किशोर वयमा पाइलो राख्ने अवसरसमेत नपाउँदै कालकवलित भएका हतभागी सन्तानहरूको सम्झनाका आँसु पनि मिसिएका हुन्छन् । उम्लिएर
पोखिन खोज्ने त्यस्तै पीडाका अनुभूतिहरूलाई रोक्ने शक्ति सामथ्र्य मसँग पनि थिएन ।
‘महारानी’ को कथा दुई शताब्दीभन्दा लामो समयदेखि विस्मृतिको गर्भमा पातालिएको इतिहास उत्खननको साधारण र सपाट विवरण मात्रै हो । त्यही टिपोटलाई मदन पुरस्कार गुठीले साहित्यको दर्जा दियो । गुठीको त्यही निर्णयले यहाँ यसरी उभिने र अभिव्यक्त हुने अवसर मिल्योे । त्यसका लागि गुठीप्रति हार्दिक आभार अर्पण गर्दछु ।
अघिल्लो पुस्ताले आफ्ना अनुभव र अनुभूतिको दस्तावेज तयार गरेर राखिदियो । पछिल्लो पुस्ताले अग्रजका लेखोटहरूको विशेषता र बान्कीका आधारमा परिभाषा बनायो ।
पहिले साहित्य जन्म्यो, त्यसपछि परिभाषा । अर्थात् आफ्नै परिभाषाभन्दा साहित्य जेठो छ । त्यसैले परिभाषाको संकुचित घेरामा खुम्चिएर साहित्य बस्दैन । बस्न सक्तैन । कुनै सीमा र बन्धनले साहित्यलाई सदाकाल ठिँगुराएर राख्न सक्दैन । सक्ने छैन ।
साहित्यमा मानव जीवन बोल्छ । समाज बोल्छ । समय बोल्छ । मानिसको भोगाइ र अनुभूतिहरूले वाणी पाउँछन् । मानव अनुभूतिभित्र खुसी र आनन्द मात्र होइन, पीडा, क्रन्दन र चित्कार पनि खाँदिएका हुन्छन् । कलाका अन्य विधामा भन्दा साहित्यमा एउटा विलक्षण फरक सामर्थ्य रहन्छ । क्रन्दन र चीत्कारलाई कस्तै कुशल संगीतकारले पनि मधुर धुनले सजाउन सक्दैन । तर साहित्यले गालीलाई पनि श्रुतिमधुर बनाउन सक्छ । लालित्यपूर्ण बनाउन सक्छ । सुरुचिपूर्ण पाठ्यसामग्री बनाइदिन सक्छ । त्यो कसीमा राखेर हेर्दा महारानीले साहित्यको दर्जा पाउनु र पुरस्कृत हुनु मेरा लागि कल्पनातीत विषय थियो ।
मैले साहित्यको सम्बन्धमा बोल्ने हैसियत आर्जन गरेको छु भन्न मिल्दैन । त्यसैले विद्वतजनहरूसमक्ष अभिव्यक्त भएको आफ्नो नादान धृष्टताका लागि विनम्रतापूर्वक क्षमा याचना गर्दछु र, ‘महारानी’ उपन्यासको पृष्ठभूमि अलिकता कोट्याउने अनुमतिको अपेक्षा राख्दछु ।
इतिहासका पुस्तकमा मात्र होइन, लोककथनमा पनि लामो समयसम्म इतिहास जीवित रहन्छ । लिखतमा नउतारिएको कुनै कालखण्डको ऐतिहासिक तथ्यमा अतिरञ्जनाहरू थपिँदै जाँदा त्यो किंवदन्तीमा रुपान्तरित हुन्छ । आवरणमा जे जस्ता कथा जोडिएका भए पनि त्यसको गर्भगृहमा इतिहास जिउँदै हुन्छ ।
तथ्यप्रमाणले पुष्टि गर्न नसकिने इतिहास साहित्यको माध्यमबाट अभिव्यक्त हुन्छ । साहित्यमा इतिहासको र इतिहासमा साहित्यको गौरवपूर्ण उपस्थिति रहन्छ । इतिहास मानव जीवनको मूल्यात्मक विकास हो, मूल्यको भाषिक अभिव्यक्ति हो –साहित्य । साहित्यमा कल्पनातत्व प्रबल रहन्छ, इतिहासमा तथ्य ।
