धवलागिरि आरोहणको ६६ वर्ष पूरा ः ७३३ जना पुगे शिखरमा
ठाकुरप्रसाद आचार्य
म्याग्दी,बैशाख ३० गते । आज मे १३ अर्थात बैशाख ३० गते संसारको सातौ अग्लो धवलागिरि हिमाल आरोहण ६६ वर्ष पूरा भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा यो हिमाल अवस्थित छ ।
स्विस–अस्ट्रियन संयुक्त आरोहण दलको म्याक्स आइसेलिनको नेतृत्वमा आठ हजार एकसय ६७ मिटर अग्लो धवलागिरि हिमालमा मानव पाइला परेको थियो ।
चार जना स्विस आरोही, एक अस्ट्रिया, एकजना जर्मनी र दुईजना नेपाली पर्वतारोहीको टोलीले ६६ वर्ष पहिला धवलागिरिको सफल आरोहण गरेर इतिहास रचेको थियो । आरोहण टोलीमा कर्ट डिमवर्गर, पिटर डियनर, एन्स्ट फोरर, एल्विन सेल्वर्ट,मिशेल भाउचर,ह्युगो वेबर र दुइ शेर्पा निमा दोर्जे र नवाङ दोर्जे सहभागी हुनुहुन्थ्यो ।
आरोहणको ६६ वर्ष वर्षको अवधिमा सातसय ३३ जना पर्वतारोही धवलागिरि को शिखरमा पुगेका छन् । छिनछिनमा बदलिने मौसमका कारण धवलागिरि हिमाल आरोहणका हिसाबले अन्य हिमाल भन्दा चुनौतीपूर्ण छ ।
पर्यटन विभागले सन २०२५मा निकालेको पर्वतारोहण सम्बन्धी किताबका अनुसार सन् २०३४ को अक्टोबर सम्म ६ सय ८८ जना र सन २०२५ मा १५ जनाल धवलागिरि हिमालको सफल आरोहण गरिसकेका छन् । भने २०२६ को चालु वसन्तकालिन यामका लागि ३० जनाले आरोहण अनुमति लिएका छन् । अनुमति दिएका आरोहीहरुले हिमाल आरोहण गरिसकेको पर्यटन विभागले जनाएको छ ।
धवलागिरि हिमालमा पहिलोपटक मानव पाइला पुगेको दिनको सम्झनामा आज धवलागिरि गाउँपालिका ४ मुदीमा आरोहण दिवसको कार्यक्रम आयोजना गरिएको छ ।
अघिल्ला वर्षहरुमा पोखरामा आरोहण दिवस गरिएकोमा पहिलो पटक धवलागिरीको काखमा आरोहण दिवस मनाउन लागिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।
धवलागिरि गाउँपालिकाको समन्व्य तथा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा आरोहण दिवस मनाउन लागिएको हो ।
उहाँले भन्नुभयो,‘‘पहिलोपटक धौलागिरिको काखमा नै आरोहण दिवस मनाउन लागेका छौं । यसले धवलागिरिवासीलाई खुसी बनाएको छ । आरोहण दिवसले धौलागिरि चक्रिय पदमार्गको पर्यटन प्रवद्र्धन, पर्यटन विकासको सम्भाव्यताको उजागर,समस्या र अवसरका बारेमा छलफलको वातावरण तयार हुने छ ।’’ दिवसका अवसरमा आरोहीहरुलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
आरोहण दिवसका अवसरमा ‘धौलागिरि पदयात्रा, समस्या, चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “६६औँ धौलागिरि आरोहण दिवससहित धौलागिरि गाउँपालिकाका पर्यटकीय गन्तव्य तथा पदमार्ग प्रवद्र्धन कार्यक्रम एकैसाथ गर्दैछौँ । दिवसको औपचारिक समारोहमा धवलागिरि हिमाल आरोहण गरेका आरोहीलाई सम्मान समेत गरिने छ ।’’
आठ हजार मिटर भन्दा अग्ला हिमाल मध्य धवलागिरि हिमाल आरोहण निकै चुनौतीपूर्ण रहेकाले आरोहणको संख्यामा कमि हुने विभागले जनाएको छ । राउन्ड धौवलागिरि पदयात्राको प्रचारप्रसार र पदमार्गमा पूर्वाधार निर्माण आवश्यक रहेको मुदी बगरका पर्यटन व्यवसायी हरिप्रसाद तिलिजाले बताउनुभयो ।
पदमार्गका कम्तीमा पाँच स्थानमा झोलुङ्गे पुलको आवश्यकता छ । व्यवस्थित पदमार्ग, पर्यटक बस्ने आश्रयस्थल लगायतका पूर्वाधार बनाउन सकेमा धवलागिरि पदयात्रामा आउने पर्यटकलाई सहज उहाँले बताउनुभयो । मुदीबाट सुरु हुने राउन्ड धवलागिरि पदयात्रा ९ दिन सम्मको छ । मुदीबाट ९ दिनको पदयात्रापछि धवलागिरिको आधार शिविर देखिमाथि पाँच हजार चार सय मिटरमा रहेको फ्रेन्चपास हुँदै मुस्ताङको मार्फा निस्किन सकिन्छ ।
मुदीबाट सुरु भएको पदयात्रा बगर, दोभान, सल्लाघारी, इटाली बेसक्याम्प, जापानिज बेसक्याम्प,धौलागिरि बेसक्याम्प, हिटीनी भ्याली बेसक्याम्प, याकखर्क हुँदै मुस्ताङको मार्फा पुग्न सकिने पर्यटन व्यवसायी तिलिजाले बताउनुभयो । सरकारले सामान्य पूर्वाधार निर्माण गर्नुका साथै प्रचारप्रसार गरिदिए धवलागिरि पदयात्रामा पर्यटकको संख्यामा बृद्धि हुने स्थानीय पर्यटनकर्मीहरु बताउँछन् ।





प्रतिक्रिया राख्नुहोस्