बेग र बाँदुक जोड्ने लामो पुल उद्घाटन

विकल्प न्यूज\बेनी
बैशाख २ गते ।


म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि निर्माण गरिएको लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३ सय ६५ दशमलब ८० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको पाँच बर्षपछि मात्रै शुक्रवार उद्घाटन गरिएको हो ।

नयाँ बर्षको अवसर पारेर रघुगंगा गाउँपालिका–वडा नम्बर १ बेगले आयोजना गरेको पुल उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य खमवीर गर्वुजा, प्रदेशसभा सदस्यद्धय हरिबहादुर भण्डारी, बिमला गौचन, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी र योजना छनौटमा भूमिका खेल्ने तत्कालिन जिल्ला विकास समितिको कार्यालयका स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले संयुक्त रुपमा पुलको उद्घाटन गर्नुभएको थियो ।

पुल निर्माण कार्य सकिएको भएपनि पुलबाट बेग र बाँदुक तर्फ जाने बाटोमा गाउँपालिका र अन्य निकायबाट पदमार्ग, पर्यटन पार्क र समुदाय स्तरबाट चौतारी, विश्रामस्थल लगायतका पूर्वाधार निर्माण भएपछि पुल निर्माण भएको पाँच बर्षपछि उद्घाटन गर्नुपरेको वडा अध्यक्ष बिलबहादुर फगामीले जानकारी दिनुभयो । बेनी–जोमसोम सडकखण्डको तिप्ल्याङदेखि बाँदुक–लामो पुल हुँदै बेग भएर पर्यटकीय स्थल रुइसे जोड्ने पदमार्ग निर्माण गरी धौलागिरी आइसफल पदमार्गमा जोड्ने योजना बनाएको वडा अध्यक्ष फगामीले बताउनुभयो ।

बेग र बाँदुक गाउँको बिचमा रहेको बेगखोलाको खोचमाथि निर्माण भएको यस झोलुङ्गे पुलको १४८ मिटर भन्दा बढी अग्लाइ छ । तत्कालिन जिल्ला विकास समितिले रु २ करोड ७९ लाख ९० हजार लागतमा यो पुल निर्माणको लागि मुक्तिनाथ÷श्री गिता जेभीलाई ठेक्का लगाएको थियो । पुल निर्माणको लागि जिल्ला समन्वय समिति र स्थानीयको रु ३६ लाख बराबरको लगानीमा दुबै तर्फबाट सडकको पहुँचमार्ग विस्तार गरिएको थियो ।

यो झोलुङ्गे पुल निर्माण भएपछि बाँदुक र बेग गाउँ वारपारको लागि लाग्ने करिब ३ घण्टाको यात्रा ३० मिनेटमै छोटीएको छ । भिर र खोला नालाको अप्ठ्यारो बाटोबाट घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता लामो पुल निर्माणले हटाएपछि स्थानीयबासी उत्साहित बनेका छन् । पुल उद्घाटन कार्यक्रममा सरिक हुन प्रवासी बेगखोलाबासी समेत गृहगाउँ आएका थिए भने स्थानीयबासीले बाजागाजा सहित उत्सव बनाएका थिए ।