नवविकल्प राउन्ड टेबलप्रि–मनसुन सुरु भएको छ । लगातारको भूकम्प पराकम्पनले पहाड चर्कने र पहिरो खस्ने क्रम म्याग्दीमा जारी छ । काफलडाँडा पहिरो भूकम्पले खसेको हो । १६ घन्टा कालिगण्डकी थुनियो र विश्वले म्याग्दीमा आँखा केन्द्रित ग¥यो । तर, के सम्भावित मनसुन विपत्तिलाई लिएर हामी सतर्क छौं ? उद्धार, राहत र पुननिर्माणमा सजग छौं ? मुस्ताङको लेतेदेखि सदरमुकाम बेनीसम्म लम्बिएको कालिगण्डकी गल्छेंडोको विपत्ति कसरी टार्न सकिन्छ ? यसबारे हामीले जिल्ला भूसरंक्षण प्रमुख दीवाकर पौडेल, बेनी बजार संरक्षण समिति अध्यक्ष हरिकृष्ण श्रेष्ठ र संचारकर्मी घनश्याम खड्कासँग यसबारे छलफल चलाएका छौं । पढ्नूस ः
मनसुन सुरु हुन थालेको छ । विपत्ति रोक्न सकिदैन तर, राहत, उद्धार र न्यूनीकरणमा कस्तो पहल गर्न सकिन्छ ?
दीवाकर ः
म्याग्दी कालिगण्डकी, म्याग्दी खोला र राहुगंगाको जलाधार क्षेत्र हो । भूगोल कमलो र खोंचिलो छ । नदीले जमिन खियाएर बग्ने क्रम जारी छ । हरेकवर्ष ५० मिटर नदी गहिरिँदो छ । बस्ती भिरालो पहाडमा छन् । पहाडको टुप्पोमा पत्र–पत्र छन् । अनुभवले हेर्दा पनि जोखिमपूर्ण थलो हो । नदीको कटानी एकातिर छ भने पहिरो अर्कोतर्फ । भूकम्पले ठाउँठाउँमा धाँजा फाटेको छ । माथिल्लो तटीय क्षेत्र, गलेश्वर, बेनी हुँदै त्रिवेणीसम्मको बस्ती र त्रसित छन् । बेलैमा सतर्क हुनुपर्छ । ३८ गाविस पहिरोको उच्च जोखिममा छन् । कुइनेमंगलेका ५ वडा, पुलौचार चिप्लेटीका ४० घर, ओखरबोट ९ जुकेपानी, पात्लेचौर ३ र ४ वडाका ६० घरधुरी जोखिममा छन् । यी ठाउँमा पहिरो ठाडो झरिरहेको छ । राहुगंगा अर्को अवरोध हुनसक्छ । पाखापानी ९स्थित रायखर्क पहिरोबाट २० घर जोखिममा छन् । भकिम्ली तोराखेतमा पहिरो चल्दैछ । यो पहिरो नियन्त्रणविहिन देखिन्छ । खबराको भसभसे पहिरो ठूलो हो । कालिगण्डकी र म्याग्दी खोलाको संगममा रहेको यो पहिरोले वर्षेनी सडकलाई ५ मिटर तल सारेको छ । खर्सुपानीको पहिरोले ३, ४ र ५ वडालाईं संकटमा पारेको छ । झिं गाविसको घ्यागी पहिरोले २ सय १५ घरधुरी जोखिममा छन् । शिख गाविसको घट्टेखोलामा पहिरो छ । बेनीसहित म्याग्दीमा समग्र १ हजार घर पहिरोको जोखिममा छन् । कुनैबेला बेनी बजार पनि सतर्क हुनु जरुरी छ । मनसुन सुरु हुना साथ भूकम्पले चर्किएको पहाड खस्ने सम्भावना छ । निस्कोटमा पछिल्लो भूकम्पले पहाड चर्किएर धाँजा फाटेको छ । यी जोखिमबाट सु–सूचित हुन सके मानवीय क्षति कम हुनसक्छ । कतिपय ठाउँमा मानवीय क्रियाकलाप पनि जिम्मेवार छन् । डोजर चलाएर र इन्जिनियरिङ डिजाइन बिना जमिन खन्दा जोखिम बढाएको छ । भकिम्लीमा डोजरले खनेर थुपारेको माटो पहिरो बन्दा केही घर विस्थापित भए । बाटोले पनि पहिरोको रुप लिएको छ ।
