मतदानबाट बञ्चित हुँदा निराश भए गलेश्वर आश्रमका ज्येष्ठ नागरिक

ठाकुरप्रसाद आचार्य/ म्याग्दी
मंङ्सिर २ गते ।

गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रममा वस्ने ज्येष्ठ नागरिकहरु । फाइल तस्विर ठाकुरप्रसाद आचार्य 

भोली आइतबार प्रतिनिधि सभा र प्रदेशस सभा सदस्यका लागि मतदान हुँदै छ । मत खसाल्न मतदाताहरु उत्साहित बनेका छन् । तर बेनी नगरपालिका ९ मा रहेको गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा वस्ने वृद्धवृद्धाहरुलाई निर्वाचनको माहोलले छोएको छैन । भोली आइतबार मतदान गर्ने दिन हो भन्ने सुनेको बताउँने ज्येष्ठ नागरिकहरु मत हाल्नबाट बञ्चित हुँदा निराश देखिएका छन् । फोटो सहितको मतदाता नामावलीमा समावेश नभएका कारण उनीहरु मतदानबाट बञ्चित भएका हुन ।

मतदाता नामावलीमा नाम समावेश भए ज्येष्ठ नागरिकहरुले प्रतिनिधिसभा तर्फको समानुपातिकमा मात्र मत हाल्न पाउँछन् । आश्रममा वस्ने सवै ५० जनाको फोटो सहितको मतदाता नामवलीमा नाम समावेश नभएका कारण उनीहरु २०६४ यता मतदानबाट बञ्चित हुँदै आएका छन् । २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा भने उनीहरुका लागि आश्रममै अस्थायी मतदान केन्द्र कायम गरिएको थियो । त्यसयता उनीहरुलाई मतदानमा सहभागि गराउन फोटो सहितको नामवलीमा नाम दर्ता गराउन कसैले पहल नगरेका कारण पछिल्लो मतदाता नामवालीमा नाम समावेश छैन ।
मतदान भनेको धार्मिक कार्य जस्तै हो । मतदान हाम्रो अधिकार हो तर मतदाता नामावलीमा हाम्रो नाम समावेश छैन आश्रमकी ८५ वर्षीय कलानिधि पाध्याले भन्नुभयो ‘मतदान गर्न मन त छ नी तर हाम्रो नाम समावेश गरिदिन कोही आएनन् ।’ धेरै वर्ष पहिला यही मत हालेको हो २०६४ को संविधानसभा सदस्य निर्वाचन संझिदै उहाँले भन्नुभयो ‘त्यसपछिका निर्वाचनमा मत हाल्न पाइएको छैन । यसपाली निर्वाचन हुँदै छ भन्ने सुनेको छु खोइ मत हाल्न पाइन्छ की पाइदैन मलाई थाहा छैन ।’

मंसिर ४ गते चुनाव हँुदै छ भन्छन् खै हामीसँग मत माग्न पनि कोही आएका छैनन् एकानन्द गिरिले भन्नुभयो ‘मत हाल्ने रहर थियो फोटो सहितको मतदाता नामावलीमा नाम हुनुपर्दछ भन्छन् खै दर्ता गराउन कसैले पहल गरिदिएनन ।’ हामी ज्येष्ठ नागरिकहरुको मत हाल्ने अधिकार भएपनि बञ्चित हुँदा मन दुःखेको छ गिरीले भन्नुभयो ।

सरकारी निकायले ज्येष्ठ नागरिकहरूको मनोभावना बुझने कुनै चेस्टानै नगरेको उनीहरुको गुनासो छ । मतदान गर्नबाट बञ्चित हुँदा पुण्य कार्यमा छुटेको जस्तो अनुभूति भएको छ कलावती सुवेदीले भन्नुभयो ‘एउटा मत दान गर्न पाए हुन्थ्यो भन्ने थियो खै पाइन्छ की पाइदैन केही थाहा छैन ।’ यस्तै आश्रममा वस्दै आउनुभएकी राधिका सुवेदीले पनि मत हाल्न नपाएकोमा दुखेसो पोख्नुभयो । २०६४ यताका निर्वाचनमा हामीले मत हाल्न पाएका छैनौ उहाँले भन्नुभयो ‘हाम्रो नाम पनि समावेश गरिदिए हुन्थो नी ।’

ज्येष्ठ नागरिकहरुको मतदाता नामावलीमा नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालयबाट पनि टोली यहाँ नआएको र हाम्रो ध्यान पनि नपुगेका कारण मतदानबाट बञ्चित भएको गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमवहादुर पुनले बताउनुभयो । ज्येष्ठ नागरिकहरुको मतदाता नामावलीमा नाम समावेश भएको भए अस्थायी मतदान केन्द्र कायम गर्न सकिन्थ्यो निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रनाथ शर्माले भन्नुभयो ‘नाम दर्ता छुटेको रहेछ । उनीहरुको नाम दर्ता गराउन सम्बन्धित ज्येष्ठ नागरिक आश्रमले नै पहल गर्नुपर्दथ्यो ।’

ज्येष्ठ नागरिक पनि अरु सरह कानुनको दृष्टिमा समान हन्छन, कानुनको समान संरक्षणबाट ज्येष्ठ नागरिकलाई वञ्चित गर्न मिल्दैन, ज्येष्ठ नागरिकलाई सामान्य कानुनको प्रयोगमा कुनै भेदभाव गरिने छैन भनेर प्रस्ट रुपमा संविधानमा लेखिएको छ । संविधानतः प्रदत्त गोप्य मताधिकारको संरक्षण सरकारले नै गर्नुपर्नेमा मतदानबाट बञ्चित भएका आश्रमका ज्येष्ठ नागरिकहरु बताउँछन् ।