Search

प्रथम म्याग्दी भलिबल कपको उपाधि प्रकाश र शिख माविले जित्यो

विकल्प न्यूज/बेनी
माघ १३ गते ।


म्याग्दीको बेनीको खुल्ला मञ्चमा भएको प्रथम भलिबल कप २०८० को उपाधि प्रकाश मावि, शिख मावि र डनिङ स्कुलले हात पारेका छन् । शनिबार भएको फाईनल खेलमा छात्र तर्फको खेलमा बेनी नगरपालिका, ७ बेनी स्थित प्रकाश माविले मालिका गाउँपालिका, ७ स्थित किसानी मावि विमलाई २८–२६, २५–२१, २५–२१ र २५–१८ को सेटमा पराजित गरी छात्र तर्फ प्रथम भयो । यसैगरी

शनिवार नै सम्पन्न छात्रा तर्फको फाईनल खेलमा सदरमुकाम बेनीको प्रकाश माविलाई पराजित गरी अन्नपूर्ण गापा, ५ स्थित शिख मावि विजेता बन्यो । प्रतियोगितामा प्रथम हुने विद्यालयले ५० हजार,कप प्रमाणप्रत्र र द्धितीय हुनेले २५ हजार ट्रफी र प्रमाण प्रत्र प्राप्त गरे ।

यसैगरी शिक्षक÷शिक्षिकाहरु विचको भलिवल प्रतियोगितामा पनि शिक्षक तर्फ मंगला गापा, २ बाबियाचौर स्थित डनिङ आवासीय माविले नगद २० हजारसहित ट्रफी प्राप्त गरेर पहिलो बनेको छ । शिक्षक तर्फ बेनी नपा,९ तोरिपानी स्थित गलेश्वर मावि दोस्रो बन्दै नगद १० हजार प्राप्त गरेको छ ।

त्यस्तै शिक्षिका तर्फ बेनी नपा, ७ बेनी स्थित माउण्ट एभरेष्ट आवसीय माविलाई पराजित गर्दै अन्नपूर्ण गापा, ५ शिख स्थित शिख माविका शिक्षिकाहरुले नगद २० हजार सहित उपाधि हात पारेका छन् । दोस्रो बनेका माउण्ट एभरेष्ट आवसीय माविका शिक्षिकाहरुले नगद १० हजारसहित ट्रफि पाएका छन ।

त्यस्तै जिल्ला भलिबल संघ र जिल्ला प्रहरी कार्यालय म्याग्दी बिच भएको मैत्रिपुर्ण खेलमा सोजो सेटमा संघलाई पराजित गर्दै जिल्ला प्रहरीका खेलाडीले नगद १० हजार रुपैयाँ हात पारे ।  प्रतियोगितामा छात्र तर्फ १५ टिम, छात्रा तर्फ १२ टिम सहभागी भएको जिल्ला भलिवल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । त्यस्तै शिक्षकहरुको २० टिम र शिक्षिकाहरुको १० टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा विजय खेलाडीलाई पुरस्कार वितरण गर्दै गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले खेलकुदको विकासका सबै एकजुट हुनुपर्ने बताउनुभयो । त्यस्तै विमला गौचनले पछिल्लो समयमा खेलकुद क्षेत्रमा महिला खेलाडीको सहभागी कम हुदै गएको भन्दै महिला खेलाडी उत्पादनमा पनि ध्यानदिनुपर्ने बताउनुभयो । प्रतियोगिताको मुख्य प्रयोजक गौमति क्षेत्री विकास कोष रहेको थियो । कोषले प्रतियोगिता संचालनका लागि वार्षिक रुपमा दुईलाख रुपियाँ सहयोग प्रदान गर्ने संघ र कोषका बीच समझदारी भएको छ ।