ऐतिहासिक घटनाक्रमको पीँधसम्म पुगेर सुनिएका–नसुनिएका, परिचित–अपरिचित, दृश्य–अदृश्य घटना र पात्रहरू समातेर विश्वसनीय आख्यान रचना गरिन्छ । इतिहासमा छुटाइएका वा लेख्न इन्कार गरिएका अथवा उपेक्षित विषयहरू आख्यानमार्फत सार्वजनिक हुन्छन् । ‘इतिहास अतीत र वर्तमानबीच निरन्तर चल्ने संवाद हो’ भन्ने ई.एच. कारको भनाइ यस अर्थमा यथार्थनिकट सावित हुन्छ । सत्य र कल्पनाको सुन्दर संयोजनबाट सिर्जना गरिएको आख्यानले विश्वसनीय इतिहास बन्ने सामथ्र्य राख्दछ ।
इतिहासको पुनर्लेखन मात्रै होइन, आख्यान इतिहासको पुनर्संरचना समेत बन्न सक्दछ । इतिहास आधारित आख्यानमा यथार्थ चेतना र कल्पनाको मोहक समन्वय मात्र हुँदैन, इतिहासका कठिनतम क्षणसँग समाजलाई साक्षात्कार गराउने तागत पनि हुन्छ । अझ आन्द्रे लेभीले भनेजस्तै इतिहासले खाली छोडेको ठाउँ आख्यानकारका कल्पनाले भरिदिन्छन् । बरु इतिहासमा वास्तविक इतिहास नभेटिन सक्छ तर आख्यानमा इतिहास सदाकाल जीवित रहन्छ ।
दुई शताब्दी लामो कालखण्डसम्म जुन भूमिमा महारानीको कथा दबिएर रहेको थियो, संयोगवश मेरो जन्म पनि त्यही माटोमा भएको थियो । महारानीसँग जोडिएका अनेक अपत्यारिला कथा–गाथाहरू सुन्दै सुनाउँदै हुर्कने अवसर जुरेका हुनाले तथ्यको गहिराइमा पुगेर इतिहास उधिन्ने उत्कट अभिलाषा थियो । किंवदन्तीमा रुपान्तरित भएको महारानीको कथालाई उपन्यासमा उतार्न पाउँदा पउल लेख्य सामग्रीको अभावमा आकांक्षा अधूरै रहन्छ कि भन्ने मेरो चिन्ताको सुखद अन्त्य भएको छ । यो आख्यान इतिहासकै अस्थिपञ्जरमा भरिएको मांसपिण्ड हो ।
साहित्य रचनाको अभ्यास समयको गतिसँगै कदम मिलाएर पल्लवित, पुष्पित, परिमार्जित र विकसित हुँदै जाने हो । मानिसको जीवनयात्रा जस्तै समयक्रममा बालक, किशोर, जवान हुँदै परिपक्वतातिर उन्मुख हुने हो । दुर्भाग्यवश मेरो लेखनयात्रा बुढ्यौलीमा बल्ल वामे सर्दैछ । तन्नेरी हुन नपाउँदै अवसानको नियति भोग्न अभिशप्त हुने मेरो साहित्यिक जीवनका लागि दुःखमनाउ गर्नुको कुनै अर्थ रहँदैन ।
लेखन यात्राले दीर्घजीवन पाउला–नपाउला, अल्पायुमै कालकवलित हुन पनि सक्छ । त्यसैले मेरो कलमलाई किञ्चित पहिचान दिलाउने ‘महारानी’ को लेखनमा घचघच्याउने, सघाउने र हौस्याउने सबै विद्वान् बन्धुप्रति कृतज्ञता ज्ञापन गर्दछु । साहित्यको फाँटमा अपरिचित कलमलाई प्रोत्साहित गर्ने र समाजसामु पस्कने जोखिम उठाउने शिखा प्रकाशनप्रति पनि कृतज्ञता ज्ञापन गर्दछु ।
र, अन्त्यमा देवीको दर्जा पाइसकेकी महारानी विश्वप्रभाका मानवीय भावनाहरू उधिनपत्ताल पार्ने, छेडखान गर्ने र बिना अनुमति सार्वजनिक गरिदिने धृष्टताका लागि दुःखी छु । अपराधबोधमा पिल्सिएको छु । तिम्रा खाटा बसिसकेका घाउहरू कोट्याउने नादानी पुनः दोहोरिने छैन, कमसेकम मबाट त्यो अपराधको पुनरावृत्ति हुने छैन भन्ने वाचा पनि गर्दछु ।
फेरि अर्को एकपटक मदन पुरस्कार गुठीप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै विराट गरिमायुक्त विद्वतसभासँग मेरो वाणीलाई विश्राम दिने अनुमति माग्दछु ।
(‘महारानी’ उपन्यासका लागि मदन पुरस्कार बिजेता लेखक बानिँयाले आइतबार मदन पुरस्कार गुठीद्वारा आयोजित समारोहमा व्यक्त मन्तव्यको अंश)onlinekhabar