मोना हङ्गकङ्गद्धारा शान्तिकोषको अक्षयकोषलाई ४० लाख हस्तान्तरण (फोटो-भिडियो)

ठाकुरप्रसाद आचार्य/बेनी
असोज २५ गते ।

आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न म्याग्दीवासीहरुको उपचारमा सघाउ पु¥याउन स्थापना गरिएको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई प्रवासमा रहेका म्याग्देलीहरुले ४० लाख रुपियाँ भन्दा बढी सहयोग गरेका छन् ।
मंगलबार बेनीमा आयोजना गरिएको सहयोग हस्तान्तरण कार्यक्रमकाबीच म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङ्गकङ्गले परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई ४० लाख ११ हजार एकसय ११ रुपियाँ नगद हस्तान्तरण गरेको हो ।

मोना हङ्गकङ्गका अध्यक्ष कर्ण पुनले प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना मार्फत शान्तिकोषका अध्यक्ष राजेश शाक्यलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । सहयोग रकम हस्तान्तरण गर्नुहुँदै मोना हकङ्गकङ्गका अध्यक्ष पुनले गरिब,विपन्न तथा आर्थिक अवस्था कमजोर भएकाहरुको स्वास्थ्य उपचारमा उक्त रकम प्रभावकारी रुपमा परिचालन हुने विश्वास व्यक्त गर्नुभयो । आफूहरुले विदेशमा पसिना बगाएर आर्जन गरेको रकम आर्थिक अवस्था कमजोर भएका कारण कोही पनि म्याग्दीवासीहरु उपचारबाट बञ्चित हुननपरोस भनेर स्थापना गरिएको कोषलाई सहयोग गर्न पाउँदा आनन्द मिलेको उहाँले बताउनुभयो ।

पेशा र रोजगारीका क्रममा म्याग्दीबाट हङ्गकङ्ग पुगेका म्याग्देलीहरु मार्फत उक्त रकम संकलन गरिएको मोना हङ्गकङ्गका अध्यक्ष पुनले जानकारी दिनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी,प्रमुख जिल्ला अधिकारी राना,बेनी अस्पताल व्यवस्थापन समितका अध्यक्ष ज्ञानेन्द्र सुवेदी र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल,रमेश गिरी लगायतले गरिब तथा विपन्नको उपचारका लागि प्राप्त भएको रकमको प्रभावकारी रुपमा परिचालन हुने आशा व्यक्त गर्नुभयो ।

शान्तिकोषले गरिब तथा विपन्न परिवारको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले विगत ८ वर्ष देखि म्याग्दीमा अभियान संचालन गर्दै आएको छ । जन्मथलोमा कोही पनि आर्थिक अभावका कारण उपचारबाट बञ्चित नहुन भनेर शान्ति कोषले स्थापना गरेको अक्षय कोषलाई सहयोग गरेको मोना हङ्गकङ्गका अध्यक्ष पुनले बताउनुभयो ।

सहयोग गर्ने दाताहरुलाई शान्तिकोषले संरक्षक सदस्यता प्रदान तथा सम्मान गरेको छ । दुईलाख रुपियाँ सहयोग उपलब्ध गराउने मोना हङ्गकङ्गका १५ जनालाई कोषले संस्थाको संरक्षक व्यक्तिगत सदस्यता प्रदान गरेको सचिव लोकेश पुनमगरले बताउनुभयो ।

हाइपोलास्टिीक एनीमिया रोगबाट ग्रसित ओमकुमारी पुन(शान्ति)को उपचार असफल भएपछि अभियानबाट बचेको १३ लाख रुपियाँबाट उहाँकै नामको ओमकुमारी शान्तिकोष स्थापना गरिएको थियो । कोषमा अहिलेसम्म करिब एककरोड ४३ लाख रुपियाँ सकंलन भएको कोषका कार्यालय सचिव डकबहादुर रोका बताउनुभयो ।

कोषमा ८ सय ३० जना आजिवन,४१ जना संरक्षक व्यक्तिगत सदस्य र ९ वटा संस्थागत रुपमा सदस्य छन् । कोषबाट अहिले सम्म २६५ जना गरिब तथा विपन्नहरुको उपचारका लागि आर्थिक सहयोग पाएका छन् । ३ करोड रुपियाँ बराबरको अक्षयकोष स्थापना गरि त्यसको ब्याजबाट गरिब तथा विपन्नहरुको स्वास्थ्य उपचार गर्ने उद्देश्य राखेको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

मोना हङ्गकङ्गले म्याग्दीको शिक्षा,स्वास्थ्य,सामाजिक र विपद व्यवस्थापनमा अहिलेसम्म करिब साढे दुई करोड रुपियाँ सहयोग उपलब्ध गराइसकेको मानो हङकङले जनाएको छ । मोना हङकङका अध्यक्ष पुनको अध्यक्षता,सचिव देवेन्द्र फगामीको संचालन र वरिष्ठ उपाध्यक्ष प्रमोद गिरीले स्वागतमा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।