दिगो विकासको अवधारणा, हरियाली विकासको सोच हुनु जरुरी छ ।
हरिकृष्ण ः बर्खामा पहिरो खस्ने खतरा छ । त्यसबाट सिर्जित बाढीले पहिरो खसेको अनुभव हामीसँगै छ । यसलाई रोक्न पहल गर्नुपर्छ । म्याग्दीको सन्दर्भमा विगतमा सरकारीतर्फबाट तदारुकता पनि देखाइयो । दलका युवा संगठनले पनि उद्धारमा सक्रियता जनाएको स्थिती छ । २०४४ मा ठूलो बाढी आएर क्षति पु¥याएको हो । साँघुरो बेनीलाई अझै कटान गरेको छ । पोखरास्थिती जलउत्पन्न प्रकोप डीभीजन कार्यालयबाट ६० मिटर जति ग्याभिन तारले तटबन्ध गर्न लागेका थियौं तर १० गतेको पहिरोपछि भने हुँदैन कि भन्ने लागेको छ । म्याग्दी र पर्वत बेनी संरक्षणका लागि सरकारी स्तरबाटै ड्राफ्ट तयारी हुँदैछ । उहाँहरुले भूगोलको अध्ययन गरेर अग्ला आरसीसी वाल जसलाई बाढीले नाघ्न र भत्काउन नसक्ने ढंगले तयार गर्दै हुनुहुन्छ । सामान्य मात्र होइन, १९९०, २०१४ र अहिले आएको बाढीलाई समेत रोक्न सक्ने वाल बनाउने कुरा छ । १० र १५ वर्षबीचमा जहिले पनि ठूलो बाढी आएको इतिहास छ हामीसँग । भोलि नदी ५ दिन पनि थुनिन सक्छ । थुनिएर आउने भेलबाट बेनीलाई जोगाउन पनि त्यो वालको निर्माण र ड्राफिटङ बनिरहेको छ ।
घनश्याम ः हामीले बैसरी पहिरोमा जस्तो समाचार प्रेषण ग¥यौं, त्यसले आतंकित बनाएको आरोप छ । म र हाम्रो समाचारमा कमजोरी भएको अवश्य हो । राज्यले हामीलाई जोखिमको यथार्थ विवरण उपलब्ध गराउन नसकेर यस्तो कमजोरी भएको हो । कालिगण्डकी, राहुगंगा र म्याग्दी खोलामा कति पानी बग्छ, प्रवाहको गति कति हो, थुनिएपछि कति घनमिटर पानी जम्मा हुन्छ भन्नेसहितका यथार्थ विवरण उपलब्ध गराएको भए राम्रो हुन्थ्यो । यसो नहुँदा जनता त्रसित बने । भूगर्भ र जलस्रोत विज्ञ हाम्रो पहुँचमा रहेनन् ।
