धाइरिङ गौशालामा सामुहिक गाई पूजा (फोटोफिचर)


ठाकुरप्रसाद आचार्य
म्याग्दी,कात्तिक १७ गते ।

नेपालीहरूको महान् चाड तिहारको चौथो दिन शनिबार यहाँको गण्डकी गोपाल गौशालामा समुहिक रुपमा गाई पूर्जा गरिएको छ । बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ स्थित गण्डकी गोपाल गौशालामा गाउँभरीका सर्वसाधारणहरु भेला भएर सामुहिक रुपमा गाई पूजा गरेका हुन । गौशालामा एकसय २० भन्दा बढी स्थानीय जातका गाईहरु छन् ।
सल्यान,मिलनचोक,बास्कोट,गुन्टेगेत,घायेखेत र धारापानीका स्थानीयहरु गौशालामा भेला भएर सामुहिक रुपमा गाईको पूजा गरेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार गाई पूजा गर्न बागलुङ बजार देखि पनि सर्वसाधरणहरु सवारीसाधन रिजर्भ गरेर गौशालामा आए थिए ।

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल,बागलुङ पञ्चकोट धाम व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ आचार्य र पार्वती आचार्य लगायतको नेतृत्वमा गाईलाई आवश्यक पर्ने सामग्री सहित पूजाका लागि आउनुभएको थियो ।


गाईको पूजाको महत्वका वारेमा प्रचारप्रसार र धार्मिक भावना जगृत गराउन विगत पाँचवर्ष देखि सामुहिक रुपमा पूजा गरिँदै आएको गण्डकी गोपाल गौशाला व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका पालिका अध्यक्ष आचार्यले बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘‘हामीले धाइरिङ गाउँभरीका स्थानीयहरु भेला भएर सामुहिक रुपमा गाईको पूजा गर्न सुरु गरेपछि छिमेकी जिल्लाहरुबाट पनि गाई पूजा गर्न आउनुभएको छ । गाई पूजाका लागि आएका भक्तजनहरुले गौशालालाई सहयोग गर्नुभएको छ । गाईको महत्व बढ्दै जानथालेपछि गौशालालाई सहयोग गर्ने महानुभावहरुको संख्यामा पनि वृद्धि हुनथालेको छ ।’’


गाई पूजा गर्न आएका भक्तजनहरु कारण दिनभर गौशालामा भिडभाड देखिएको थियो । भजनकृतन सहित आएका सर्वसाधरणहरुले गाईको पूजा,फूलको माला लगाई गाईलाई खानेकुरा खुबाएका थिए ।


गण्डकी गोपाल गौशालमा आएर आफूले पहिलोपटक गाई पूजा गरेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘गाई तिहारका दिन सामुहिक रुपमा गाई पूजा गर्न पाएकोमा मनमा शान्ति मिलेको छ ।गौशालालाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न आवश्यक छ ।’’ गाई पूजा गर्न बागलुङदेखि १५ जनाको समुह गौशालालाई आवश्यक पर्ने सामान सहित आएको उहाँले बताउनुभयो ।


गण्डकी गोपाल गौशालालाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना अनुसार भौतिक पूर्वाधार निर्माण थालिएको छ । गौशाला बेनीदेखि एकघण्टा सवारीसाधनको यात्रा पछि पुग्न सकिन्छ । गौशाला क्षेत्रबाट पर्वतका साथै म्याग्दी र बागलुङका रमणीय स्थलहरुको अवलोकन समेत गर्न सकिन्छ ।


गाउँपालिका र संघीय सरकारको लागत साझेदारीमा गत वर्ष एक करोड २५ लाख ८५ हजार दुई सय ३२ रुपियाँ बजेटमा धर्मशाला, हवनकुण्ड, कुटी, ध्यान कुटीलगायतका संरचनाहरु निर्माण भएका छन् ।


गौशालालाई पालिकाको मुख्य तिर्थस्थल बनाउने योजना अनुसार करिब १२ करोड रुपियाँ लागत अनुमान गरिएको डिपिआर बनाएर संघ र पालिकाको ५०\५० प्रतिशत खर्च गर्ने गरी भौतिक पूर्वाधार निर्माण थालिएको पालिका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।


गौशाला, वराह शिवालय र प्रशिद्ध धार्मिक स्थल भुमेथानलाई धार्मिक सर्किटका रुपमा जोड्ने योजना अनुसार यहाँ पूर्वाधार निर्माण थालिएको छ । २०७१ सालमा पञ्चकोटको परिकल्पना गर्दा ८ वटा गाईबाट सुरु भएकोमा अहिले एकसय २० भन्दा बढी गाई पुगेका छन् ।


गाईको संरक्षण गर्ने र गाईको महत्व बुझाउन गौशाला स्थापना गरिएको पालिका अध्यक्ष आचार्यले बताउनुभयो । गण्डकी गोपाल गौशाला प्रसिद्ध कालञ्जर क्षेत्रमा रहेको हुनाले यो क्षेत्रलाई धार्मिक तीर्थस्थलको रुपमा विकास गर्ने योजना रहेको उहाँको भनाई छ ।