मंगलामा एक वडा एक खेल मैदान निर्माण अभियान
ठाकुरप्रसाद आचार्य
असार १६ गते ।
नयाँ संविधान जारी भएसँगै स्थानीय तहमा जनप्रतिनिधिहरु चुनिएर आएपछि जिल्लाको मंगला गाउँपालिकामा एक वडा एक खेल मैदान निर्माण अभियान सञ्चालन गरेपछि खेलक्षेत्रमा विकासले नयाँ फड्को मारेको छ । प्रत्येक वडामा सुविधासम्पन्न खेल मैदान निर्माण गरी खेलक्षेत्रको विकासलाई अगाडी बढाउने लक्ष्य पालिकाले लिएको छ । २०७४ साल देखि नै खेल क्षेत्रको प्रवद्र्धन गर्न पालिकाले गाउँपिच्छे खेल मैदान बनाउने अभियानको सुरुवात गरेको थियो ।
गाउँगाउँमा खेलमैदान निर्माण हुनथालेपछि खेलाडी उत्साहित हुनुका साथै खेल क्षेत्रको विकासमा टेवा पुगेको छ । गाउँपालिका,प्रदेश सरकार र स्थानीय युवा क्लबहरुको सहयोगबाट वस्तीहरुमा सुविधासम्पन्न खेल मैदानहरु निर्माण भएका छन् ।
फराकिला मैदानमा गाउँमा खेल प्रतियोगिता आयोजना हुन थालेपछि खेलाडीको प्रतिभा प्रष्फुटित हुनुका साथै उनीहरुको खेलप्रतिको रुचि समेत बढेको पाइन्छ । भने पालिकाले आयोजना गर्ने पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय स्तरमा खेलाडी उत्पादन गर्ने माध्यम बनेको छ ।
हामीले २०७४ देखि नै एक वडा एक खेलमैदान नीतिलाई अघि सारेर खेलकुदको विकासका लागि प्राथमिकतामा राखेका र्छौ पालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो,‘‘एक वस्ती एक खेलमैदान र सामुदायिक भवन हाम्रो नीति नै हो । जग्गा भएका वस्तीहरुमा खेलमैदान निर्माण भइसकेका छन् । केही खेलमैदानहरुलाई स्तरोन्नति गर्न वाँकी छ । व्यवस्थित खेलमैदान निर्माण गरेर खेल क्षेत्रको विकासका लागि पालिकाले आवश्यक बजेट पनि विनियोजन गर्ने गरेको छ ।’’
विद्यालस्तरमा खेलकुदका कार्यक्रमहरु सञ्चालन गरेर खेलाडी उत्पादन गर्ने लक्ष्य पालिकाको भएको उहाँको भनाई छ । गाउँपालिका–५ अर्मनको पिपलबोटस्थित कैलाशफाँटमा म्याग्दी नदी किनारको बगर सम्माएर पालिकास्तरीय खेलमैदान बनाइएको छ । म्याग्दी नदी किनारको बगरमा तटबन्ध सम्माएर खेलमैदान निर्माण गरिएपछि खेलकुद गतिविधि सञ्चालन गर्न सहज भएको छ । खेलमैदानको लम्बाइ एक सय २० मिटर र चौडाइ ७१ मिटर छ ।
यसैगरी गाउँपालिका–२ लाम्पाटामा खेलमैदान निर्माण गरिएको छ । मंगला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरेपछि चालु आर्थिक वर्षमा यहाँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिएको थियो । ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण गरिएको छ । गाउँपालिका केन्द्र वावियाचौर नजिकै लाम्पाटामा खेलमैदान बनेपछि क्याम्पसका विद्यार्थीका साथै खेलाडीलाई पनि सहज भएको छ । खेल मैदानको लम्बाइ ७५ मिटर र चौडाइ ३८ देखि ४० मिटर रहेको छ ।
यसैगरी गाउँपालिका १ तुसारेपानीका युवाहरुले गाउँपालिकाको आर्थिक सहयोग, चन्दा र सहयोग रकम जुटाएर गाउँमा व्यवस्थित खेलमैदान निर्माण गरेका छन् । खेलमैदान निर्माण गर्न करिब ५० लाख रुपियाँ भन्दा बढी खर्च भएको छ । खेलमैदान निर्माण भएपछि गाउँमा खेलकुद गतिविधिहरु सञ्चालन गर्न सहज भएको वडाध्यक्ष एकजित रोकाले बताउनुभयो ।
दुईरोपनी भन्दा वढी क्षेत्रफलमा निर्माण गरिएको मैदानमा भलिबल,बास्केटबल र ब्याडमिन्टन खेल सञ्चालन गर्न सकिन्छ । मैदानमा सिमेन्टेट ढलान गरिएको छ । वरीपरी पर्खाल र घेराबार लगाइएको छ । दर्शकहरु वस्नका लागि प्याराफिट निर्माण गरिएको छ । मैदानमा राती समयमा पनि प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी बत्तिहरु जडान गरिएको छ ।
कला संस्कृतिको संरक्षण गर्दै गाउँपालिका
मंगला गाउँपालिका कला संस्कृतिमा विविधता भएको पालिका हो । यहाँ जनजाति समुदायको बाहुल्यता छ । ब्राह्मण र जनजाति समुदायको बसोबास रहेको मंगलामा विभिन्न जातजातिका फरक फरक कला संस्कृति र भेषभूषा रहेका छन् । मगरवस्तीहरुमा भुमेपूजा गर्ने पुरानो संस्कार छ । पालिकाको वडा नम्बर ४ बरंजामा निकै पुरानो संस्कार धुले मेला अझै पनि चलिआएको छ ।
