म्याग्दीको रघुगङ्गामा करदाता सेवा सञ्चालन
ठाकुरप्रसाद आचार्य
बेनी,साउन २८ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा करदाता सेवा सुरु गरिएको छ । गाउँपालिकाबाट सेवा सुरु भएपछि दुर्गम भेगका स्थानीयहरु लाभान्वित भएका छन् । पान दर्ता प्रमाणपत्र लिन एकदिन भरी समय खर्चिएर बागलुङ जानुपर्ने बाध्यता हटेसँगै सेवाग्राहीहरु खुसी भएका छन् ।
गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी,अन्तरिक राजश्व कार्यालय बागलुका प्रमुख कर अधिकृत कपिल सिलवाल र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले संयुक्त रुपमा वडा नम्बर ३ मा रहेको अनु अश्विनी कृषि तथा पशुपंक्षी फर्मका सञ्चालक भदेवी तिलिजालाई बुधबार व्यवसायिक स्थायी लेखा नम्बर (पान) दर्ता प्रमाणपत्र प्रदान गरेर सेवाको सुभारम्भ गर्नुभएको थियो ।
गाउँपालिकाबाट नै पान दर्ता प्रमाणपत्र लिएपछि उहाँले खुसी हुँदै भन्नुभयो,‘‘आफ्नै पालिकाबाट सेवा पाएपछि बागलुङ जाँदा–आउँदा लाग्ने समय र यातायात खर्च बचत भएको छ । यहीबाट सेवा पाएपछि स्थानीय तहको बल्ल अनूभूति भएको छ ।’’ करदाता सेवा सुरु भएसँगै गाउँपालिकाबाट व्यक्तिगत,संस्थागत र व्यवसायिक प्यान नम्बर दर्ता लगायतका करदाता सेवा लिनका लागि आन्तरिक राजश्व कार्यालय बागलुङ जानुपर्ने बाध्यता हटेकोमा स्थानीयहरु खुसी भएका छन् ।
गाउँपालिकाबाट करदाता सेवा सुरु भएपछि बागलुङ जान आउन लाग्ने समय र खर्चको बचत हुने स्थानीयवासी माधवबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘ गाउँपालिबाट सेवा सुरु भएसँगै स्थायी लेखा नम्बर पान लिन बागलुङ जानुपर्ने बाध्यता हटेकोमा मलाई खुसी लागेको छ । मैले पनि आज यहीबाट पान नम्बर लिएँ । बागलुङ जान आउन लाग्ने समय र खर्च बचत भएको छ । गाउँपालिकाले सेवा स्ुरु गरेकोमा धन्यबाद दिन्छु ।’’
गाउँपालिकाबाट स्थायी लेखा नम्बर जारी,व्यवसायलाई आयकरमा दर्ता, स्थायी लेखा नम्बर दर्तासँग सम्बन्धित संशोधन र दर्ता खारेजी भएका व्यावसायिक स्थायी लेखा नम्बरलाई व्यक्तिगत स्थायी लेखा नम्बरमा रुपान्तरण गर्ने लगायतका कामहरु हुने आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत सिलवालले जानकारी दिनुभयो ।
यसअघि यी सेवा लिनका लागि सेवाग्राहीहरु आन्तरिक राजस्व कार्यालय बागलुङ जाने गरेका थिए । पालिकाबाट नै सेवा प्रवाह भएपछि करदाता सम्बन्धी सेवाका लागि बागलुङ जान, आउन लाग्ने समय र खर्चको बचत भई सर्वसाधारणलाई सहज हुने पालिका अध्यक्ष भण्डारीले बताउनुभयो । पालिकाबासीहरुलाई करदाता सेवा प्रदान गर्नका लागि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरी सेवा प्रवाह थालिएको उहाँको भनाई छ ।
नेपाल भरीका जुनसुकै नागरिक भएपनि पालिकाबाट व्यक्तिगत पान लिन सकिने र गाउँपालिका भित्र मात्र व्यवसाय गरेकाहरुले व्यवसायिक पान लिन सकिने उहाँको भनाई थियो । अहिले धेरै सेवाहरु अनलाइनबाट नै लिने सकिने भएकाले आन्तरिक राजश्व कार्यालय बागलुङ गइरहनुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘‘संघीय सरकारले गत कात्तिक १७ गते स्थानीय तहबाट नै करदाता सेवा प्रवाह गर्ने निर्णयलाई कार्यान्वयन गर्न कार्यालयको कार्यक्षेत्र रहेका बागलुङ,पर्वत,म्याग्दी र मुस्ताङका स्थानीयहरु गरेर अहिले सम्म ६ वटा पालिकामा सेवा विस्तार गरिसकेका छौं । आगामी दिनमा बाँकी पालिकाबाट पनि सेवा सुरु गर्ने योजना बनाएका छौं ।’’
गाउँपालिकामा सुरु भएको करदाता सेवालाई प्रभावकारी बनाउने,पालिकाभित्र रहेका व्यवसायिक फर्महरुलाई करको दायरामा ल्याउने र सर्वसाधारणहरुलाई कर शिक्षा सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । बेनी नगरपालिकामा यसअघि नै करदाता सेवा सुरु गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्