भारी वर्षाको पूर्वानुमानपछि विपद् पूर्वतयारीमा जुट्यो प्रशासन
ठाकुरप्रसाद आचार्य
बेनी, असोज ७ गते । भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानपछि सम्भावित विपद् व्यवस्थापनका लागि म्याग्दीमा पूर्व तयारी थालिएको छ । बाढी,पहिरो,डुबान तथा सडक अवरोधको जोखिम न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले पूर्वतयारी तथा प्रतिकार्य योजनालाई तीव्र पारेको हो ।
प्रशासनले जिल्लास्थित सरकारी कार्यालय,स्थानीय तह, जलविद्युत् आयोजना, सुरक्षा निकाय तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिँदै आवश्यक जनशक्ति, सवारीसाधन र उपकरण परिचालनको प्रभावकारी व्यवस्था मिलाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘‘भारी वर्षाको पूर्वानुमान भएकाले प्रशासनले जिल्ला स्थित सबै सरकारी कार्यालय प्रमुख तथा स्वास्थ्यकर्मीलाई अत्यावश्यक अवस्था बाहेक बिदामा नबस्न र विपद्को समयमा तत्काल सेवा प्रवाह गर्न सक्ने गरी तयारी अवस्थामा रहन आग्रह गरेका छौं ।”जलविद्युत् आयोजनालाई सम्भावित विपद्का बेला आवश्यक पर्दा सहयोग गर्न सक्ने गरी सवारीसाधन र जनशक्ति तयारी अवस्थामा राख्न तथा आफ्ना कामदारको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन प्रशासनले जानकारी गराएको प्रजिअ गैरेले बताउनुभयो । आयोजनासँग रहेका सवारीसाधनलाई समेत विपद्को अवस्था सिर्जना भएमा आवश्यक सहयोगका लागि परिचालन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।
सम्भावित पहिरो तथा सडक अवरोधलाई ध्यानमा राख्दै बेनी–जोमसोम–कोरला सडक आयोजना र पूर्वाधार विकास कार्यालयलाई आवश्यक उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्न प्रशासनले पत्रचार गरेको छ ।
सडक अवरुद्ध भएमा तत्काल सञ्चालनमा ल्याउन सक्ने गरी व्यवस्थापन गर्न सबै किसिमका तयारी गर्न भनिएको छ । स्वास्थ्यतर्फ प्रदेश अस्पताल र जनस्वास्थ्य कार्यालयलाई आवश्यक जनशक्ति व्यवस्थापन गर्न तथा विपद्का बेला स्वास्थ्य सेवा प्रभावित हुन नदिन पूर्वतयारी गर्न पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।
जिल्लाका सबै स्थानीय तहलाई आफ्नो क्षेत्रमा रहेको विपद् जोखिमको अवस्था मूल्याङ्कन गरी नदी तथा तटीय क्षेत्रका बासिन्दालाई समयमै सूचना प्रवाह गर्ने व्यवस्था मिलाउन प्रशासनले अनुरोध गरेको छ ।
२४ घण्टा सम्पर्क हुने फोकल पर्सन तोकिने
सम्भावित विपद्को समयमा सूचना तथा समन्वय प्रभावकारी बनाउन जिल्लास्थित सबै सरकारी कार्यालयले विपद् जोखिम व्यवस्थापनका लागि फोकल पर्सन तोकेर सम्बन्धित फोकल पर्सनको २४ घण्टा सम्पर्क हुने मोबाइल नम्बरसमेत उपलब्ध गराउन प्रशासनले अनुरोध गरेको छ ।
त्यस्तै, विपद् प्रतिकार्यलाई व्यवस्थित बनाउन विभिन्न क्लस्टर तोकी जिम्मेवारी विभाजन गर्ने तयारी गरिएको छ । सम्बन्धित निकायलाई आफ्नो जिम्मेवारीअनुसार आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन तयारी अवस्थामा राख्न भनिएको छ ।
मौसम पूर्वानुमानअनुसार असोज ९ देखि ११ गतेसम्म वर्षाको सम्भावना रहेको र यसबाट बाढी, पहिरो, डुबान तथा सडक अवरोधलगायतका जोखिम निम्तिन सक्ने भएकाले जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायमा पत्राचार गरी पूर्वसतर्कता र तयारीका लागि निर्देशन दिएको सहायक प्रजिअ आचार्यले बताउनुभयो ।
प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै पूर्वसूचना, तत्काल उद्धार,राहतको व्यवस्था, सडक सञ्चालन, स्वास्थ्य सेवा र आवश्यक स्रोतसाधनको परिचालनलाई प्राथमिकतामा राखेर तयारी गर्न सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्