जोखिमपूर्ण ठाउँमा विज्ञको रिपोर्टिङ भएन । आँखाले देखेको र तथ्यमा धेरै फरक हुने रहेछ । तथ्य हामीसँग भएको रिपोर्टिङमा विश्वसनियता हुने थियो । खतराको आंकलन कसरी गर्ने भन्ने आधार हामीसँग रहेन । पहिरोको आंकलन गरिएपनि त्यसको गहिराइ, भूगोल र क्षेत्रबारे तथ्य दिनैपर्छ । २०५५ मा तातोपानीस्थित गोगनपानीपानीमा पहिरो खस्यो, त्यसपछि खसेको छैन । प्राविधिकरुपमा हामीसँग तथ्यगत रिपोर्ट भएन । मुस्ताङको लेतेदेखि बेनीसम्म ४४ किलोमिटर कालिगण्डकी गर्ज हो । यो क्षेत्रभित्रका सबै ठाउँ जोखिमपूर्ण छन् । भूकम्पपछि पहाड कमजोर छन् । भीरकाटेनेर ढुंगा खस्यो भने नदी थुनिन्छ । अन्धगल्छीमा रुख खस्यो भने पनि रोकिन्छ । त्यसको उचाइ, पानी जम्मा भएको इलाकाको चौडाइ, पानी जम्मा भएको घनमिटर पुष्टि हुनुपर्छ । मानव सभ्यता नदी किनारबाटै भएको हो । जहाँ नदी छ, त्यसको किनारमा मोटर बाटो छन् । मैले रिपोर्टिङका क्रममा केहीलाई भेटेँ । उहाँहरुले मोटरबाटोको वरपर बस्न खोज्नुहुन्छ । नदी र यहीं वरपर मैले जीवन निर्वाह गरेँ, लेकको डाँडामा जाने कुरा पनि भएन भन्नुहुन्छ । हाम्रो योजना यहीअनुसार बन्नुपर्छ । हाम्रो योजना खोला, नदी र पहाडसँगै मैत्री हुनुपर्छ । त्यसलाई मानवमैत्री बनाउन सक्नुप¥यो ।
कालिगण्डकी कोरिडोर बस्ती विकासका लागि कत्तिको सुरक्षित लाग्छ ?
दीवाकर ः भूगर्भशाष्त्रीले भनेको आधारमा पूर्व बर्मा र धौलागिरीको पश्चिमको भाग पश्चिमको अफगानिस्तानसम्म फैलिएको छ । त्यसको मिटिङ प्वाइन्ट धौलागिरी हिमश्रृंखला हो । यहींनेर नदी गहिरिएको कारण पनि यही नै हो । राम्चे पहाडमा हेर्दा नदीको सतहभन्दा पहाड १५ सय मिटरको अग्लो छ । त्यसको खोंचमा हाम्रा बस्ती छन् । नदीबाटै सभ्यताको विकास भैराखेको छ । मानवीय र विकासका पूर्वाधार पनि यहीं छन् । बाजा बजाएर विपत्ति आउँदैन तर, पूर्व संकेत चाहिँ हुनसक्छ । मानवीय क्षति कम हुने गरि दीर्घकालिन योजना बन्नुपर्छ । तत्कालका लागि जाली लगाउने, नदी किनारका बस्ती सुरक्षित हुने गरि तटबन्ध गरिनुपर्छ । सामान्य संरक्षणले मानवमैत्री हुन सक्दैन । एउटा पहिरो नियन्त्रण गर्न २, ४ करोड चाहिन्छ । २, ४ लाखले पहिरो नियन्त्रण हुँदैन । लेदो निकालेर पहाड सुकाउने महंगो जापानी प्रविधि हामीसँग छैन । हामीकहाँ वर्षमा १ करोड बजेट पनि आउँदैन । सचेतना अपनाउने दीर्घकालिन योजना बनाउनुपर्छ । पहिरो खसेपछि गोहीको आँसु बगाएर हुँदैन ।
घनश्याम ः कालिगण्डकी किनारमा एकीकृत बस्ती विकासको सम्भावना छैन ।
