बेनी– जोमसोम सडक पूर्णरुपमा अवरुद्ध

विकल्प न्यूज/म्याग्दी
साउन १७ गते ।


राष्ट्रिय गौरबको आयोजना बेनी–जोमसोम–कोरोला सडकको म्याग्दी र मुस्ताङ खण्डका विभिन्न स्थानमा पहिरो खस्दा आवतजावत पूर्णरुपमा बन्द भएको छ । सोमबार म्याग्दी र मुस्ताङको सीमाना स्थित बादरजुंगे भीरमा सुख्खा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको छ ।

पहिरो पन्छाएर सडक खुलाउन एकसाता लाग्ने आयोजनाका सुपरभाइजर इन्द्रशिंह शेरचनले बताउनुभयो । उहाँका अनुसार रुप्से झरना,दानाको काभ्रेभीर,बेगखोला लगायतका स्थानहरुमा सडक माथिबाट खसेको पहिरोका कारण यातायात पूर्णरुपमा अवरुद्ध बनेको छ ।

बादरजुंगे भीरमा पहिराले सडक पुर्नुका साथै कालीगण्डकी नदी बग्ने ठाउँलाई साँघुरो बनाएको छ । पहिरो खसेको क्षेत्रमा विस्फोटक पदार्थको प्रयोग गरेर पहाड फुटाएर सडक विस्तार गरिएको थियो । पहिरो खसेपछि म्याग्दीबाट गएका र मुस्ताङबाट बेनीतर्फ आएका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । मानिस पैदल हिँड्न पनि नसकिने भएकाले वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको सुपरभाइजर शेरचनले बताउनुभयो ।

पहिरो नरोकिँदा र सडक नखुल्दासम्म घाँसाबाट पहिरोथाप्ला म्याग्दीको कोप्चेपानी–गाडपार हुँदै दाना निस्कने वैकल्पिक पैदलमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । स्थानीय बासिन्दा मुस्ताङ भ्रमणमा आएका पर्यटक तथा मुक्तिनाथ दर्शन गर्न आएका भक्तजन सडक अवरुद्ध हुँदा प्रभावित बनेका छन् । सांसद प्रेमप्रसाद तुलाचनले पहिरो रोकिएपछि बेनी–जोमसोम–कोरला सडक आयोजनाका उपकरण परिचालन गरेर पहिरो पन्छाएर सडक खुलाइने बताउनुभयो । उहाँले सोमबार नै पहिरो स्थल सडकको अनुगमन गर्नुभएको थियो ।

दुई दिनदेखिको वर्षातका कारण आएको बाढीले मुस्ताङको कैकुखोलामा सडक बगाएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर शेरचनका अनुसार रुप्सेखोला र बेगखोलामा पनि सडक अवरुद्ध भएको छ ।
बादर जुङ्गे भीरमा सडक देखि माथिको पाखो ठूलो रुपमा खसेको छ आयोजनाका प्रमुख जगत प्रजापतिले भन्नुभयो ‘पहिरो खस्ने क्रम नरोकिएको र ठूलो मात्रामा खसेकाले सडक खुलाउन करिब एकसाता लाग्नसक्छ ।’ सडक खुलाउन आयोजनाले पहल गरेपछि भौगोलिक कठिनाई र वर्षातका कारण तत्काल सम्भव नभएको उहाँले बताउनुभयो ।

सडक माथिबाट ठूलो मात्रामा चट्टान र माटो खसेको उहाँले बताउनुभयो । आवश्यक उपकरण प्रयोग गरी चाँढै सडक खुलाउन आयोजनाले पहल गर्ने उहाँको भनाई छ । वर्षातका कारण धेरै स्थानमा साना ठूलो पहिराका कारण सडक अवरुद्ध भएको उहाँले बताउनुभयो ।

यसअघि मुस्ताङको थासाङ गाउँपालिका–३ कैकु खोलामा बाढीले सडक क्षति हुँदा सडक अवरुद्ध भएको थियो। सुख्खा पहिरोले कुनै मानवीय तथा अन्य जनधनको क्षति नभएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो । यसका साथै वर्षातका कारण बेनी गलेश्वर सडक खण्ड,गलेश्वर पारि तिल्केनी स्थित सडकमा आवतजावतमा समस्या भएको छ ।

सडक माथिबाट आएको माटो सहितको लेदोका कारण सडक समय समयमा अवरुद्ध हुने गरेको छ । सडक हिलाम्मे हुँदा सोमबार गलेश्वर मन्दिर दर्शनका लागि आएका भक्तजनहरुलाई सास्ती भएको थियो । यस्तै गलेश्वर स्थित तिल्केनीमा सडक माथिको पाखोबाट खसेको पहिरो र लेदो माटोका कारण समय समयमा सडक अवरुद्ध हुने गर्दछ ।

यस्तै बेगखोलामा पक्की पुल नहुँदा खोलामा सवारी साधन वारपार गर्न निकै समस्या हुने गरेको छ । बेनी जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डमा भौगोलिक कठिनाई र ठेकेदारको लापरवाहीका कारण सडक निर्माणमा ढिलासुस्ती भएको छ । मुस्ताङ खण्डमा कालोपत्रे भएपनि म्याग्दी खण्डमा अझै सडकको स्तरोन्नती हुनसकेको छैन ।