पौराणिक विधि पुरा गरेर जाँड राखेपछि थालनी भएको धुलेको मुख्य विधि तीन दिन हुने गर्दछ । अर्जेखोलामा गएर माछा सिकार गरेर ल्याएर विधिपूर्वक पितृ चढाउने काम भएपछि धुलेमेला सुरु हुन्छ । चढाउने र काम बार्ने,र पराङ हाल्ने र मुख्य विधि गरेर होरे गरेपछि धुले औपचारिक रूपमा समापन गरिने प्रचलन छ । पितृ चढाएपछि नुहाउने, धुने, तथा घर बाहिरका खनजोत जस्ता कार्य गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइने गरिन्छ । धुले मेला गाउँपालिका वडा नं ३ र ४ बरंजा गाउँमा बसोबास गर्दै आएको ५४ कुरिया मगरहरूको आफ्नो मौलिक संस्कार हो ।
बरंजा क्षेत्रमा तत्कालीन समयमा आएका ५४ घर कुरिया मगरहरूले वि.सं. १३१२ मा बरंजाको थर्पुमा कोत घर निर्माण गरेर सँगै धुले मेला मनाउन थालेको तथ्यहरू भेटिएको स्थानीयहरु बताउँछन् । १३ औँ शताब्दी देखिको यो परम्परागत पर्व अहिले पनि मनाउँदै आइएको उहाँको भनाइ छ । तत्कालीन समयमा ९ वटा फरक थरका ५४ घर मगरबाट सुरु भएको सो पर्वको मूल विधि प्रत्येक वर्ष जेठको तेस्रो वा चौथो मंगलबार सुरु भएर बिहीबार समापन गरिन्छ । धुले मेला पितृ उद्धारका लागि हरेक वर्ष गरिने र मेला पछि पितृ खुसी हुने भनाई छ ।
बरंजा क्षेत्रमा ५४ कुरिया मगरहरूको बस्ती विस्तारसँगै राम्जाली रोका, बझाङ्गी रोका, पुन, मर्चथोके रोका, मास्ना घर्ती, दर्लामी घर्ती, सुतप्राइ घर्ती, बुढाथोकी र फगामी घर्ती गरी नौथरका पुर्खाहरू मिलेर घुम्दै हतियार धनुष बाण बोकेर जंगली जनावरको सिकार गर्दै, तरुल, भ्याकुर खोजेर खादै आफ्ना परिवार सहित बरंजामा पुगेपछि बस्नका लागि उपयुक्त स्थान देखेपछि त्यही क्षेत्रमा बसाइ बसेको हुन सक्ने उनीहरूको अनुमान छ ।
धुले मेलाको समयमा मेला तथा पूजा हुने कोतभन्दा केही टाढा अन्य समुदाय पनि जान पाइन्छ । तर कोतघर नजिक ५४ कुरिया बाहेकका कसैलाई पनि जान निषेध गरिन्छ । बराङ्जाका घर्ती, रोका, बुढाथोकी र पुन मगर समुदायका ५४ घरधुरीले आफ्नो क्षेत्रमा परम्परागत नियम बनाउने क्रममा धुलेमेलाको नामकरण भएको मान्न सकिने महेन्द्र रत्न आधारभूत विद्यालयका प्रधानाध्यापक चित्र रोकाको भनाई छ । धुलेमेला पितृको सम्झना, पुरानो कला र संस्कृतिको जर्गेनासँगै नयाँ पुस्तालाई समेत जानकारी दिने गरी मनाउने गरिन्छ ।
मङ्गला गाउँपालिकाले धुले मेलालाई धार्मिक तथा पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण रहेकाले निरन्तर संरक्षण अभियानमा सघाइरहेको छ । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले धुलेमेला प्राचीन कालदेखि चलिआएको पुरानो मौलिक संस्कृति भएको बताउनुहुन्छ । ५४ कुरिया मगर अन्तर्गतको समुदायका उहाँले परापूर्वकालमा पुर्खाले छोडेका धार्मिक परम्परालाई आधुनिक युगमा समेत संरक्षणमा भइरहेको एउटा नमुना धुलेमेला भएको उहाँले बताउनुभयो ।
मेलाको अन्तिम दिन अर्थात् बिहीबार ५४ कुरिया मगरको कोत घरमा भित्र पाका पुस्ताले ११२ श्लोक गीत गाउने गर्छन् । ती गीतका टुक्काहरूलाई होरे गाउने र कोत घरभित्र भएका पाका पुस्ताले प्रत्येक श्लोक गीत गाएपछि बाहिर गोलो भएर लौरी समातेर बसेका नौ थरका व्यक्तिहरू प्रत्येक गीत सकिँदा एक फन्को घुम्ने गर्दछन् । बिहीबार दिउँसो सुरु गरेर ११२ टुक्का गीतका श्लोक गाइसकेपछि साँझ धुले मेला सकिन्छ ।
गाउँपालिकाले पुरानो मौलिक कला संस्कृतिको संरक्षण,प्रवद्र्धन र प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ । साथै गाउँपालिकाले वस्तीस्तरमा रहेका पुराना मठमन्दिरहरुको संरक्षण,जिर्णेद्धार र निर्माणलाई प्राममिकता राखेको छ । वस्तीहरुमा मन्दिर निर्माण तथा पुनः निर्माण गरेर धार्मिक संस्कृतिको संरक्षण गरिएको छ । गाउँपालिकको मिडिया फलोसिप अन्तर्गत तयार पारिएको सामग्री




प्रतिक्रिया राख्नुहोस्