गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा म्याग्दीलाई सफलता

विकल्प न्यूज/बेनी
फागुन १३ गते ।

गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा म्याग्दीले पहिलोपटक सफलता हासिल गरेको छ । शनिबार नवलपुरमा सम्पन्न गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा म्याग्दीले तृतीय स्थान हासिल ग¥यो । उक्त प्रतियोगितामा म्याग्दीले ९ स्वर्ण, ११ रजत र १० कास्य पदक जित्न सफल भयो ।

खेलकुदको इतिहासमा म्याग्दीले प्राप्त गरेको यो पहिलो सफता भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले दावी गर्नुभयो । आइतबार जिल्ला खेलकुद विकास समितिले पदक विजेता खेलाडीहरुको सम्मानका लागि आयोजित कार्यक्रममा अध्यक्ष केसीले अहिलेको सफलताले आगमी दिनमा खेलकुद क्षेत्रलाई अझै माथि उकास्न हौसला प्रदान गरेको बताउनुभयो ।
‘‘जिल्ला खेलकुद विकास समितिको सम्पूर्ण टिमको क्रियाशिलता र खेलाडीहरुको लगनशिलताका कारण अहिलेको सफलता प्राप्त भएको हो । आगमी दिनमा प्रदेश स्तरमा पहिलो हुने गरी तयारी थाल्छौं ’’ अध्यक्ष केसीले भन्नुभयो ।
प्रतियोगितामा एथलेटिक्समा ३ स्वर्ण, उसुमा ३, तेक्वाण्डो २, कबड्डी छात्रामा १ स्वर्ण जित्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीले जानकारी दिनुभयो ।

म्याग्दीबाट स्वर्णपदक बिजेता सबै र भलिबल तर्फ छात्रामा उपविजेता भएपनि उदयमान खेलाडीको रुपमा कमला पाइजा र रिकजना माझी राष्ट्रियस्तरको खेलका लागि छनौट भएका जिल्ला खेलकदु विकास समितिका प्रशिक्षक तथा म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

त्यस्तै कबड्डी छात्रातर्फ ३ र छात्रतर्फ २ गरि ५ जना खेलाडीहरु राष्ट्रिय स्तरको राष्ट्रपति कपमा छनौट हुन सफल भएका जिल्ला कबड्डी संघका अध्यक्ष तथा प्रशिक्षक राजकुमार परियारले जानकारी दिनुभयो ।

त्यस्तै तेक्वान्डोतर्फ २, एथेलेटिक्सतर्फ ३ र उशुतर्फ ३ जना खेलाडी छनौट भएका छन । पदक विजेता खेलाडीहरुलाई बेनी नगरका प्रमुख सुरत केसी,उपप्रमुख ज्योती लामिछाने र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसी लगायतले सम्मान गर्नुभएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले सिमित स्रोतसाधानका बाबजुद् पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई स्थानीय तहले प्रोत्साहन गर्ने बताउनुभयो ।

प्रतियोगितामा प्रदेशका ११ जिल्लाबाट जिल्ला स्तरीय रनिङ शिल्डबाट विजेता खेलाडी तथा टिमको सहभागि रहेको थियो । म्याग्दीबाट भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु एथ्लेटिक्स अन्तर्गतका हाइजम्प, लङजम्प, सटपुट, त्रिपल जम्प, ज्यावलिङ थ्रो, दौड, रिले दौड लगायतका विभिन्न विधामा गरी एकसय ८ जना खेलाडीहरु सहभागी भएका थिए ।


सम्मान कार्यक्रममा बेनी नगरका प्रवक्ता रमेशकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन खेलकुद विकास समितिका सदस्य कुमार किसानले गर्नुभएको थियो ।