व्यावसायिक किवी खेती गर्दै टिकोटका किसान

विकल्प न्यूज\बेनी
साउन १७ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानका किसानहरु मकै र कोदो बाली लगाउन छाडेर नगदे बालीका रुपमा रहेको किवी खेती गर्न थालेका छन् । पछिल्ला पाँचवर्ष यता गाउँमा किवी खेतीको राम्रो विस्तार भएको छ ।
खाद्यन्न बालीबाट भन्दा किवी खेतीबाट राम्रो आम्दानी हुने देखेपछि यहाँका किसानहरुले गाउँमा किवी खेती विस्तार गर्न थालेका हुन । किवी खेतीको विस्तारका लागि गाउँपालिकाले फलफूल क्षेत्र विस्तार कार्यक्रम संचालन गरेपछि यहाँका किसानहरु व्यावसायिक किवी खेती तर्फ थप आकर्षित भएका छन् ।


पहिला दुईचार जना किसानले मात्र किवी खेती गरेकोमा अहिले १८ जनाले व्यावसायिक रुपमा किवी खेती सुरु गरेको वडा सदस्य समेत रहनुभएका कृषक बुद्धीवीर पुनले बताउनुभयो । किवी खेती विस्तारका लागि किसानहरुले गाउँमा समुह गठन गरेका छन् ।

हरिमुल कृषि तथा पशुपंक्षी कृषक समुहमा आवद्ध भएर किसानहरु सामुहिक रुपमा किवी खेतीको विस्तारमा लागेको वडासदस्य पुनले बताउनुभयो । मकै र कोदो खेती भन्दा किवी खेतीबाट राम्रो आम्दानी हुने भएकाले हिस्तानमा पछिल्ला केही वर्ष यता किवी खेतीको विस्तार हुँदै जान थालेको उहाँको भनाई छ । अहिले गाउँका सवैजसो घरहरुमा किवी लगाउन थालेका छन् उहाँले भन्नुभयो, ‘‘अबको तीन चार वर्ष भित्रमा किवी बिक्री गरेर गाउँमा लाखौं रकम भित्रिने अनुमान छ ।’’

वडा सदस्य पुनले पनि पाँच रोपनी क्षेत्रफलमा किवी खेती गर्नुभएको छ । मैले दुई वर्ष पहिला देखि व्यावसायिक रुपमा किवी खेती गर्न थालेको छु उहाँले भन्नुभयो, ‘‘यसपाली देखि किवीको बोटले राम्रो फल दिन थालेको छ । गाउँपालिकाबाट अनुदानमा किवीका लागि आवश्यक पर्ने थाक्रा,तालिम र कृषि औजार प्राप्त गरेपछि किसानलाई सहयोग पुगको छ ।’’

किवीको बोटलाई आवश्यक पर्ने सिंचाई र मल दिनसकेमा बोट लगाएको दुई देखि तीन वर्ष भित्रमा फल दिनथाल्ने उहाँको भनाई छ । तीन वर्ष पहिला लगाएको किवीको बोटले यसपाली फल दिन थालेको पुनले बताउनुभयो ।
पुनको किवी बगैंचामा यसपाली लटरम्म किवी फलेको छ । बोटमा फलेका किवी फल देखाउँदै पुनले भन्नुभयो, ‘‘सामाजिक कामका साथै विहान बेलुका किवी खेतीमा परिश्रम गर्दछु । यसपाली अलि अलि फलेको छ । अर्को साल देखि किवीको बोटले राम्रो फल दिने आशा छ ।’’

संघीय सरकारबाट आर्थिक वर्ष २०८०\८१ मा फलफूल क्षेत्र विस्तार कार्यक्रम मार्फत प्राप्त भएको १९ लाख ९५ हजार रुपियाँ बाट किसानलाई किवीको विरुवा, फलामे थाक्रा,भ¥याङ,निलो थुतो,सिंचाईका लागि पाइप लगायत किवी खेतीका लागि आवश्यक पर्ने अन्य औजारहरु वितरण गरिएको गाउँपालिकाको कृषि शाखा प्रमुख कृति आचार्यले बताउनुभयो ।

सुन्तला खेती नहुने चिसो हावापानी भएको हिस्तान किवी खेतीका लागि उपयुक्त भएकाले गाउँपालिकाले किवी खेती विस्तारलाई प्राथमिकतामा राखेर कार्यक्रम तथा योजना संचालन गरेको उहाँको भनाई थियो ।