अन्नपूर्ण आधारशिविरमा मौरिस हर्जोगको शालिक

विकल्प न्यूज/बेनी
जेठ २७ गते ।

अन्नपूर्ण प्रथम हिमालको आधारशिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको शालिक राखिएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुगेको अवसरमा प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राखिएको हो ।

सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो । अन्नपूर्ण हिमाल आरोहण गर्ने पदमार्ग र आधारशिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्दछ ।

नारच्याङका स्थानीयवासीहरुले चन्दा सहयोग जुटाएर हर्जोगको शालिक बनाएका हुन । तामा र पित्तलबाट निर्मित ४० केजी तौल रहेको शालिक बनाउन ३ लाख २५ हजार रुपियाँ खर्च भएको छ । काठमाण्डौं देखि आधारशिविर सम्मको ढुवानी र शालिक राख्न निर्माण गरिने संरचना लगायतको खर्च हिसाब गर्दा करिब ६ लाख रुपियाँ खर्च भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले बताउनुभयो ।

ADV

अन्नपूर्ण दिवसका अवसरमा सोमबार पोखरामा आयोजना गरिएको कार्यक्रममा नेपाल सरकारका पराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले शालिकको अनावरण गर्नुभएको थियो ।

उक्त शालिक अन्नपूर्ण हिमालको फेदीमा रहेको पञ्चकुण्ड ताल देखि माथि चारहजार एकसय ९० मिटरको उचाईमा रहेको आधारशिविरमा राखिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

फ्रान्सका हर्जोगले ७४ वर्षअघि अन्नपूर्ण हिमालको आरोहण गरेर कीर्तिमानसँगै नेपालको पर्वतारोहण क्षेत्रलाई विश्व माझ चिनाउनुभएका कारणले उहाँको शालिक निर्माण गरेर अधारशिविरमा राखिएको मौरिस हर्जोग पदमार्ग अभियान्ता तथा नारच्याङका पर्यटन व्यवसायी गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अन्नपूर्ण प्रथमको सफल आरोहण भएको क्षेत्र नै उत्तरी आधारशिविर हो । मौरिस हर्जोगले यही आधारशिविरबाट अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो । मौरिस हर्जोगको सम्मान गर्न र विश्वभर सकरात्मक सन्देश प्रवाह गर्न हामीले आधारशिविरमा शालिक राखेका हौं ।’’
आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ ।
हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै अन्नपूर्ण गाउँपालिकाले मौरिस हर्जोग पदमार्ग निर्माण गरेको छ ।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमश्रृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।
समुद्री सतह देखि ४ हजार ५० मिटर उचाईमा सुन्दर पञ्चकुण्ड ताल रहेको छ । यो हिमताल पर्यटकीय गन्तब्यका रुपमा विकास हुनथालेको छ । ताल अन्नपूर्ण र निलगिरि हिमालको काखमा पर्दछ ।

वरीपरी सुन्दर हिमश्रृङ्खलाको दृश्य र तालले यहाँ पुग्ने पर्यटकलाई आनन्द महशुस गराउँछ । मौरिस हर्जोग पदमार्गको नारच्याङ स्थित हुमखोलाबाट करिब ७ घण्टाको पैदलयात्रापछि तालमा पुग्न सकिन्छ । पाँचवटा साना साना तालहरु मिलेर बनेकाले यो ताललाई स्थानीयहरुले पञ्चकुण्ड ताल भनेर नामाकरण गरेका छन् । यो तालको पर्यटकीय तथा धार्मिक महत्व छ ।
नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटरमा पदमार्ग तयार भएको छ । दुई दिनको पैदल यात्रामा पुगिने अन्नपूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्यका रुपमा विकास हुनथालेको छ ।