म्याग्दी,असोज १० गते । म्याग्दीमा लगातारको वर्षाका कारण बाढी र पहिरोको जोखिम उच्च बनेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न क्षेत्रमा भारी वर्षा भएपछि पहिरोको जोखिमको वैज्ञानिक सीमा पार भएको छ । वर्षा केही सुस्ताए पनि जमिन गिलो भएकाले पहिरोको जोखिम भने कायमै रहेको छ ।
नेपाल सरकारको विपद् पोर्टलबाट प्राप्त असोज ९ र १० गतेको वर्षाको तथ्याङ्कअनुसार जिल्लाको दरबाङ क्षेत्रमा २४ घण्टामा १४४.८० मिलिमिटर वर्षा मापन भएको छ । वर्षाको यो मात्रा पहिरोको जोखिमसँग जोडिएको १४४ मिलिमिटरको सीमाभन्दा बढी हो । यसले दरबाङ र आसपासका भिरालो जमिनमा पहिरो जाने जोखिम बढाएको छ ।
त्यसैगरी कुहुँ क्षेत्रमा १३५ मिलिमिटर वर्षा मापन भएको छ । यो मात्रा १४४ मिलिमिटरको सीमाको नजिक पुगेको छ । कुहुँका भिरपाखा र ग्रामीण सडक आसपासका क्षेत्रमा पहिरोको जोखिम उच्च रहेको छ ।
सदरमुकाम बेनी बजारमा १०७.२० मिलिमिटर वर्षा मापन भएको छ । बेनीमा वर्षाको मात्रा चेतावनी स्तरभन्दा बढी पुगेको छ । कालीगण्डकी र म्याग्दी नदीको संगमस्थल नजिक रहेको बेनी बजारको तटीय क्षेत्र र सडक आसपासका बासिन्दालाई सतर्कता अपनाउनुपर्ने देखिएको छ ।
बेगमा ८८.४० मिलिमिटर र तातोपानी क्षेत्रमा ७२.४० मिलिमिटर वर्षा मापन भएको छ । यी क्षेत्रमा पनि लगातारको वर्षाका कारण जमिन गिलो भएकाले पहिरो र लेदो खस्ने जोखिम रहेको छ ।
वर्षा सुस्ताए पनि पहिरोको जोखिम कायमै
शनिबार दिउँसो २ बजेदेखि ५ बजेसम्मको पछिल्लो तीन घण्टाको तथ्याङ्कअनुसार जिल्लाका विभिन्न क्षेत्रमा वर्षाको मात्रा घटेको छ । दरबाङमा ४.६० मिलिमिटर, बेनीमा ५ मिलिमिटर, कुहुँमा ३.४० मिलिमिटर, तातोपानीमा ४ मिलिमिटर र बेगमा ०.४० मिलिमिटर वर्षा भएको छ ।
पछिल्लो तीन घण्टामा वर्षाको तीव्रता घटे पनि २४ घण्टामा परेको भारी वर्षाका कारण जमिन पानीले भिजेर कमजोर बनेको छ । ग्रामीण सडक निर्माणका क्रममा खनिएका भिरालो जमिन र कमजोर पहाडमा थोरै वर्षा हुँदा पनि पहिरो खस्ने जोखिम रहेको छ ।
मौसम पूर्वानुमानअनुसार सेप्टेम्बर २३ देखि २७ सम्म पाँच दिनको अवधिमा म्याग्दीमा कुल २६० मिलिमिटरसम्म वर्षा हुने प्रक्षेपण गरिएको छ । उक्त अवधिमा दरबाङ क्षेत्रमा मात्रै २४ घण्टामा १४४.८० मिलिमिटर वर्षा भइसकेको छ । आगामी दिनमा थप वर्षा हुन सक्ने भएकाले जोखिम कायमै रहेको छ । शनिबार दिउँसो र राति गण्डकीसहित पश्चिम नेपालका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।
वर्षाको मात्रा उच्च पुगेका दरबाङ, कुहुँ र बेनी बजारलगायतका क्षेत्रका बासिन्दालाई सम्भावित बाढी र पहिरोबाट जोगिन सतर्कता अपनाउन र जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्