मंगलाको बावियाचौरमा हरियाली पार्क

ठाकुरप्रसाद आचार्य/म्याग्दी
असार १६ गते ।

 म्याग्दीको मंगला गाउँपालिकामा हरियाली पार्क निर्माण गरिएको छ । गाउँपालिका केन्द्र बावियाचौरमा चार रोपनी जमिनमा हरियाली पार्क निर्माण गरिएको छ । प्रदेश सरकार र पालिकाको बजेट गरी एक करोड ८ लाख ६७ हजार रुपियाँमा पार्क निर्माण गरिएको हो । चार वर्ष अघि निर्माण सुरु गरिएको पार्क चालु आर्थिक वर्षमा सम्पन्न गरिएको हो ।

पछिल्लो समय बढ्दो सहरी कोलाहलबाट मुक्त हुन तथा धुलो, धुँवाबाट बच्नका लागि इन्द्रेणी अर्थात् हरियाली पार्क निर्माण गरिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । वायु तथा ध्वनी प्रदूषणबाट बच्नुका साथै स्वस्थ जीवनयापन जीउनेतर्फ मानवलाई आकर्षित गर्न हरियाली पार्क निर्माणको अवधारणा अगाडि सारिएको उहाँको भनाई छ ।
गण्डकी प्रदेश सरकारको पर्यापर्यटन कार्यक्रमअन्तर्गत स्थानीय तहमा हरियाली पार्क निर्माण योजनाका लागि पहिलो वर्ष उपलब्ध गराएको १८ लाख र वाँकी रकम गाउँपालिकाबाट खर्च गरिएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले बताउनुभयो । पर्यटकहरुको चहलपहल बढाउन तथा बालबालिका, ज्येष्ठनागरिक र पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको हरियाली पार्कमा विभिन्न प्रजातिका सुगन्धवाल फुलका विरुवाहरु रोपिएका छन् ।

अक्सिजन उत्सर्जन गर्न, पर्यटकलाई वनस्पतिसम्बन्धी विषयमा सूचना दिन र जैविक विविधताको संरक्षण एवं अभिवृद्धि गर्ने उद्देश्यले हरियाली पार्क निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । निर्माण गरिएका पार्कमा दुबो, धुपी, कपुर, अशोक, बुलमहर, कल्कीफुल प्रजातिका सदाबहार हरियाली भैरहने र सुगन्धवाल बिरुवाहरु रोपिएको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो ।

पालिका अध्यक्षका अनुसार स्थानीयवासी क्या. ईन्द्रबहादुर अधिकारीले करिब ४ रोपनी जग्गा निःशुल्क दिएपछि इन्द्रेणी पार्क निर्माण गर्न पालिकालाई सहज भएको हो । हरियाली पार्कले पर्यटकको चहलपहल बढाउने अपेक्षा गरिएको छ ।

पार्क भित्र सङ्ग्राहलय भवन, प्रतिक्षालय, जेष्ठ नागरिक दिवा सेवा केन्द्र, ट्वाईलेट, वाथरुम लगायतका भौतिक संरचनाहरु निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले बताउनुभयो । पार्कको विभिन्न भागहरुमा रेलिङ र सिढी बनाईएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट पनि निर्माण गरिएको छ । उपभोक्ता समिति मार्फत कार्यान्वनय गरिएको योजनामा प्रत्येक वर्ष १० प्रतिशतका दरले स्थानीयले श्रमदान गरेका छन् ।

पार्कभित्र निर्माण गरिको संग्राहलय भवनमा पालिका भित्रका ऐतिहाँसिक तथा पुरात्वात्तिक बस्तुहरु, विभिन्न जातजाति, समूह तथा वर्गका सीप, कला, संस्कृति तथा मौलिकता झल्किने महत्वपूर्ण सामग्रीहरु संकलन गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले बताउनुभयो । पार्क भित्र बालउद्यान र संग्राहलयका सामग्री राखेपछि चाँढै नै पार्क सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।

पार्क म्याग्दी नदिको किनारमा भएकाले स्वच्छ र शान्त वातावरण सहित बालबच्चा देखि बृद्धबृद्धा सम्मका सवैलाई मनोरञ्जन र आनन्दको महशुस गराउने अपेक्षा गरिएको छ । पार्कले मंगलामा आन्तरिक पर्यटनलाई समेत प्रवद्र्धन गर्न सक्ने विश्वास गरिएको पालिका अध्यक्ष रोकाले बताउनुभयो ।