सडक हिलाम्मे भएपछि सडकमै रोपाइँ गर्दै रणवाङका स्थानीयहरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी
असार १३ गते ।

जिल्लाको पश्चिम भेगलाई जोड्ने महत्वपूर्ण सडक बेनी दरबाङ सडक अन्र्तगत लाम्पाटा – दरबाङ सडक खण्डको निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध जनाएका छन् ।

निर्माणधिन सडक ठेकेदारले अलपत्र पारेपछि सडक हिलाम्मे हुने र पैदल हिड्न समेत असहज भएपछि स्थानीयहरुले सोमबार हिलाम्मे सडकमा धान रोपेर विरोध जनाएको स्थानीय युवा श्रीराम पौडेलले जानकारी दिनुभयो ।

निर्माण कम्पनीका व्यक्ति सम्पर्कविहीन हुँदा सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभी तिनमहिनादेखि सम्पर्कविहीन अवस्थामा रहेको छ ।

विसं २०७६ जेठ ३१ गते २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा निर्माण सक्नुपर्ने समयसीमा तोकिएको थियो ।

सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरेको मङ्गला गाउँपालिका–२ रणवाङका  पौडेलले बताउनुभयो । सम्बन्धित ठाउँमा पटक पटक भन्दा पनि केही नलागेपछि हिलाम्मे सडकमा धान रोपाइँ गरेर विरोध जनाएको उहाँले बताउनुभयो ।