एकैपटक ३८ जना स्वास्थ्यकर्मीको करार म्याद सकिदा बेनी अस्पतालको सेवा प्रभावित

ठाकुरप्रसाद आचार्य/म्याग्दी
साउन १ गते ।


बेनी अस्पतालको विभिन्न पदमा कार्यरत स्वास्थ्यकर्मीहरुको करार म्याद सकिएर बाहिरिदा अस्पतालको सेवा प्रभावित बनेको छ । अस्पतालमा कार्यरत चिकित्सक सहित विभिन्न सेवामा कार्यरत ३८ जना स्वास्थ्यकर्मी र कर्मचारीको असार ३१ गते देखि एकैपटक करार म्याद समाप्त भएको हो । ५० बेढ क्षमताको बेनी अस्पतालमा एकैपटक धेरै संख्यामा स्वास्थ्यकर्मीको करार म्याद सकिएर बाहिरिएपछि साउन १ गतेबाट सेवा प्रभावित बनेको छ ।

ठूलो संख्यामा करारमा कार्यरत स्वास्थ्यकर्मीको म्याद समाप्त हुँदा नियमित सेवा प्रवाह प्रभावित भएको अस्पतालले सूचना प्रकाशित गरेर जानकारी गराएको छ । असार ३१ बेनी अस्पतालले सूचना प्रकाशित गरी सो जानकारी दिएको हो । अस्पतालको सूचना अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार ३१ गते पत्र पठाएर करारमा कार्यरत स्वास्थ्यकर्मीको म्याद समाप्त भएको जानकारी दिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट तलब भत्ता भुक्तानी हुने गरी कार्यरत विभिन्न पदका स्वास्थ्यकर्मी र कर्मचारी गरी २८ जनाको करार म्याद सकिएको अस्पतालले जनाएको छ । म्याद सकिने स्वास्थ्यकर्मीहरुमा हेल्थ असिस्टेन्ट ३,अ.हे.ब २ स्टाफ नर्स १२ ,फार्मेसी सहायक २,अनमी २,ल्याब टेक्नििसियन २ र कार्यालय सहयोग ५ जनाको म्याद समाप्त भई साउन १ गतेबाट सेवाबाट बाहिरिएको अस्पतालका प्रमुख जितेन्द्र कँडेलले जानकारी दिनुभयो ।

यसैगरी अस्पतालको स्विकृत दरबन्दीमा करार तर्फबाट कार्यरत अनमी २ जना,स्टाफ नर्स १ जना,ल्याब असिस्टेन्ट १ जना,हेल्थ असिस्टेन्ट २ जना ल्याब टेक्निसियन १ जना र अस्पतालमा एनएसआईको तर्फबाट कार्यरत मेडिकल अधिकृत १ जना स्टाफ नर्स १ जना र एनेस्थेसिया असिस्टेन्ट १ जनाको करार म्याद समाप्त भई सेवाबाट बाहिरिएका छन् । एनएसआईको तर्फबाट कार्यरत मेडिकल अधिकृत वाहिरिदा अप्रेशन सेवा केही दिनका लागि रोकिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले बताउनुभयो ।

ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु सेवाबाट बाहिरिदा सेवा प्रवाहमा असर पुग्ने उहाँले बताउनुभयो । चाँढो जनशक्ति व्यवस्थापन मिलाइदिन गण्डकी प्रदेश सरकार सँग माग गरिएको उहाँले बताउनुभयो । एकसाथ धेरै स्वास्थ्यकर्मी बाहिरिदा र नयाँ स्वास्थ्यकर्मी पनि तत्कालन नआउँदा अस्पतालको,ल्याबसेवा, ओपीडी, इन्डोर, इमर्जेन्सी समेतका स्वास्थ्य सेवा प्रभावित बन्ने अस्पतालले जनाएको छ ।

अस्पतालको ओपिडी सेवामा दैनिक रुपमा दुईसय देखि तिनसय जनासम्मले सेवा लिने गरेकोमा आज देखि एकसयजना विरामीलाई मात्र सेवा दिन सकिने अवस्था सिर्जना भएको अस्पताल व्यवस्थापन समितिका सदस्य बेलबहादुर कटुवालले बताउनुभयो ।