रुमको विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना

विकल्प न्यूज\बेनी
जेठ ३१  ।

जिल्लाको मालिका गाउँपालिका २ रुमको राष्ट्रिय माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमबाट प्राप्त भएको रकमले विद्यालयमा प्रयोगशाला स्थापना गरिएको हो । प्रयोगशाला स्थापना भएपछि विद्यार्थीहरु हर्षित भएका छन् ।

विद्यालयलाई प्राप्त भएको मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रमको ७ लाख रुपियाँबाट विज्ञान प्रयोगशाला स्थापना गरिएको प्रधानाध्यापक प्रेमबहादुर घर्तीमगरले बताउनुभयो । प्रयोगशालाका सामग्रीहरु आइपुगेका छन् प्रअ घर्तीमगरले भन्नुभयो ‘विज्ञान विषयका शिक्षकलाई तालिमको खाँचो छ । शिक्षकले तालिम पाएपछि नियमित रुपमा प्रयोगशाला सञ्चालनमा ल्याउछौं ।’

विद्यालयलाई उपलब्ध गराइएको रकमबाट प्रयोगशालाको कोठा सजावट, व्यवस्थापन र विज्ञान प्रयोगशालाका लागि आवश्यक पर्ने सामग्री खरिद गरिएको उहाँले बताउनुभयो । अपुग केही रकम विद्यालय आफैले सहयोग जुटाएको उहाँको भनाई छ । विद्यालयमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीको सिकाइको कार्य निकै प्रभावकारी हुने प्रअ घर्तीमगरले विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार विज्ञान प्रयोगशाला स्थापना भएपछि कक्षा ६ देखि १० सम्मका विद्यार्थी लाभान्वित हुने भएका छन् ।

विद्यालयमा प्रयोगशाला नहँुदा विद्यार्थीका लागि आवश्यक पर्ने प्रयोगात्मक कक्षा सञ्चालन गर्न निकै समस्या भएको उहाँको भनाई छ । दुईवर्ष अघि निर्माण गरिएको भवनको एउटा कोठामा अलग्गैरुपमा प्रयोगशाला स्थापना गरिएको छ । विद्यार्थीलाई विज्ञानका प्रयोगात्मक काम मार्फत जानकारी गराउन प्रयोगशाला उपयोगी हुने प्रअ घर्तीमगरले बताउनुभयो । विद्यालयमा ४ सय ५० जना विद्यार्थीहरु अध्ययनरत छन् ।