ताजा समाचार:
Search

दरबाङ–धारापानी सडक स्तरोन्नति योजना सम्पन्न

ठाकुरप्रसाद आचार्य
माघ २६ गते ।

म्याग्दीको परिश्चम दरवाङ देखि धारापानी सम्मको सडक स्तरोन्नति योजना सम्पन्न भएको छ । मालिका गाउँपालिका केन्द्र देखि धवलागिरी गाउँपालिकाको केन्द्र मु्नालाई जोड्ने सडक अन्तर्गत करिब ७ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । सडक स्तरोन्नति भएसँगै धवलागिरी गाउँपालिकावासीहरुले साघुरो,उकालो र जोखिमयुक्त सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।

बेनी –दरबाङ–धारापानी–मुना लुलाङ गुर्जा ढोरपाटन सडक योजना अन्तर्गत दरबाङ – धारापानी खण्डको सडक स्तरोन्नतिका लागि चारवर्ष अघि ठेक्का मार्फत योजना कार्यान्वयन थालिएको थियो । दुईवर्ष भित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि कोरोनाका कारण काम प्रभावित भएपछि दुईवर्ष ठेक्काको अवधि थपिएको थियो । थपिएको ठेक्का अवधिभित्र निर्माण व्यावसायीले योजना सम्पन्न गरेका छन् ।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको योजना कार्यान्वयन गर्न पूर्वाधार विकास कार्यालय म्याग्दीले १४ करोड ३८ लाख ६७ हजार एकसय ७६ रुपियाँमा धुलिखेल ब्राइट कुँबर जेभीसँग सडक स्तरोन्नति गर्न २०७६ चैत ४ गते वहुवर्षीय ठेक्का सम्झौता गरेको थियो ।

ADV

योजना अन्तर्गत साघुरो सडकलाई फराकिलो,साघुरा घुम्तीलाई चौढा,बादिकाको भीर काटेर सडक फराकिलो पारी तीनसय मिटर ढलान,नाली निर्माण,ग्यावियन झाली लगाउने,कल्भर्ट निर्माण,कजवे निर्माण,टेवा पर्खाल गरी ७ मिटर चौढाईमा सडक ग्राभेल गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर अर्जुन शर्माले जानकारी दिनुभयो ।  बादिकाको भीरमा आप्ठ्यारो जोखिमयुक्त सडकलाई फराकिलो बनाउन र ग्रेड मिलाउन भीर काटेर नयाँ ट्रयाक खोलिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बादिकाको अप्ठ्यारो भीरको करिब तिनसय मिटर सडक ढलान गरी सहज बनाइएको छ ।
कोरोनाका कारण समयमा काम सम्पन्न नगरेपनि पुन थपिएको म्याद भित्र सडक स्तरोन्नतिका काम सम्पन्न गरेको निर्माण व्यवसायीका प्रतिनिधि प्रधुम्न कुँबरले बताउनुभयो ।
यसैगरी धारापानी देखि सिवाङ सम्म सडक स्तरोन्नतिका लागि २५ करोड लागत अनुमान गरी योजना कार्यान्वनयका लागि बहुवर्षीय ठेक्का आह्वान गरिएको कार्यालयले जनाएको छ ।

योजना अन्तर्गत धवलागिरी गाउँपालिकाको केन्द्र मुना हुँदै जाने दरबाङ–मुना–ढोरपाटन सडकको धारापानी देखि ७ किलोमिटर अगाडी सिवाङ सम्म सडक फराकिलो,नाली निर्माण,ग्राभेल र ढलान गरी सडक स्तरोन्नति गर्न आगमी चैत महिनासम्म ठेक्का लगाई योजना कार्यान्वयन थालिने पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो ।

सडक योजनाको शनिबार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । साभार गोरखापत्र अनलाइन