नीलगिरि जलविद्युत आयोजनाको ७५ प्रतिशत निर्माण सम्पन्न

ठाकुरप्रसाद आचार्य / म्याग्दी
साउन २३ गते ।


म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजनाको सुरुङ जोडिएको छ । चार हजार दुईसय ७५ मिटर लामो सुरुङको ब्रेकथ्रु भएको आयोजनाले जनाएको छ । सुरुङ जोडिएसँगै आयोजनाको समग्र ७५ प्रतिशत निर्माण पुरा भएको जनाइएको छ । नीलगिरि खोला हाइड्रोपावरले तिनवर्ष अघि अन्नपूर्ण वेसक्याम्प नजिक ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो आयोजनाको एकसाथ निर्माण थालेको थियो ।

नारच्याङको दोभानस्थित विद्युतगृह र छोटेपाको बाँधतर्फबाट विसं २०७६ देखि आयोजनाले सुरुङ निर्माण थालेको थियो । पाँच वटा अडिटबाट एकसाथ सुरुङ खनिएकाले समयमै सुरुङ जोड्न सफल भएको आयोजनाका आवशिय इन्जिनियर रत्नबमजन तामाङले बताउनुभयो । आयोजनाको सवैभन्दा कठिन मानिएको सुरुङ निर्माण सकिएसँगै अन्य संरचनाको निर्माणलाई तिव्रता दिइएको उहाँले बताउनुभयो । भौगोलिक विकटताका वाबजुद पनि आयोजना निर्माणले तिव्रता पाएको उहाँले बताउनुभयो ।

सुरुङ जोडिएसँगै फिनिसिङको काम अगाडि बढेको छ उहाँले भन्नुभयो ‘बाँध र विद्युतगृह निर्माण तथा इलेक्ट्रोमेकानिकको कामलाई तिव्रता दिएका छौं ।’ आगमी एकवर्ष भित्र दुवै आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणलाई तिव्रता दिएको उहाँले बताउनुभयो । निलगिरी पहिलोको सुरुङ दशैं अगाडि जोड्ने लक्षका साथ निर्माणलाई तिव्रता दिएको उहाँले बताउनुभयो । आयोजनाको ड्याम तर्फ ९० प्रतिशत निर्माण सकिएको छ । यस्तै विद्युतगृहको शिभिलतर्फको ८० प्रतिशत काम सकिएको आयोजनाका सहायक आवशिय इन्जिनियर योगेश सुवेदीले बताउनुभयो ।
निलगिरी पहिलोको विद्युतगृहहबाट निस्कने पानीलाई बाँध बनाएर निलगिरी क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भइरहेको उहाँले बताउनुभयो । निलगिरी पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण थालिएको छ । क्यासकेडको विद्युतगृहदेखि निलगिरी पहिलोको बाँध हुमखोलासम्म १४ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । छोटेपामा ३० मिटर लामो बेलिब्रिज निर्माण गरिएको छ ।

यी दुई आयोजना नारच्याङको दुर्गम भेगमा पर्दछन् । कठिन भीर खनेर आयोजनाको निर्माणस्थल सम्म पुग्न सडक निर्माण गरिएको छ । भौगोलिक विकटताक कारण आयोजना सम्पन्न गर्न निकै चुनौती थियो आयोजनाका आवशिय इन्जिनियर तामाङले भन्नुभयो ‘हिमालको फेदीमा आयोजना निर्माण गर्नु हाम्रा सामु ठूलो चुनौती थियो तर हामीले सवै चुनौती र समस्यासँग जुधेर आयोजना निर्माण करिब अन्तिम चरणमा पु¥याउन सफल भएका छौं ।’

करिब १४ अर्ब लागत अनुमान गरिएका दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् । निलगिरीखोलाबाट उत्पादन भएको बिजुली २२० केभी क्षमताको दाना सव स्टेशनबाट केन्द्रयय ग्रिडमा जोडिने छ । छोटेपा–दोबिल्ला हँुदै दाना सव स्टेशन जोड्ने सात दशमलव चार किलोमिटर दूरीको २२० केभी क्षमताको प्रशारण लाइन निर्माण भइरहेको आयोजनाले जनाएको छ ।

आयोजना सम्पन्न भएपछि दुर्गम तथा विकट स्थानमा पनि जलविद्युत आयोजना निर्माण गर्न सकिने रहेछ भन्ने उदाहरण हुने सहायक आवशिय इन्जिनियर सुवेदीले बताउनुभयो । यसअघि नारच्याङमै ४२ मेगावाट क्षमताको मिस्त्रीखोला र ५ मेगावाट क्षमताको घलेम्दी जलविद्युत आयोजना निर्माण सम्पन्न भइसकेका छन् । १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।