बीस घरलाई सामूहिकरुपमा राख्ने ठाउँ पनि छैन । हामीले गलेश्वरदेखि बेगखोलासम्म पहिरो पीडितका लागि राख्ने ठाउँ खोज्यौं तर, कहीं पनि ठाउँ पुगेन । ५, ७ घर राख्ने ठाउँ मात्र कहिंकतै छ । जिल्लाको क्षमताको आधार यही हो । संसारको गहिरो घाँटी पनि यहीँ हो । खुल्ला फाँट कहिँ नभएकाले बेनीदेखि लेतेसम्मको बस्तीलाई सुरक्षित ठाउँमा लानैपर्छ । या त यही ठाउँलाई पहाडमा लैजानुपर्छ होइन भने, जीजिविषाको आधारमा फाँट र नदी किनारका बगरलाई तटबन्ध गरिनुपर्छ । उनीहरु मेरो पुस्ताले यहीँ बाँच्न सक्यो, हामीले बाटोमै भविष्य खोज्ने हो भनेर भन्छन् । यसकारण उनीहरुलाई सुरक्षित ठाउँमा राख्नुपर्छ । कोरिडरअन्तर्गत दाना बगरबाट बनेको ठाउँ हो । तातोपानी अघिल्लो बगर हो । पोखरेबगर, तिप्ल्याङमा पहिरो खसेको खस्यै छ । बेगखोला जहाँ बस्ती नै छैन । बैसरी पुरिहाल्यो । रीठाबोट चौर बाँड्दा १० घरलाई १५–२० हात पुग्ला, त्यसपछि छैन । राहुघाटमा ८ घरलाई दिउँ भने नदी कटान भएको छ ।
हरिकृष्ण ः म्याग्दीका मुख्य बस्ती सबै नदी किनारमा छन् । बेनी, गलेश्वर, तिप्ल्याङ, दाना लगायत कालिगण्डकी किनारमै छन् । म्याग्दी खोलातर्फ बेनी, सिंगा तातोपानी, दरबाङ छन् । मान्छेले यही ठाउँलाई जीवन जिउने आधार बनाएका छन् । योजना बनाउँदा हामीले बारम्बार म्याग्दी जिल्लामा नदीबाट अत्याधिक खतरा भएकाले बजेट नदी संरक्षणमा छुट्याइयोस भन्ने चाहन्छौं । सदरमुकामको सवालमा बढी नै लबिङ भयो । यहाँ राज्यको पनि अर्बौंको सम्पत्ति छ । गुरुयोजना बनाएर संरक्षण गर्नुपर्ने कुरा आएको छ । सरकारले पूर्वतयारीमा लगानी गर्दैन तर, भैसकेपछि अर्बौं दिन तयार हुन्छ । हामी व्यवस्थापनको पाटोमा कमजोर छौं । पूर्वतयारी पटक्कै भएन । बेनीबजारलाई ५० करोड दिएमा हामीले जोगाउन सक्छौं । तर, सरकारले कनिका छरेजसरी पैसा बाँडेको छ । जिल्लाकै संरक्षणमा मेरो पनि उत्तिकै दायित्व छ । किनभने बेनीमात्र नभएर जिल्लाका महत्वपूर्ण बस्ती नदी किनारमा छन् ।
दीवाकर ः जिल्ला परिषदमा भूक्षय रोकथामका लागि कुरा राखेको हो । हामी दुईनदीको संगममा छौं । डाटाअनुसार जिल्लाको कूल क्षेत्रफलको ५५ प्रतिशत म्याग्दी खोला, ३० प्रतिशत कालिगण्डकी र १२ प्रतिशत राहुघाटले ओगटेका छन् । हामीले यी नदीका माथिल्लो भागमा बिनाश ग¥यौं भने बेनीलाई असर पुग्छ । माथिल्लो भेगमा नदीले खियाउने शक्ति तल्लो भेगमा आइपुग्दा स्क्वायरमा मल्टिप्लाइ हुने रहेछ । शुद्ध पानीले केही असर हुँदैन । पानीसँगै बस्ने ढुंगा, रुख र अन्य वस्तुले असर पार्ने हो । बेनीलाई मात्र अर्बौंको बजेट छुट्याएर हुँदैन । चार वर्ष अघिको नवविकल्प साप्ताहिक वर्ष ७ अंक ३६ मा प्रकाशित