लोक दोहोरी दिवसमा बाद्यवादन सामग्री हस्तान्तरण

विकल्प न्यूज\बेनी
फागुन २९ गते ।


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २१ औँ स्थापना दिवस तथा लोक दोहोरी दिवस २०७८ को अवसरमा लोक दोहोरी प्रतिष्ठान म्याग्दीले बाद्यवादनका सामग्री सहयोग गरेको छ ।

दिवसको अवसरमा आइतवार एक कार्यक्रमको आयोजना गरि बेनी नगरपालिका ८ स्थित श्री कृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्रलाई मादल र खैजडी सहयोग गरेको हो ।

उक्त सामग्री प्रतिष्ठानका संस्थापक केन्द्रिय सदस्य अग्रज लोक गायीका धनकुमारी थापा, सल्लाकार जिवन कुमार विश्वकर्मा र जिल्ला अध्यक्ष देवेन्द्र घिमिरेले केन्द्रका अध्यक्ष चन्द्र प्रसाद श्रेष्ठ र उपाध्यक्ष नैनकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको होे ।

प्रत्येक वर्षको फागुन २९ गते लोक दोहोरी दिवस मनाउने प्रतिष्ठान गण्डकी प्रदेश तथा केन्द्रको निर्देशन अनुसार जिल्लामा संगीतका सामग्री सहयोग गरि दिवस मनाईएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष घिमिरेले बताउनुभयो । जेष्ठ नागरिकहरुलाई भजनकृतन तथा सांगीतिक कार्यक्रम संचालनमा सहयोग पुगोस भनेर बाद्यवादनका सामग्री प्रदान गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका संस्थापक केन्द्रिय सदस्य धन कुमारी थापाले २०५८ सालमा स्थापना भएको संस्थाले २१ औँ बर्षमा प्रवेश गरेकोमा शुभकामना व्यक्त गर्दै प्रतिष्ठान म्याग्दीले दिवसको अवरमा रचनात्मक कार्य गरेकोमा प्रशंसा गर्नुभएको थियो ।
थापाले म्याग्दीका मौलिक लोक संस्कृतिको संरक्षणमा प्रतिष्ठानले विभिन्न कार्यहरु गर्नुपर्ने भन्दै त्यसका लागि आफुले सधै साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै सल्लाकार जिवन कुमार विश्वकर्माले जेष्ठ नागरिकहरु समाजको ज्ञाता भएकाले उहाँहरुको सम्मान तथा सेवा गर्नुपर्नेमा जोड दिनुभयो । संगीत मनोरञ्जन मात्रै होइन स्वास्थ्यका लागि पनि महत्वपूर्ण भएको विश्वकर्माको भनाई थियो ।
उहाँले जेष्ठ नागरिकहरुलाई संगीतका सामग्री प्रदान गरि पुण्य कार्य गरेको भन्दै आगामी दिनमा पनि यस्तै सामाजिक गतिविधिमा सक्रिय हुन प्रतिष्ठानलाई अनुरोध समेत गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य नकुल ढकाल, संगठन विभाग सदस्य अमित विश्वकर्मा, सेवा केन्द्रका उपाध्यक्ष श्रेष्ठ लगाएतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रतिष्ठान म्याग्दीका अध्यक्ष घिमिरेको अध्यक्षता, प्रथम उपाध्यक्ष ध्रुव जिसीको स्वागत र सचिव पदम विश्वकर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा प्रतिष्ठान म्याग्दीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।