म्याग्दीका गाउँमा भएका सोलार मिल उपयोग बिहीन

सन्तोष गौतम/विकल्प

म्याग्दी मंसिर २२ गते । म्याग्दीको ग्रामिण क्षेत्रमा दाता निकायले लाखौ खर्चिएर निशूल्क जडान गरेको सोलार मिल उपयोग विहीन बनेका छन् ।

ढिलो काम हुने, मर्मत संम्भारको अभाव र व्यवस्थित रुपमा प्रयोग हुन नसक्दा युरोपियन युनियनले जडान गरेको सोलार मिलहरु प्रयोग विहीन बनेका हुन् । युनियनको नवीकरणीय उर्जा आयोजना अन्तरगत वि.स २०६८ मा म्याग्दीको मुदी, रुम र अर्मनमा तिन वटा सौर्य उर्जाबाट चल्ने मिल स्थापना भएको थियो ।

जडान भएको केही महिना सञ्चालन भएपनि प्रभावकारी नदेखिएपछि हाल सोलार मिलहरु अलपत्र बनेको मुदीका सोलार मिल सञ्चालक गौबहादुर रोकाले बताउनुभयो । कोदो, मकै, गहुँ, जौ पिस्न सकिने सोलार मिलका उपकरणहरु बिग्रीएर थन्कीएका छन् ।

Solar Mill

उहाँका अनुसार पिसानीको काम गर्दा ढिलो हुँदा सोलार मिल प्रभावकारी बन्न सकेको थिएन् । मिल बिग्रीएपछि स्थानीय स्तरमा मर्मत गर्न नसकिएपछि पुन सञ्चालनमा आउन नसकेको रोकाले बताउनुभयो । उहाँका अनुसार मिलका उपकरण ढुवानी, जडान र भवन निर्माण गर्न व्यक्तिगत रुपमा रु. चार लाख लगानी भएको थियो ।

आयोजनाले एक सय वाट बराबरको सौर्य उर्जा र मिलका उपकरण भने निशूल्क उपलब्ध गराएको थियो । एक वटा सोलार मिल जडान गर्न आयोजनाले रु. दुई लाख भन्दा बढी खर्च गरेको थियो ।

सोलार मिल स्थापना गर्दा भएको लगानी पनि उठ्न नसकेको सञ्चालकहरुले बताएका छन् । आयोजनाले सामुदायीक विद्यालय र स्वास्थ्य संस्थाहरुमा जडान गरेको सौर्य उर्जा भने उपयोगी बनेको छ । बत्ति र कम्प्युटर प्रयोग गर्न सौर्य उर्जाको प्रयोग भएको छ ।