म्याग्दीको सिंगा तातोपानी कुण्ड विरामीले भरिभराउ (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य\म्याग्दी
फागुन २४ गते ।

प्राकृतिक उपचार स्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका ४ सिंगा स्थित तातोपानी कुण्डमा स्नान गर्ने विरामीहरुले भरिभराउ भएको छ ।

छाला, हाडजोर्नी, ग्याष्टिक, पिनास लगायतका समस्या भएका विरामीहरु तातोपानी कुण्डमा स्नान गरेर प्राकृतिक उपचार गरेमा रोग निको हुने विश्वासका साथ आएका विरामीहरुका कारण यतिखेर कुण्ड भरिभराउ भएको हो । दैनिक आठसय देखि एकहजारको हाराहारीमा विरामीहरुले कुण्डमा स्नान गर्ने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताउनुभयो ।

स्नानका लागि एउटा ठूलो पोखरी निर्माण गरिएको छ । विरामीको संख्या धेरैभएपछि विहान र बेलुका गरी दुईपटक आलोपालोको व्यवस्था मिलाइएको छ । महिला र पुरुषका लागि अलग अलग समय निर्धारण गरिएको छ । विहान दुई घण्टा र बेलुका डेढ घण्टा महिला र पुरुषले स्नान गर्ने व्यवस्था मिलाइएको छ ।

एकहप्ता सम्म स्नान गरेको तिनसय पचास रुपियाँ,एकदिनका लागि एकसय र मिनी कुण्डमा दिउसोमा एकसय,रातीमा दुईसय रुपियाँ शुल्क निर्धारण गरिएको छ ।

adv

म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, खाना रुची नहुने लगायतका स्वास्थ्य समस्या निको हुने विश्वास छ ।


कुण्डमा स्नान गर्न बागलुङ पर्वत,पोखरा,काठमाण्डौ र तराईका जिल्लाहरुबाट समेत विरामीहरु आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कतिपय गम्भिर खालका विरामीहरु पनि आउने गरेका छन् कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यले भन्नुभयो ‘त्यस्ता खालका विरामीहरुलाई हामीले प्राथमिकतामा राखेर स्नान गर्ने व्यवस्था मिलाएका छौं । दुईहप्ता कुण्डमा स्नान गरेपछि रोग निको भएपछि खुसी भएर फर्किने गरेका छन् ।’

बुटबल मणिग्रामका ६३ वर्षीय कलाधर पौडेलले ढाड दुख्ने,खुट्टा फर्किने र पिनास भएकाले उपचारका लागि कुण्डमा आएको बताउनुभयो । कुण्डमा स्नान गरेमा रोग निको हुने विश्वास छ उहाँले भन्नुभयो ‘पहिला पनि आएको थिएँ । हातका औला दुख्ने,ग्यास्टीक लगायतका समस्याका कारण १२दिन कुण्डमा ढुबेपछि रोग निको भएर फर्किएको हुँ ।

यसपाली पनि आएको छु एकहप्ता सम्म ढुब्ने योजना छ ।’ विरामी वाहेकका लागि स्नानका लागि पनि कुण्ड परिसरमा महिला र पुरुषका लागि छुटछुटै मिनी कुण्ड निर्माण गरिएको छ ।