स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्थाको अभिमुखीकरण

प्रताप बानियाँ/विकल्प
म्याग्दी, मंसीर २१ गते ।
म्याग्दी जिल्लाका २२ ओटा गाविसहरुमा स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमन कार्यक्रमको अभिमुखिकरण सम्पन्न भएको छ । चालु वर्षदेखि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको स्थानीय शासन उत्तरदायी संयन्त्रको सचिवालयसँग सम्झौता भई कार्यक्रम शुरू गरिएको हो ।

11951248_494283270749416_793593680683398793_n
संगम म्याग्दीले आयोजना गरेको स्थानीय शासन उत्तरदायी संयन्त्र कार्यक्रमले गएको भदौ महिनादेखि मंसिरको दोस्रो सातासम्म जिल्लाका विभिन्न २२ गाविसमा अभिमुखीकरण गोष्ठी गरिएको जनाएको छ । यस कार्यक्रमले विशेषगरी स्थानीय निकायमा भएका नीतिगत तथा कानुनी व्यवस्था पालना अनुगमन गर्ने र कानुनी तथा नीतिगत व्यवस्था पालना गर्न विभिन्न जानाकारीमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
गत आर्थिक वर्ष २०७०÷७१ मा ९ गाविसमा यो कार्यक्रम सञ्चालन भएको र चालु वर्षमा २२ गाविस थप गरी कुल ३१ ओटा गाविसमा कार्यक्रम सञ्चालन गरिएको छ । गूर्जा, ओखरबोट, राम्चे र झीँ गाविसमा भने कार्यक्रम सञ्चालन गर्न बाँकी रहेको बताइएको छ । कार्यक्रममार्फत गाविस, नगरपालिका र जिविसमा आधारभूत सर्वेक्षण, नगरपालिका तथा जिविसस्तरीय अभिमुखीकरण पनि सम्पन्न भैसकेको छ ।
कार्यक्रम अनुसार स्थानीय निकायमा सेवा प्रवाह गर्दा भैरहेका समस्या पत्ता लगाई समस्या समाधानका लागि सहजीकरण गर्ने उद्देश्य लिइएको जनाइएको छ । पहिलो चरणको कार्यक्रममा सुचना पाटी टाँस गर्ने, गुनासो तथा सुझाव पेटिका र नागरिक बडापत्र स्थापना गर्ने एवं सार्वजनिक सुनुवाई आयोजना गर्नेलगायतका कार्यक्रम रहेका छन् ।
कार्यक्रम संयोजक सन्तोष ढुङ्गाना, सुशासन अधिकृत हिरा शर्मा, र कुलचन्द्र रेग्मीले गाविसस्तरमा सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा गाविस सचिव, स्थानीय शासन सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालक, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रका पदाधिकारीहरू, राजनैतिक दल, विषयगत कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।